व्यक्तिगत खर्चमा १४ लाखको एम्बुलेन्स



हेटौंडा, (नेस)

हेटौंडा–५ का मनकारी वडाध्यक्ष राजेश बानियाँले व्यक्तिगत खर्चमा सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा–९ लाई एम्बुलेन्स सहयोग गर्नुभएको छ । सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका बानियाँले बुबा वीरेन्द्रबहादुर बानियाँ र हजुरबुबा चेतसिंह बानियाँको स्मृतिमा सहयोग गर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आयोजित कार्यक्रममा वडा अध्यक्ष बानियाँ र उनकी आमा नर्बदा बानियाँले वागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामा तथा सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा पशुपतिनगर अध्यक्ष राम विष्टलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको हो ।एम्बुलेन्स हस्तान्तरण गर्दै वडाध्यक्ष बानियाँले आफ्ना अभिभावकले सामाजिक क्षेत्रमा लाग्न दिएको प्रेरणाले यहाँसम्म आइपुगेको स्मरण गर्दै सहयोग गरिएको बताउनुभयो । प्रदेश प्रहरी प्रमुख डीआईजी लामाले एम्बुलेन्स प्राप्त गरे पनि सञ्चालन गर्न चुनौती रहेको बताउनुभयो । विगतमा केही सामुदायिक प्रहरी सेवाकेन्द्रले एम्बुलेन्स चलाउँदा विवाद र विभेदको कुरा आएकोले अबका दिनमा त्यस्तो हुन नदिन उहाँले आग्रह गर्नुभयो ।

प्रदेश प्रहरी प्रमुख लामाले सामाजिक सेवामा बानियाँ परिवारको सहयोग उल्लेख्य रहेको बताउँदै एम्बुलेन्स प्राकृतिक प्रकोप र दुर्घटनामा उद्धार तथा सामाजिक सेवामा प्रयोग हुने विश्वास व्यक्त गर्नुभयो ।सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा–९ अध्यक्ष विष्टले एम्बुलेन्स सञ्चालनको जिम्मा केन्द्रले लिने बताउनुभयो । एम्बुलेन्सलाई सामुदायिक सेवाकेन्द्र हेटांैडाको सञ्चालन नियमावलीअनुसार सञ्चालन गरिने अध्यक्ष विष्टको भनाइ छ । उहाँले मकवानपुर जिल्लाको सडक दुर्घटनामा पहिलो प्राथमिकता दिएर एम्बुलेन्स प्रयोग गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्