वीरको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने तयारी



काठमाडौं, (नेस)

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैय्याको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गर्नुभएको छ ।

सीसीएमसीका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गर्नुभएको हो । काठमाडौं उपत्यकामा कोरोनाका बिरामीहरू बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सीसीएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ ।

उपप्रधानमन्त्री पोखरेलले आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिनुभएको थियो । उहाँले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशनसमेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्