२४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि



बैतडी, (नेस)

नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् ।संक्रमणको दोस्रो लहर फैलिएपछि बैतडीमा हालसम्म २४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रमुख भट्टका अनुसार सबैभन्दा बढी जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १४ जना स्वास्थ्यकर्मीहरूमा संक्रमण पुष्टि भएको छ ।यस्तै पाटन नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४ जना, जिल्ला अस्पताल बैतडीको पीसीआर प्रयोेगशालामा कार्यरत एकजना, सीमानाकास्थित झुलाघाट हेल्थडेस्कमा कार्यरत एकजना, गुरुखोला स्वास्थ्यचौकीमा कार्यरत एकजना र बैतडी प्लसमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ ।

संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था गम्भीर नरहेको र उनीहरू आइसोलेसनमा रहेका प्रमुख भट्टले बताउनुभयो । कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि समस्या भएको छ। उहाँले भन्नुभयो,“ कोभिडको क्षेत्रमा प्रत्यक्षरूपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको छ, संक्रमण देखिएका स्वास्थ्य संस्थामा आसपासका स्वास्थ्यकर्मीले आलोपालो मिलाएर काम गरिरहेका छन् ।

बैतडीमा दोस्रो लहरको संक्रमणपछि १ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १ जनाको मृत्यु भएको छ ।कोरोना संक्रमण तीव्ररूपले फैलिरहेकोले स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न स्वास्थ्य कार्यालयले आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्