कोरोना कहर : त्यो १९, यो १९



कुमार श्रेष्ठ, बाँके

२०७७ साल वैशाख १९ गते । नेपालगन्जमा ठूलो ‘हलचल’ भयो । यो दिन नेपालगन्जमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भयो । नेपालगन्जको फूलबारी मस्जिदमा गरिएको पीसीआर जाँचमा नेपालगन्ज–५ का ६० वर्षीय मोहम्मद हुसैनलाई कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएको समाचार प्रवाह हुने बित्तिकै नेपालगन्जमा खैलाबैला मच्चियो । ५ नम्बरमा घर भए पनि ८ नम्बरको जोलहनपुरुवास्थित मस्जिदमा बसेर ट्युसन पढाउने हुसैनलाई त्राही–त्राहीका बीचमा खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा लगियो । हुसैनसँग मोबाइल थिएन । मोबाइलको व्यवस्था गरियो । रातभर लगाएर भिडियो कलमार्फत उनको सम्पर्कमा आएका व्यक्तिको लिस्ट निकालियो । उनको सम्पर्कमा १ सय १५ जना देखिए । ती १ सय १५ जनाको स्याम्पल जाँच गरियो । १५ जनामा कोरोना पुष्टि भयो ।

जोलाहनपुरुवालाई ‘सिल’ गरियो । नेपालगन्ज, नरैनापुर हुँदै बाँके जिल्ला नै कोरोनाको हटस्पट बन्यो । जेठ ३ गते नरैनापुरका २५ वर्षीय अनिस अन्सारीको कोरोनाबाट मृत्यु भयो । त्यसपछि बाँकेमा कोरोनाबाट मृत्युको सिलसिला शुरु भयो ।२०७८ वैशाख १९ गते । यतिबेला कोरोना पुष्टि हुँदा हलचल हुने अवस्था छैन । अक्सिजनसहितको आइसोलेसन केन्द्र बनाउन चटारो रहेको छ । आजकै दिनको कुरा गर्दा नै चार जनाको मृत्यु भइसकेको छ । त्यो १९ देखि यो १९ सम्म आइपुग्दा बाँकेमा १ सय २६ जनाले ज्यान गुमाइसकेका छन् । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा १ सय २० जनाको मृत्यु भइसकेको छ ।भेरी अस्पतालमा विरामीको चाप बढेको छ ।

१ सय ४२ बेडलाई बढाएर २ सय ७२ जनालाई राखिएको छ । अस्पतालका ७३ जना बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जनशक्तिको अभावले गर्दा दश जना नर्स र डाक्टरले आफै संक्रमित भएर अन्य बिरामीको उपचार गर्न बाध्य हुनुपरेको छ । कोहलपुर मेडिकल कलेजमा बिरामीको चाप बढ्दो नै छ ।गतवर्षको वैशाख १९ गतेपछि नेपालगन्जमा बिरामीको संख्या शून्यमा झर्न पाएको छैन । सीमावर्ती जिल्ला भएकाले यहाँ सधैं जोखिम रहने गरेको छ । यति बेला नेपालगन्ज नाकाबाट दैनिक २ हजार बढी मानिस भित्रिरहेका छन् । चैत ११ गतेदेखि अहिलेसम्म ८९ जना बढी भारतबाट आएका व्यक्तिलाई कोरोना पुष्टि भएको छ ।

त्यो १९ मा कोरोना देखिँदा सबैमा त्रास थियो । यो १९ मा आइपुग्दा त्रास होइन, व्यवस्थापनमा चटारो देखिन्छ । स्थानीय निकायहरु होम आइसोलेसन बनाउन लागि परेका छन् । जिल्लाका आठवटै पालिकामा २ सय बढी बेडको अक्सिजन सुविधासहितको आइसोलेसन सेन्टर बनेका छन् । त्यो १९ मा कन्ट्याक्ट टे«सिङको दौडधुप थियो, अहिले डाक्टर जुटाउन हम्मे भएको छ । बिरामीलाई बेड पु¥याउने सकस भएको छ । ३५ सय बढी होम आइसोलसनमा रहेका छन् । पहिला एक जना संक्रमित हुँदा टोल नै सतर्क हुन्थे, अहिले घर–घरमै संक्रमित पुगेका छन् । कसैलाई कसैको चिन्ता देखिँदैन । पहिलो वर्ष भन्दा अहिले देखिएको कोभिड खतरनाक देखिएको छ । यो वर्ष धेरैले कोभिडको खोप लगाएका छन् । त्यसका बाबजुद संक्रमित भइरहेका छन् । खोप लगाएका व्यक्तिमा आत्मबल बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्