कोरोना भाइरस भर्सेस राजनीतिक भाइरस



बालकृष्ण मैनाली

बूढापाकाहरु भन्ने गर्थे– महामारी र अन्य प्राकृतिक विपत् घण्ट बजाएर वा हल्ला गरेर आउँदैन । प्राविधिक विकासको क्रमसँगै विकसित देशहरुमा केही प्राकृतिक विपत्तिका सूचनाहरु अग्रिमरुपमा प्राप्त हुने विधिलाई अंगिकार गरिएको कारण त्यसको प्रयोगमार्पmत केही विपत्तिहरुको अग्रिम जानकारी हुने भए पनि सबै विपत्तिबारेको अग्रिम सूचना लिन भने अझै सफल हुन सकिरहेको छैन । कोरोना महामारीले यस कुराको प्रतिनिधित्व गर्दछ । कोरोना महामारीले पछिल्लो समयमा अन्य थरी–थरीका आफ्ना अंशियार भाइरसहरु मात्र उत्पादन गरेन, सँगसँगै विपत्को मारमा परेका र अब के हुने हो भन्दै दिनदिनै सन्त्रासमा रहेका प्रत्येक जनजनको स्वास्थ्यमा खेलबाड गर्ने÷गराउने राजनीतिक भाइरसको पनि जन्मदाता हुन पुग्यो ।

कोरोना भाइरसलगायत यसका परिवर्तित रुपले विश्वलाई नै विभिन्न समूहमा विभाजन ग-यो । एकातिर कोरोना भाइरस पहिलाभन्दा पनि आफ्नो रुप परिवर्तन गर्दै, सक्रिय रुपमा शक्तिशाली हुँदै मानवमाथि हमला गर्दै छ । अर्कोतिर राजनीतिक भाइरसहरु पनि परिवर्तितरुपमा आएका अन्य हमला र भाइरसहरुलाई कसरी नियन्त्रण गरी जनजनमाथि पर्न गइरहेको वज्रपातलाई न्यूनीकरण गर्न सकिन्छ भन्नुको साटो यसलाई कसरी आफ्नो आर्थिक र राजनीतिक हतियार बनाउन सकिन्छ भनी तँछाडमछाड गर्दै लागिपरिरहेका छन् ।आज विश्व स्तब्ध छ । प्रत्येक मानव अचम्म तरिकाले त्रसित हुन पुगेका छन् । त्रसित हुनु स्वाभाविक पनि हो । हुन त विश्व महामारीको उदाहरण यो मात्रै होइन, यो भन्दा अगाडि पनि विविध खाले भाइरसका कारण विश्व आतंक सिर्जना नभएको भने होइन । जति त्रसित अवस्थामा रहनुपरे पनि वा संघर्ष गर्नुपरे पनि अन्ततः मानवले त्यसमा विजय हासिल गरी छाड्छ । यस कुरामा विमति रहँदैन भन्ने कुराचाँहि प्रमाणित भैसकेको छ । यसर्थ यो मामिलामा पनि विजय हासिल गर्ने मानवले नै हो भन्ने कुरामा द्विविधा छैन । मात्र चिन्ताको विषय भनेको मानवले विजय हासिल गर्दाको अवस्थासम्म आइपुग्दा यो राक्षसरुपी कोरोना र त्यसका परिवर्तित रुपहरुले दिने दुःख अनि गर्ने मानव संहार हो । यसलाई कसरी कमभन्दा कम गर्न सकिन्छ भन्ने विषयमा विचार पु-याउने र त्यसमाथिको बहस नै आजको विश्वव्यापी बहस हो ।

गएको २०२० को डिसेम्बर महिनामा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण विश्वका जनजनले पाएका दुःखहरु मानवको मानसपटलबाट थोरै प्रतिशत पनि घट्न पाएको छैन । कोरोनाकै विविध खाले परिवर्तित रुपहरुले जनजनलाई पुनः त्रसित अवस्थामा पु¥याएको छ । पछिल्लो आँकडाअनुसार विश्वमा १५ करोडभन्दा बढी मानव कोरोना संक्रमणबाट पीडित भए । अहिले कोरोना संक्रमण भएका व्यक्तिहरुको मृत्यु ह्वात्तै बढिरहेको समाचारहरु सार्वजनिक भरहेका छन् । छिमेकी देश भारतमा पनि यसबाट मृत्यु हुनेहरुको संख्या दिन–प्रतिदिन बढ्दो छ । पछिल्लो अवस्थामा हाम्रो देशमा पनि मृत्युदर बढिरहेको आँकडाहरु सार्वजनिक भैरहेका छन् ।
राक्षसी कोरोनाविरुद्धको लडाइँमा आजको दिनसम्म आइपुग्दा लाखौं आलेख, हजारौं अन्तर्वार्ता, लाखौं सत्प्रयासका कदमहरु महामारीविरुद्ध जारी छन् । एकातिर विश्वका सरकार प्रमुखहरुले आ–आफ्ना तर्पmबाट प्रयास जारी राखेका छन्, अर्कोतर्पm विश्व जनमतले पनि आफ्ना कदमहरुलाई आ–आफ्ना स्थानबाट अगाडि बढाएका छन्, तर पनि सफलता हात पार्न सकिइरहेका छैनन् ।के कुरामा विमति छँदै छैन भने, प्राकृतिक र दैवी प्रकोपमार्पmत मानवीय क्षति हुन जाने कुरालाई एकछिन् अपवादको रुपमा राख्ने हो भने बाँकी समस्या मानवबाटै सिर्जित हुने हुन् । त्यससँगसँगै अन्ततः सिर्जित समस्यालाई मानवले नै अन्त्य गर्ने क्षमता राख्छ भन्ने कुरा पनि त्यत्तिकै सत्य र मूल्यवान् भनाइ हुन् । यस अर्थमा अहिलेसम्मको वस्तुस्थितिलाई अध्ययन गर्दा र विशेषज्ञहरुको भनाइ एवं व्यावहारिकरुपमा पनि यो एउटा जटिल सरुवा रोग भन्ने कुरा स्थापित भइसकेको छ ।

उत्पादन गरिएका खोपहरु भाइरसविरुद्ध रामवाण साबित हुन सकिरहेका छैनन् । विभिन्न देशमा उत्पादन गरिएका खोपमध्ये कुन–कुन देशमा उत्पादन भएका खोपहरु प्रतिशतको आधारमा कुनचाहिँ बढी सुरक्षित छ भन्ने कुराको अझै अनिश्चित छ । कोरोना वा त्यसको परिवर्तित रुपले आक्रमण गर्नेबित्तिकै त्यसको विरुद्ध प्रहार गर्ने शक्ति उपस्थित नभएसम्म वर्तमानमा यसको नियन्त्रणमा हामी मानव नै लागिपर्र्नुको तत्काल विकल्प छँदै छैन । वर्तमान परिवेशमा मानवको आफ्नो सच्चा कर्तव्य नै हुन सक्ने सम्भावित मानव क्षतिको न्यूनीकरणको मूल आधार हो । हरेक मानवको इमानदारी भूमिका नै कोरोना वा त्यसका परिवर्तित रुपले गर्न सक्ने आक्रमणविरुद्ध नियन्त्रणको अचुक अस्त्र हुन सक्छ ।गएको वैशाख १६ देखि देश निषेधाज्ञामा प्रवेश गरेको छ । हाम्रो जस्तो देशको सन्दर्भमा यसलाई नियन्त्रण गर्न केन्द्रीय सरकारभन्दा पनि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने गर्दछ । स्थानीय निकाय पालिकादेखि वडासम्मका जनप्रतिनिधिहरुले इमानदारी भूमिका निर्वाह गरिदिने हो भने थोरैभन्दा थोरै क्षतिले यो महामारीविरुद्ध विजय हासिल गर्न सघाउ पुग्ने कुरामा कतै विमति छैन । यस विपद्को अवस्थामा केन्द्रीय सरकारले स्थानीय सरकारलाई आवश्यक स्रोत उपलब्ध गराउन कुनै कन्जुस्याइँ गर्नुहँदैन भने स्थानीय निकायका जनप्रतिनिधिहरुले आफ्नो इमानदारी भूमिका प्रस्तुत गर्नै पर्दछ ।

जटिल संकटको अवस्थामा पनि मानवीय मूल्य र मान्यतालाई तिलाञ्जलि दिएर सामान्य आर्थिक प्रलोभनको लागि उपभोग्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गर्ने र स्वास्थ्य सामग्री खरिद विषयमा आफ्नो आर्थिक स्वार्थ साँध्ने प्रयास गरिनुहुन्न । गतवर्ष स्वास्थ्य सामग्री खरिद विषय अख्तियारसम्म पुगेको समाचार सार्वजनिक भएको थियो । यसबारे के भयो भन्ने कुरा जनजनको खासै जानकारीमा छैन ।
महालेखाको पछिल्लो प्रतिवेदनले गतवर्ष पालिकाहरुमा कोभिड–१९ विरुद्ध भएको खर्च अपारदर्शी भएको जानकारी गराउँछ । पछिल्लोपटक सार्वजनिक भएको समाचारअनुसार पालिकाहरुमा भएको खर्च अपारदर्शी भएकामा महालेखाबाट कहाँ–कहाँ कसरी खर्च भयो भनी पालिकासँग सम्बन्धित व्यक्तिहरुलाई सोधिएको थियो । खानपिन र कपडाहरुमा खर्च भएको भनी जवाफ दिइएको थियो । किनेका समानहरुको अभिलेख माग गर्दा संक्रमितहरुले प्रयोग गरेका कारण सबै सामानलाई नष्ट गरिएको भन्ने जवाफ आएको थियो । यसकारण सम्बन्धित समूहका सदस्यहरुले लेखापरीक्षणको बेला गरिन सक्ने टिकाटिप्पणीलाई समेत ध्यानमा राखी स्रोतलाई सदुपयोग गर्दै पीडितको पक्षमा सम्बोधन गर्नुपर्ने ठाउँमा दुरुपयोगमार्पmत आफ्नो स्वार्थमा सम्बोधन गरिएको प्रतीत हुन्छ ।देशमा एकातिर यस्तो विपत्ति छ, अर्कातिर सत्तामा पुगेका वर्तमानदेखि पूर्वका शासकहरु एक–आपसमा रोइलो गर्दै जग हँसाउने कार्यलाई निरन्तरता दिइरहेका छन् । जनप्रतिनिधिलगायत स्थानीय जनजनको समेत साथ सहयोग लिएर कोरोना र कोरोना परिवर्तित भाइरसहरुका विरुद्ध लड्नुपर्ने शासकहरु आपूm–आपूmमा मारामार गरी जग हँसाइरहेका छन् ।

स्पष्टीकरण सोध्ने र बुझाउने निरन्तरता जारी छ । एक्लाएक्लै होटलका स्वीटहरुमा बसेर सल्लाह गरेपछि केही राम्रो निष्कर्ष आऊला भन्ने जनजनको आशा सदैव धूलोमा मिलाउने कार्य गर्दै आइरहेका छन् । भित्रीरुपमा के सल्लाह भयो, दुवै थरी जनजनलाई बताउँदैनन् तर एक–आपसमा नमिल्नुको कारण एक–अर्कालाई देखाउँदै एक–आपसमा दोषारोपण गर्न तँछाडमछाड गर्छन् । कतिपय अवस्थामा हामी जनजन पनि आफ्नो कर्तव्यलाई बिर्सिदिन्छौं । कतिपय मुलुकमा संक्रमित मानवहरुले आफू संक्रमित भएको कुरा लुकाएर अन्य संक्रमित नभएका मानवहरुलाई समस्यामा पारिदिएको समाचारहरु सार्वजनिक भएका छन् । जसले गर्दा जो–जो मानवहरु संक्रमितसँग सम्पर्कमा आए उनीहरु त्रसित अवस्थामा बाँचिरहन विवश भएका छन् । हाम्रो देश पनि यसबाट अछूतो छैन । यस अर्थमा यदि संक्रमित जोसुकै भए पनि आपूm संक्रमित भएको कुरा नलुकाउनु र त्यसलाई सार्वजनिक गरेर प्राप्त उपचारमा लाग्नु भनेको आफू पनि बच्नु र अन्य मानवलाई पनि बाँच्न योगदान दिएसरह हुनेछ भन्ने कुरालाई मनन गर्न सक्नुपर्छ । एक–आपसमा यस किसिमका सहयोग आदानप्रदान हुन सकेमा हाल देखिइरहेको महामारी नियन्त्रणको लागि छोटो समयमै कोसेढुंगा साबित हुन सक्छ ।यो पक्कै हो, वर्तमानदेखि पुरानासम्मका शासकहरुले देश र जनताप्रति जे–जस्तो गल्ती गरेका छन् तिनीहरुलाई यथासमयमा सजाय दिन प्रत्येक जनजनसँग आफ्नो नैसर्गिक अधिकार सुरक्षित छ । समय आएपछि यसको एक–एक हिसाबकिताब लिने कार्यमा अगाडि बढ्न जनमत एकढिक्का हुनुको विकल्प छैन । त्यति हुँदाहुँदै पनि अहिलेको वर्तमान समयमा देखा परेको महामारीबाट आफू पनि जोगिने र सँगसँगै परिवार, समाज हुँदै पूरै देशलाई जोगाउने हामी प्रत्येक नगरिकको कर्तव्य र दायित्व हो भन्ने कुरालाई पनि मनन गर्नै पर्ने हुन्छ ।
देशको संविधान हामी जनजनले ल्याएका हौं ।

यसका प्रत्येक धाराहरुको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भए तापनि हामी जनजनको पनि त्यत्तिकै दायित्व रहेको कुरालाई बिर्सन मिल्दैन । मानवहितका लागि जनजनका प्रत्येक कर्तव्यहरु आ–आफ्ना स्थानमा त छँदै छन्, त्यसदेखि बाहेक संविधानको धारा ४८ ले पनि नागरिकका केही कर्तव्यहरुलाई परिभाषित गरेको छ । धारा ४८ को खण्ड (क) देखि (घ) सम्म गरी चार विभिन्न किसिमका कर्तव्यहरुको पालना गर्नुपर्ने कुरालाई औंल्याइएको छ । यसमध्ये धारा ४८ को खण्ड (ग) ले नागरिकले वर्तमानमा गर्नुपर्ने कर्तव्यलाई इंगित गरेको छ । खण्ड (ग) मा राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । यस अर्थमा राज्यले वर्तमान अवस्थामा प्रत्येक नागरिकबाट सामान्य सहयोगको अपेक्षा गरेको छ भने त्यसलाई अन्यथा लिइनुहुँदैन र सँगसँगै राज्य नागरिकको हो शासकको होइन भन्ने कुरालाई शासकदेखि नागरिकसम्मले हृदयङ्गम गर्नु पनि अनिवार्य छ ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्