चार पालिकामा निषेधाज्ञा, व्यवसायीमा बढ्यो चिन्ता



हेटौंडा, नेस ।

कोरोना संक्रमितको संख्या उच्चरुपमा बढेपछि मकवानपुरका ४ पालिकामा निषेधाज्ञा जारी गरिएको छ ।प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यबस्थापन केन्द्रको बैठकले आइतबार मध्यरातदेखि बैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहनगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिका गरी ४ पालिकामा निषेधाज्ञा जारी गरिएको छ ।यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड संक्रमण रोकथाम, नियन्त्रण तथा व्यबस्थापन बैठकले शनिबारबाट लागु हुने गरी हेटौंडा उपमहानगर क्षेत्रमा होटलदेखि चिया पसलसम्म र हेटौंडा–१० को बसपार्कका सबै व्यबसाय बन्द गर्ने निर्णय गरेको थियो । बैठकले उपमहानगर क्षेत्रका होटल, लज, रेष्टुराँ, मिठाइ पसल तथा चिया पसल बन्द गर्ने निर्णय गरेको थियो ।

यी पालिकामा निषेधाज्ञा जारी भएपछि व्यबसायीले चिन्ता व्यक्त गरेका छन् । २०७६ चैत पहिलो साताबाट सुरु बन्दाबन्दीले अधिकांश व्यबसायी थला परका थिए । चैत पहिलो साताबाट सुरु भएको बन्दाबन्दी लम्बिँदै साउनसम्म पुग्यो ।पुनः कोभिड संक्रमण तीव्ररुपमा बढिरहेको बेला यो कहिलेसम्म जान्छ भन्न सकिने अबस्था छैन । ‘बल्लतल्ल लकडाउनबाट थलिएको व्यबसाय माथि उठ्न खोजेको थियो । फेरि बन्द हुने भयो,’ कपडा तथा सिलाई व्यबसायी संघ मकवानपुर अध्यक्ष मेनका श्रेष्ठले भन्नुुभयो ।श्रेष्ठले भन्नुभयो–लकडाउनले अस्तव्यस्त बनाएको थियो । लामो समयपछि बल्ल साधारण स्थितिमा फर्कनसक्ने भएका थियौं । फेरि कोरोना रोकथामका लागि निषेधाज्ञा भयो । घरभाडा कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

जिल्लामा संक्रमण बढेसँगै मकवानपुरमा व्यबसायीलाई बारअनुसार व्यबसाय सञ्चालन गर्न प्रशासनले भनेको थियो । हेटौंडा बजार क्षेत्रमा भिड हुन नदिन प्रशासनको गरेको निर्णयले काम गरे पनि व्यबसायी भने मारमा परे ।
श्रेष्ठ भन्नुहुन्छ–कोरोना रोकथामका लागि भए पनि लकडाउन आवश्यक छ । तर, हामी व्यबसायीहरुलाई गाह्रो पार्छ । घरभाडा र बैंकको किस्ताले तनाव बनाउँछ । हेटौंडा–२, कान्तिराजपथमा रहेको सफल सुनचाँदी पसल सञ्चालक सफल दुतराजले पनि उस्तै पीडादायी कुरा सुनाउनुभयो । महिनाको ३० हजार घरभाडा तिर्नुपर्छ । पसल खुले पनि नखुले पनि भाडा त तिर्ने परिहाल्यो । यो समस्या हामीले मात्र होइन, सबैले भोग्नुपर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो ।हरेक व्यबसायीलाई घरभाडा र बैंकको किस्ताले पीडा थप्ने काम गर्ने गरेको अघिल्लो लकडाउनबाट प्रष्ट भइसकेको छ। जिल्लामा २०३३ सालदेखि ग्लास ब्यापार गर्दै अउनुभएका गोपाल श्रेष्ठ हालसम्मको व्याबसायिक जीवनमा यस्तो संकटको सामना गर्नु नपरेको सुनाउनुहुन्छ । श्रेष्ठ भन्नुहुन्छ–जसोतसो यो संकट पनि टर्छ, यही हो घरभाडा बुझाउन नसके पसल छाडेर जानुपर्छ ।

ब्यापार त आलोपालो बजार सञ्चालन गर्दा ठप्प जस्तै बनिसक्यो ।कोभिड यस्तो परिस्थितिमा राज्यले व्यबसायीलाई सम्बोधन गर्नुपर्ने बताउनुहुन्छ मोबाइल तथा इलेक्ट्रोनिक्स व्यबसायी एसिस रिजाल । ‘व्यबसाय त हाल जोरविजोर र आलोपालो बजार सञ्चालनले गर्दा चौपट भइसक्यो,’ रिजालले भन्नुभयो–ग्रामीण क्षेत्रबाट आउने ग्राहकलाई पनि धेरै समस्या छ ।मकवानपुर उद्योग वाणिज्य संघ व्यबसायीको गुनासो सम्बोधन गर्नसक्ने अबस्थामा नरहेको बताउँछ । ‘लकडाउन कति समय हुन्छ, थाहा छैन । घरभाडा र बैंकको ब्याज तिरिदिन संघले सक्दैन,’ उद्योग वाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण कटुवालले भन्नुभयो–व्यबसायीका लागि ठोस राहत दिने कोष सञ्चालनमा छैन ।
यसअघिको लकडाउनमा सरकारले बैंकको ब्याजमा २ प्रतिशत् ४ महिनाका लागि छुट दिए पनि त्यतिले पर्याप्त नभएको उहाँले बताउनुभयो ।

यसअघिको लकडाउनमा ७ सयदेखि ८ सय व्यबसायीले ब्याजमा २ प्रतिशत् छुट सुबिधा लिएको उहाँको भनाइ छ । राज्यले यस्तो संटकमा लकडाउन हुँदा सोही अवधिको करछुट, घरभाडा छुट, बैंकको ब्यामा छुट दिनुपर्ने उहाँले बताउनुभयो ।व्यबसायीलाई राज्यले सम्बोधन गर्छ भन्ने आशा गरेको उहाँले जनाउनुभयो । मकवानपुरमा २ हजार ९ सय ९२ व्यबसायी उद्योग वाणिज्य संघमा आवद्ध छन् । अन्य धेरै व्यबसायी संघमा आवद्ध छैनन् । सबै व्यबसायीलाई टिकाउन राज्यले विशेष सम्बोधन गर्नु आवश्यक भएको अध्यक्ष कटुवाल बताउनुहुन्छ । उहाँले लकडाउनको समयमा सकेको घरभाडा छुट दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्