नेतालाई कुर्सी जनतालाई कोरोना



विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहर नेपालमा पनि शुरू भइसकेको छ । नेपालमा औपचारिकरूपमै दैनिक ६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिन थालेको छ । जबकि, यो संख्या वास्तविकभन्दा कम्तीमा एक तिहाइ मात्र हो भन्ने विज्ञहरुको दाबी छ । अधिकांश संक्रमित लक्षण नदेखिएका कारण परीक्षणमै नआउने र लक्षण देखिएकाहरु पनि परीक्षणमा आउन आलटाल गर्ने प्रवृत्तिका कारण वास्तविक परिमाण निकै ठूलो हुन सक्ने देखिन्छ ।

सरकारले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि काठमाडौं उपत्यकासहित २२ जिल्लामा लकडाउन घोषणा गरिसकेको छ । कोरोना संक्रमितले अस्पतालका शय्या भरिएका छन् । अस्पताल नपाउँदा संक्रमितहरुले उपचार पाइरहेका छैनन् । आवश्यक स्वास्थ्य सामग्री र औषधिको व्यवस्थापन नहुँदा संक्रमितले केही दिनपछि उपचार नै नपाउने अवस्था सिर्जना हुँदै छ । करिब १२ महिना अघिबाट नेपालमा कोरोना संक्रमणको पहिलो लहर देखिएको थियो । सरकारले गतवर्ष चार महिना लकडाउनसमेत गरेको थियो । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गरिएको प्रयास सफल हुन सकेन । संक्रमको जोखिम भएकै बेला सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णय ग¥यो । सुनसानजस्तै बनेको राजनीतिक माहोल उक्त प्रकरणले रातारात तात्यो । सरकार पक्ष र विपक्षी दलहरुबीच सभा–सम्मेलन गर्ने होडबाजी चल्यो । कोरोनालाई चुनौती दिँदै काठमाडौंसहित देशभर हजारौं नागरिकलाई भेला पार्दै सभा–सम्मेलन गर्ने क्रम रोकिएन ।

पहिलो लहरमा कोरोना संक्रमितको संख्या कमी आएपछि स्वास्थ्य मापदण्ड पालना गर्न छोडियो । भीडभाड हुने क्रम दिन–प्रतिदिन बढ्दै गयो । यसबीच झण्डै तीन साताअघि भारतको कुम्भमेलाबाट फैलिएको कोरोना संक्रमणको महामारीले नेपालमा पनि प्रत्यक्ष असर गर्न पुग्यो । भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्दा पनि नेपालमा सरकारले पर्याप्तरूपमा पूर्वतयारी गर्न सकेन । सीमानाकालाई व्यवस्थित बनाउन नसक्दा नेपालले अपेक्षा गरेभन्दा भिन्न परिस्थितिको अहिले सामाना गरिरहेको छ । नागरिकहरु अहिले कोरोनाविरुद्धको लडाइँमा छन् । यता, राजनीतिक दलहरु भने गैरजिम्मेवार बन्दै सत्ताको जोड–घटाउमा लागेका छन् । सरकारले अस्पतालमा भर्ना गर्ने शय्या नभएको भन्दै विज्ञप्ति जारी गरेको अवस्थामा राजनीतिक दलहरुबीच हुनुपर्ने समन्वय पटक्कै देखिएको छैन ।

आफ्नो दलगत स्वार्थ पूरा गर्न करोडौं खर्च गरेर गाडीका गाडी नागरिक ओसार–पसार गर्ने राजनीतिक दलहरु अहिले किन जनताको सेवा गर्नका लागि खुट्टा कमाइरहेका छन् ? प्रदेश सरकार ढाल्ने र बनाउने खेल चलिरहेका बेला जनता कोरोनासँग कसरी बाँच्ने भन्ने चिन्तामा देखिन्छन् ।यतिखेर सर्वाधिक अकर्मण्य सरकार त सावित भएको छ नै, राजनीतिक दलहरु पनि गैरजिम्मेवार देखिएका छन् । सत्तारूढ दल नेकपा एमाले, प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीभित्रको किचलो झन लाजमर्दो छ । जनताको समस्या समाधान गर्न जुट्नुपर्ने बेला पार्टी फुटाउने र सरकार ढाल्ने खेल धमाधम चलिरहेको छ । राजनीतिमा दल मिल्नु र फुट्नु स्वाभाविकै हो । त्यसै गरी, सरकार ढाल्ने र बनाउने खेल पनि चलिरहेका हुन्छन् । तर, देशको विषम परिस्थितिमा पनि जनताको छटपटी र पीडालाई बेवास्ता गर्दै सत्ता स्वार्थमा रमाउनु लज्जास्पद विषय हो ।

प्रतिक्रिया दिनुहोस्