बस्न्यातलाई थुनामा पठाउनुको कारण पेस गर्न आदेश



नेपाल समाचारपत्र, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउनुको कारण पेस गर्न सर्वोच्च अदालतले आइतबार विशेष अदालत समेतलाई आदेश दिएको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्नुपर्नाका कारण तीन दिनभित्र पेस गर्न विशेष अदालतसमेतलाई आदेश दिएको हो । बस्न्यातले आफूलाई गैरकानुनीरूपमा थुनामा राखेको दाबी गरी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । सोही रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश दिएको हो ।बालुवाटारस्थित सरकारी जग्गालाई व्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको आरोप पूर्वप्रमुख आयुक्त बस्न्यातमाथि लागेको छ । सो आरोप लागेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लामो समय बयान लिएपछि बस्न्यातलाई धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने वा थुनामा पठाउने भन्ने सम्बन्धमा बहस भएको थियो ।

केही महिनाअघि बस्न्यातलाई थुनामा पठाउने आदेश भएको थियो । बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा छुट्टै निवेदन दिनुभएको छ । सो निवेदनको सुनुवाइ गर्न धेरैपटक पेसी चढेको भए पनि त्यसको निक्र्यौल हुन सकेको थिएन ।सो निवेदनको निक्र्यौल हुन नपाउँदै सर्वोच्चले बन्दी प्रत्यक्षीकरण र कोभिड–१९ सम्बन्धित महत्वपूर्ण विषयबाहेक अन्य विषयमा मुद्दाको सुनुवाइ नगर्ने स्पष्ट गरेपछि बस्न्यातले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गर्नुभएको हो ।विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की तथा सदस्यद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।अदालतले तत्काल प्राप्त प्रमाणबाट बस्न्यात दोषी हो भन्ने देखिएको उल्लेख गर्दै उहाँलाई कानुनले पाउने सिदा खान पाउने गरी कारागार पठाउन आदेश दिएको हो । सो आदेशबमोजिम हालसम्म उहाँ थुनामा नै रहनुभएको छ ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहँदा ललिता निवासको जग्गा मोहीको नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको आरोप लागेको छ । त्यसरी प्रस्ताव लाने क्षेत्राधिकार सो मन्त्रालयलाई नभएको आरोप पनि अख्तियारले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्