भारतबाट विद्युत् खरिद गरिँदै



काठमाडौं, (नेस) ।

नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न शुरू गरेको छ । प्राधिकरणले शनिबार राति १२ बजेबाट दुई सयदेखि दुईसय ५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्नेछ ।

योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी बताउनुभयो ।पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत् खरिद गर्न प्राधिकरण सफल भएको कार्यकारी शाक्यले उल्लेख गर्नुभयो ।शाक्यले सबै शुल्कसहित विद्युतको प्रतियुनिट मूल्य ३.८१ भारतीय रुपियाँ रहेको उल्लेख गर्नुभयो । ‘प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारु ३७ पैसा सस्तोमा विद्युत् पाएका छौं, यसबाट हाम्रो करिब ३० लाख ४८ हजार रुपियाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत् खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उहाँले भन्नुभयो ।प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४ दशमलव १८ भारतीय रुपियाँ पर्दछ ।

प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत विद्युत् आयात गरिरहेको छ ।प्राधिकरण र भारतीय कम्पनी ‘एनटीपीसी’ विद्युत् निगम लिमिटेड(एनभीभीएन)बीच ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत जुलाइ–नोभेम्बरमा दुईसय ५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा तीनसय ५० मेगावाटसम्म र मे–जुनमा दुईसय मेगावाटसम्म विद्युत् खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।भारतीय एक्सचेन्ज बजारबाट विद्युत् खरिदका लागि प्राधिकरणकातर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभीभीएनले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउने छ ।एक्सचेन्ज बजारमा कारोबार भएको विद्युत्को दैनिक बिल एनभीभीएनले पेश गरेपछि ५ दिनभित्रमा प्राधिकरणले भुक्तानी पठाउनु पर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले उल्लेख गर्नुभयो ।

प्राधिकरणले चारसय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन शुरू भएपछि आन्तरिकरूपमा खपत गरेर जगेडा भएको विद्युत् भारतीय बजारमा बिक्री गर्ने योजना बनाएको छ ।नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत बिक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्