महिलाहरु फेरि चुलोचौकामा नै फर्किनु पर्ने हो : सुष्मा महरा



दुई दशकअघि ब्युटी पार्लर खोलेर सौन्दर्य क्षेत्रमा पाइला अघि सारेकी सुष्मा महरा अहिले यो क्षेत्रका स्थापित नाम मात्र बनेकी छैनन्, कतिपयका लागि उदाहरणसमेत बनेकी छिन्। नेपालसँगै हङकङ, थाइल्याण्ड, चीन, भारतजस्ता देशबाट सौन्दर्यका विभिन्न विधामा शिक्षाक्षेत्रमा  हासिल गरेर सौन्दर्यको क्षेत्रमा फटाफट अघि बढेकी सुष्माले राजधानीको काठमाडौं मलमा डेढ दशकअघि आफुले सञ्चालनमा ल्याएको फेसियल हाउस नामक कपाल तथा छालाको हेरचाह, कृत्रिम परेला प्रत्यारोपण, मुसा, कोठी तथा लेजर ट्याटु रिमुभ, जेल नेल एक्सटेन्सन, परमानेन्ट मेकअप, माइक्रो ब्लोइङजस्ता सौन्दर्यसम्बन्धी सेवा दिने सौन्दर्यशालाबाट आपूmलाई देश विदेशका आम मानिसदेखि सेलिब्रेटीमाझ स्थापित गर्दै आएकी छिन्। फेसन हाउसकी सञ्चालिका तथा प्रवन्ध निर्देशक, नेपाल उद्योग वाणिज्य संघ काठमाडाैकी उपाध्यक्ष तथा काठमाडाै मल व्यापार संघकी अध्यक्ष्ँसमेत रहेकी सुष्माले राजधानीको सुन्धारा, चावहिललगायतका ४ स्थानमा फेसियल हाउस सञ्चालन गरिरहेकी छिन् भने वर्षेनी दुई सयको हाराहारी गरी हालसम्म करिब ३५ सय जनालाई तालिम दिएर देश तथा विदेशको सौन्दर्य क्षेत्रमा स्थापित गराएकी छिन्। उनै सुष्मासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ?

फेसियल हाउसकै व्यवसायमा व्यस्त थिएँ। तर लकडाउन लगाइएपछि अलि फुर्सदिलो भएर बस्नुपरेको छ। अघिल्लो लकडाउनको समयमा सामाजिक सञ्जाल टिकटकमार्फत फेसियल हाउसले दिने सेवाबारे भिडियो राखिएको थियो। यो दोस्रोपटक लगाइएको लकडाउन अघिसम्म मानिसहरू तिनै भिडियो हेरेरआफ्नो हेयर तथा स्किनसम्बन्धि समस्या लिएर भेट्न र टिप्स लिन आइरहनु भएको थियो। उहाँहरूकै सेवामा व्यस्त थिएँ। व्यवसायबाट बचेको समयमा विभिन्न संघ सस्थामा रहेर सौन्दर्य क्षेत्र र व्यवासायिका लागि आवाज उठाउँदै आइरहेकी छु।

करिअरको रुपमा सौन्दर्य क्षेत्र नै किन रोज्नुभयो?

सौन्दर्य क्षेत्र मै आउँछु र मेरो करिअर यही क्षेत्रमा बन्ला भनेर सोचेको पनि थिइन”। हामी छोरी मानिसलाई छोरालाई जस्तो यही बन्छु यही गर्छु भनेर सोचेको जस्तो गर्न सजिलो हुँदैन। एसएलसी सकिएपछि साथीहरुका साथ केही सीप सिकाै भनेर पार्लर सिकेको थिएँ। पार्लर सिकेपछि पार्लरको साथमा कपडाको व्यापार र बुटिक गरी तीन क्षेत्रमा करियर शुरू गरेको थिएँ। पार्लर सिकेर र पढेर खोलेको थिएँ। बुटिक र कपडाको व्यापार चाहिँ रहरले गरेको थिएँ। पार्लर सिकेको हुनाले विभिन्न देशमा गएर सौन्दर्य क्षेत्रको ज्ञान र सीपलाई अझै बढाउँदै लगेर निरन्तरता दिएँ। सौन्दर्य क्षेत्रले अहिले नाम, दाम, प्रतिष्ठा र इज्जत दिएको छ। फेसियल हाउस शुरू गर्दा कपाल काट्ने त नाउको काम हो भन्ने सोच थियोे। अहिले त्यो सोचाइ परिवर्तन भएको छ। त्यति बेला बाहिरको ब्युटि प्रडक्स निकै कम आउँथे। सीमित प्रडक्टबाट सेवा दिनुपथ्र्याे। अहिले इन्टरनेटमा विश्वका कुनै पनि ब्रान्डेड सामान हेर्यौं भने बजारमा पाईहाल्छ। सौन्दर्य सम्बन्धी मेसिनरी सामान पनि अहिले पर्याप्त मात्रामा उपलब्ध छन्। हामीले विभिन्न संस्थामा रहेर आवाज उठाउँदा उठाउँदा अहिले सौन्दर्य विषयलाई कक्षा १२ सम्म कोर्समै राख्ने तयारी समेत भइरहेको छ।

सौन्दर्य सेवाका चुनौती के कस्ता छन्?

सबै क्षेत्रमा राम्रोसँगै नराम्रो र सफलतासँगै चुनौती आइरहेको हुन्छन्। व्यवयासमा गरेपछि प्रोफेसनल तरिकाले प्रतिस्पर्धा गरेर आफ्नो व्यापार फैलाउनु पर्छ। तर, यही क्षेत्रमा भएका केही व्यक्तिको अस्वस्थ प्रतिस्पर्धाको होडबाजीका कारण ममाथि नै अप्रिय घटना पनि भए। व्यवसायको कुरालाई लिएर व्यक्तिगत सुरक्षासमेत नहुनु चुनौतीको विषय हो।अर्को कुरा अघिल्लो लक डाउनको बेला धेरै सौन्दर्यकर्मी पलायन हुनुभयो। जुन बेला साथ र सर्पोटको आवश्यकता थियो, त्यहि बेला संघ संस्थामा बसेकाहरु अगाडि आउनु भएन। कोरोना संक्रमण बढेकाले निषेधाज्ञाका नाममा फेरि पनि लक डाउन लगाइएको छ। यो अवस्थामा संघ संस्थामा लागेकाहरू चुप लागेर बस्न सुहाउँदैन। यता अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रवृत्तिका कारण सौन्दर्य क्षेत्रप्रति मानिसको विश्वास हराउन थालेको छ। यो राम्रो संकेत होइन। अर्को, नेपालमा सौन्दर्यकर्मीको लेभल तोकिएको छैन।

सिक्दै नसिकेका मानिस पनि पार्लर चलाएर बसेका छन् भने धेरै वर्ष लगाएर अध्ययन गरेका पनि उत्तिकै छन्। धेरैलाई कुन सौन्दर्य सामग्रीमा कस्ता खालका केमिकल प्रयोग भएका हुन्छन् र कस्तो खालको स्किनमा त्यसको रियाक्सन कस्तो हुन्छ भन्ने ज्ञान पनि हुँदैन। त्यस्तै, व्यवसायलाई अझ एक्सप्लान गराै भन्ने सोचिरहेको बेला लकडाउनका कारण रोकियो भने अहिले विस्तारै गति लिन लागेको बेला फेरि कोभिडको दोस्रो लहर आएर पुनः लकडाउन लगाइएको छ। अघिल्लो लकडाउनका कारण नै पुरुषजस्तै बाहिर आएर हातोमालो गरेर आर्थिक रूपमा आफू र परिवारसमेत निर्भर भइरहँदा महिलाको ठूलो संख्या प्रभावित छ। अहिलेको लकडाउनले सौन्दर्य व्यवसायी महिलाहरूमा समस्या झनै चर्किएको छ। यसको लागि के व्यवस्था छ? कि फेरि महिलाहरू चुलोचौकामा नै फर्किने हो भनेर सरकारसँग प्रश्न गर्न चाहन्छु।

एउटा सफल व्युटिसियन हुन केकस्ता योग्यता र गुण आवश्यक पर्छन्?

जे काम सुरु गरे पनि त्यसबाट केही आशा नराखी काम गर्नुपर्छ। आफूले गरिरहेको काममा लगनशील भएर लाग्ने र जस्ता सुकै बाधा व्यवधान आए पनि म गर्न सक्छु भनेर निरन्तर लागेर काम गर्न सके सफल अवश्य भइन्छ। आज काम शुरू गरेर भोलि नै फल खान्छु भन्ने सोच्नु हुँदैन। निरन्तर लगनशीलताका साथ लागि रह्यो भने सफलता आफै पछि लाग्छ। सौन्दर्य क्षेत्रमा लाग्ने हो भने त्यो सम्बन्धि राम्रो ज्ञान सिप र तालिम लिएर सम्बन्धित पक्ष्को सन्तुष्टिलाई ध्यान दिनुपर्छ। समयअनुसार आफ्नो सीप, ज्ञान र सेवालाई अपडेट गर्दै लानुपर्छ।

ब्युटिसियनले महशुस गर्ने सन्तुष्टि के के हुन्?

धेरै ग्राहकहरू फेसियल हाउस नै भनेरतपाई लाई भेट्नका लागि भनेर आएको भन्नुहुन्छ। मानिसहरू इन्डियादेखि सेवा लिन आएको भन्नुहुन्छ। अलि अघि मात्र एउटा कम्पनीको ब्युटी प्रडक्ट बेच्ने भाइले फेसियल हाउसको नाम हाम्रो प्रोडक्टमा राख्न पाए हामीलाई राम्रो हुन्थ्यो भन्नुभयो। मेरो लागि सन्तुष्टि नै यीनै करा हुन्। मानिसहरूले गरेको विश्वास र मायाको कारण नै म आजको स्थानसम्म आइपुग्न सफल भएको छु। योभन्दा सन्तुष्टि दिने विषय अरु के हुन सक्छ र?

आम्दानीको हिसाबले कत्तिको सन्तुष्ट हुनुहुन्छ?

मैले सन्तुष्टिको लागि व्यवसाय शुरू गरेको हुँ। म यत्रो वर्षदेखि यो व्यवसाय गरिरहेको छु, तर एक पाइला टेक्ने जग्गासम्म किनेको छैन। मैले रातारात अरबपति बन्छु भनेर व्यापार शुरू गरेको होइन। मैले बेचिएका र दुःख पाएर उद्धार गरिएका विभिन्न संस्थाबाट आएका धेरै महिलालाई फ्री अफ कस्ट ब्युटिसियन ट्रेनिङ दिएको छु। सौन्दर्य सेवा व्यवसायमा लागेपछि आत्म सन्तुष्टि र सेवालाई कहिल्यै व्यापारसँग तुलना गरिन। सधैं कसरी राम्रोसेवा दिन सकिन्छ र कस्टमरलाई सन्तुष्ट बनाउन सकिन्छ भन्ने तिर नै ध्यान गयो। सौन्दर्य सेवामा फेसियल हाउस १ नम्बरमा आएको छ, त्यहि नै मेरो कमाई हो।
कलाकारलाई सिंगार्नु र आम मानिसलाई सिंगार्नुमा कुनमा बढी

चुनौती र सन्तुष्टि हुन्छ?

दुवैमा उस्तै सन्तुष्टि मिल्छ। हामीले उहाँहरू सबैलाई उस्तै तरिकाले सेवा दिने हो। कलाकार भनेर धेरै महत्व दिने र आम मानिस भनेर कम महत्व दिने कुरा हुँदैन। तर आम मानिसको भन्दा कलाकारको मेकअपमा चुनौती भने पक्कै हुन्छ। फोटोशुट, म्युजिक भिडियो, टेलिसिरियल आदिमा कलाकारको रोल र थिम अनुसारको मेकअप तथा हेयर डिजाइन गनु पर्ने हुन्छ। मेकअप, हेयर स्टाइलजस्ता कुराले कहिले यङ मान्छेलाई बुढो बनाउनुपर्ने हुन्छ, कहिले बुढो मान्छेलाई योङ बनाइदिनु पर्ने हुन्छ। कलाकारको रोलअनुसार मोडिफाई गर्नुपर्ने कारण आम मानिसभन्दा कलाकारको मेकअप र हेयर स्टाइलजस्ता सिंगारपटारमा केहि चुनौती हुन्छन्।

नेपालीहरु सौन्दर्यप्रति कत्तिको सचेत पाउनु भएको छ?

पहिलेको तुलनामा एकदमै सचेत भएका छन्। पहिले ब्युटी पार्लर, सैलुन भनेको कपाल काट्ने ठाउँ हो भन्ने थियो। त्यसमा पनि पार्लरमा आउनेहरू निश्चित उमेरका हुन्थे। त्यति बेला टिनएजरहरू मेरो त पार्लर जाने उमेर भएको छैन, मेरो फेसियल, क्लिजङ गर्ने उमेर नै पुगेको छैन भनेर निश्चित उमेर कुरेर बस्थे भने अलि उमेर ढल्किँदै गएका महिला मेरो त उमेर गयो के नक्कल पार्नु भन्ने सोच राख्थे, तर अहिले जमाना फेरिएको छ। अहिले घरका सम्पुर्ण सदस्य एकै चोटी सेवा लिन आउनुहुन्छ। छोराको हेयर कट गर्ने रे, मेरो पनि सेतो कपाल कलर गर्नु छ, छोरीको फेसियल गर्ने भनेर आउनुहुन्छ। पहिले छोरी मानिस मात्र पार्लर जँन्थे भने अहिले छोरा मानिसहरु पनि फेसियल गर्ने, कलर गर्ने गर्नुुहुन्छ। पहिले विवाह पार्टीेमा जाँदा, दशैं तिहारजस्ता चाडबाड आउँदा वा कुनै अकेजन कुरेर मानिसहरु फेसियल, हेयर स्ट्रट, कलर आदि गर्थे भने अहिले चाहिँ मानिसहरु सौन्दर्यप्रति सचेत भएका छन्। अहिले त एयर होस्टेज, होटल व्यवासायजस्ता सेवा प्रदायक क्षेत्रमा पनि मेकअपको अनिवार्य प्रयोग हुन थालेको छ।

यस मामलामा कलाकारहरुमा महिला र पुरुषमध्ये को बढी सचेत छन्?

पहिले महिला कलाकार बढि सचेत थिए, अहिले महिला पुरुष सबै सचेत हुनुहुन्छ। दुवैथरी कलाकार सेवा लिन आउने गर्नुहुन्छ। कतिपय सलुन र पार्लरको प्रचारका लागि कलाकार बोलाइन्छ। तर फेसियल हाउस त्यस्तो ब्युटि सलुन हो, जहाँ कलाकारहरु आफै सर्भिसको लागि लालायित भएर आउनुुन्छ। कतिपय कलाकारहरू माक्स लगाएर आउनुहुन्छ चिनिँदैन, पछि म्यासेन्जरमा म तपाईंकोमा आएको थिएँ, तपाईले चिन्नुभएन भन्नुहुन्छ। कलाकारहरू सामान्यदेखि अन्य सेवा लिन आउनुहुन्छ। कोही कलाकार मेरो यस्तो खालको थिममा फोटो शुट छ, त्यसमा कस्तो खालको मेकअप गर्ने होला? नयाँ मुभि आउँदैछ, नयाँ लुक्स चाहिएको छ, यस्तो खालको क्यारेक्टर छ कस्तो हेयर स्टाइल गर्दा राम्रो होला भनेर आउनुहुन्छ। कतिपय हेयर ड्यामेज भएर, स्किनको समस्या लिएरदेखि कोठी र ट्याटु रिमूभ आदिका लागि आउनुुहुन्छ। कलाकार मात्र नभई, सांसद, खेलाडी, मोडल हरेक क्षेत्रका व्यक्तिहरू आप्mनो सौन्दर्य बढाउन लालयित र सचेत
रहेको पाएको छु।

सौन्दर्य क्षेत्रमा ज्ञान हासिल गरेर आयो भने यो क्षेत्र धेरै राम्रो छ। पहिले अन्य जातले कपाल काट्दा नाई हो र भन्ने, नराम्रो किसिमले हेर्ने, बोल्ने गर्थे। तर, अहिले यही पेसामा लागेकालाई मेकअप आर्टिस्ट, हेयर डिजाइनर भनेर सम्मानका साथ हेरिन्छ। आर्थिक अभाव भएकालाई सरकारले सिटीईभिटीमार्फत ब्युटिसियनका साथै अन्य सीप फ्रि अफ कस्ट दैनिक भत्ता दिएर सिकाइरहेको छ। फेसियल हाउसले पनि दशै तिहार विभिन्न अवसर पारेर बेला—बेलामा भारी छुटका साथ विभिन्न खालका ट्रेनिङ दिन्छ। आर्थिक अभाव भएका तर व्यवसाय शुरू गर्नका चाहनेका लागिसरकारले छिट्टै केही कार्यक्रम ल्याउँदैछ।

काठमाडौं मल व्यापार संघको अध्यक्ष हुनुहुन्छ, मलका बारेमा विवाद पनि निकै भयो। अहिले समाधान भयो?

पहिलेदेखि नै विभिन्न विवादले घेरिँदै आएको काठमाडौ मल सरकारी भवन हो। यहाँ यसभन्दा अघि भएका घोटलाको बारेमा पत्ता लागिसकेको छ। तर, अहिले अहिले सरकारी निकायबाट छानबिन भइरहेका छ। संघमा म अध्यक्ष भएर आउनु अगाडि नै भएका घोटालाबारे छानबिन भइरहेका कारण अहिले हामीले कागजपत्र चलाउने, चिठी काट्ने काम गरेका छैनौं। तर, समस्यामा परेका व्यापारीको हक अधिकार माग गरिरहेका छौँ।

प्रतिक्रिया दिनुहोस्