तीन दर्जन बढी सवारी नियन्त्रणमा



नेपाल समाचारपत्र, गुल्मी

तम्घास बजार क्षेत्रमा आइतबार निषेधाज्ञा उल्लंघन गरी सवारीसाधन चलाउने तीन दर्जनभन्दा बढीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले त्यसको सतर्कतास्वरूप जारी गरिएको निषेधाज्ञाको पहिलो दिनमा ३५ वटा मोटरसाइकल र ४ वटा जिपलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारीसाधानलाई चिदिचौरमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताउनुभयो । निषेधाज्ञा उल्लंघन गरी सवारीसाधन चलाएकाले आवश्यक प्रक्रिया पुराएर छोडिने उहाँको भनाइ छ ।गुल्मीमा शनिबार रातिदेखि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति डीसीसीएमसी गुल्मीले वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्य वस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा पुनर्निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने व्यवस्था गरिएको छ ।

निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरूपमा रोक लगाइएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक नागरिकहरु घरबाहिर ननिस्कन डीसीसीएमसीले आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्