कांग्रेस नेता खड्काको निधन



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य शिवबहादुर खड्काको आज निधन भएको छ ।

घरको बाथरुममा लडेर घाइते भएका खड्काको भक्तपुर गठ्ठाघरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।उहाँ पछिल्लो समय मध्यपुर थिमिमा बस्दै आउनुभएको थियो ।

रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुनुहुन्थ्यो । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उहाँ लामो समय सक्रिय हुनुहुन्थ्यो । २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भई ५ वर्ष काम गर्नुभएको थियो ।

खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको थियो । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट खड्कालाई संविधानसभाको सदस्य बनाइएको थियो । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्का रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर पार्टीको संगठन गर्नुभएको थियो ।

खड्काले भद्र अवज्ञा, सत्याग्रहका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक संघर्षमा अग्र पङ्क्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको तरुण दलका पुर्व अध्यक्ष बिनोद कायस्थले बताउनुभयो । संविधान लेखन कार्यमा उहाँको उल्लेखनीय योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्