लकडाउनपछि गाउँ फर्किएर बंगुरपालन सुरु



प्रताप बानियाँ,म्याग्दी ।

विदेश जाने सपना बोकेर काठमाडौं गएका यहाँका एक युवा विश्वभर फैलिएको कोरोना भाइरससँगै नेपालमा लकडाउन भएपछि फर्किएर बंगुरपालन व्यवसाय सुरु गरेका छन् ।

स्वदेशमा केही पनि काम पाइएन भनेर विदेशको यात्रा तय गरी राजधानी पुगेको अवस्थामा गतवर्ष लकडाउनले गाउँ फर्किएर बंगुर पालेका हुन् ।म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जाका बबिन किसानले गाउँमै व्यावसायिक रुपमा बंगुरपालन थाल्नुभएको छ ।बबिन कृषि तथा पशुपन्छी फर्म दर्ता गरी सुरु गरेको फर्ममा अहिले माउ तथा साना गरी कुल १५ वटा बंगुर रहेको उहाँले जानकारी दिनुभयो । गएको वर्ष असोज महिनाबाट दुई लाख रुपैयाँ लगानी गरी सुरुमा ५ वटा बंगुरबाट व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो ।

कक्षा १२ सम्म अध्ययन गर्नुभएका किसानले बंंगुरपालन व्यवसायलाई थप अगाडि बढाउन हालसम्म सात लाख रुपैयाँ लगानी गरिसक्नुभएको छ । उहाँले साउदी अरब, दुबई, मलेसिया र कतार जानका लागि मेडिकल गरेर पास भई तयारी अवस्थामा रहेपनि भिसा नलागेको बताउनुभयो ।तैपनि विदेशी भूमिमा गइन्छ कि भन्ने सोचले काठमाडौं पुगेर दलाल र अफिसबाट प्रयास गर्दागर्दै पनि विदेशको यात्रा सम्भव नभएको उहाँको भनाइ छ । विदेश जाने मोहल तयारी गरिरहेको अवस्थामा विश्वभर फैलिएको कोरोनापछि लकडाउनले गर्दा आफू गाउँ फर्किएको उहाँले बताउनुभयो ।
विदेश जाने प्रयासमा दुईलाख रुपैयाँ ऋण लाग्यो तर सफल हुन नसकेको किसानले दु्ःखेसो पोख्नुभयो । विदेश जाने सपना साकार हुन सकेन उहाँ भन्नुहुन्छ, ‘विदेश भन्नु पनि त्यस्तै हो, गर्नसके आफ्नै देशमा रहेछ । विदेशमा गएर सातआठ घण्टा खट्नुभन्दा आफ्नै देशमा चारपाँच घण्टा खटे हुन्छ ।’

‘स्वदेशमा आफ्नो परिवारसँगै बसेर पेशा, व्यवसाय गर्नसके राम्रै कमाई हुन्छ । विदेशमा पनि मेहेनत गर्नुप-यो, त्यसै पैसा फैल्दैन । त्यसैले, विदेश गएर गर्ने मेहेनत आफ्नै गाउँ ठाउँमा गर्दा राम्रो हुन्छ’ उहाँले भन्नुभयो । उर्काको देशमा गएर गुलामी गर्नुभन्दा आफ्नै गाउँमा काम गरेमा राम्रै कमाई गर्न सकिने हुँदा पैसा कमाउनकै लागि विदेश जानुनपर्ने उहाँले बताउनुभयो ।उमेरले बल्ल २३ वर्षमा पाइला टेक्नुभएका युवा कृषक बबिन किसानको घरमा आमा, एक भाई र एक बहिनी सँगै हुनुहुन्छ । उहाँको बंगुरपालन व्यवसायमा घर परिवारबाट पनि राम्रो सहयोग मिलेको छ । बंगुरलाई उहाँले दैनिकजसो सिस्नो, पिँडालु, जाँड, आटो, कनिका, धानको ढुटो र खेर गएको खानालाई दानाको रुपमा खुवाउनुहुन्छ ।

सुरुमा बाख्रापालन गर्ने योजना बनाएर केही समय पालेको भए पनि उहाँले बाख्रा हुर्कन समय लाग्ने र धेरै घाँसपात खुवाउनुपर्ने झन्झटले बाख्रा बिक्री गरेर बंगुरपालनतर्फ लागेको बताउनुभयो । पछिल्लो समय बजारमा बंगुरको माग उच्च रहेकाले पनि आफू यस पेशाप्रति आकर्षित भएको युवा किसानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्