कोरोना महामारीमा गुर्जो



नेपालमा पाइने महत्वपूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ । साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लोसमय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महत्व रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन् ।

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । हालसम्म कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ । गुर्जोलाई संस्कृतमा गुडुची, मधुपर्णी, अमृता, वत्सादनी, तन्त्रिका, कुण्डलिनी आदि भनिन्छ । अमृततुल्य गुणकारी रसायन यसमा रहेको हुनाले यसको नाम अमृता पनि रहेको हो ।कोरोना सङ्क्रमण देखिनुभन्दा पहिले फाट्टफुट्टरुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेको छ । यसको प्रयोग बढ्न थालेपछि सिरहामा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एकपटक त कसैले सांँझ–बिहान दुईपटक खाने गरेका छन् । आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराइड भएका बिरामीलाई निकै फाइदा गर्छ ।

रोग–प्रतिरोधात्मक शक्ति बढाउने भएकाले धेरैले यसको सेवन गर्न थालेको बताइएको छ ।असन्तुलित खानपान, जीवनशैलीलगायतका कारण दिन–प्रतिदिन रोगीको संख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटुरोगी लगायतका लागि गुर्जो सञ्जीवनी बुटी मानिने गरिन्छ ।हाम्रो स्वस्थ जीवनको अनुपम पाठशाला त हाम्रै घर, आँगन, रनबन र भान्छाकोठा नै रहेछ । जब अभाव हुँदो रहेछ, बल्ल हामी खोज्न थाल्दा रहेछौँ । कोरोना महामारीमा हामीले गुर्जो खोज्दै गरेको घटनाक्रमले पनि यो आचरणलाई प्रस्ट पार्छ । पश्चिमा क्याप्सुलको खेती गरियो तर गुर्जोको खेती गरिएन । आज आफ्नै माटो सुहाउँदो पद्धतिको आवश्यकता बढेको छ ।
– शोभा रत्न, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्