सेलिब्रेटीदेखि भीआइपीसम्म कोरोना संक्रमणको लहर



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना महामारीकोे संक्रमण नेपालमा पनि दैनिक रुपमा नयाँ रेकर्ड राख्दै अघि बढिरहेको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहरले झनै भयावह रुप लिइरहेको छ । नेपालमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । महामारीले न ठुलो न सानो व्यक्ति भन्छ । वा न धनी न गरिब । स्वास्थ्य सतर्कतामा हेलचेक्र्याई गरियो भने जो कोहीलाई पनि संक्रमण हुन सक्छ । पछिल्लो समय कोरोना महामारीका कारण सर्वसाधारण, सेलिब्रेटीदेखि उच्चपदस्थहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । हाल उनीहरु नर्भिक अस्पतालमा उपचाररत छन् । यस्तै कलाकार मदनकृष्ण श्रेष्ठलाई जन्मदिनकै दिन कोरोना संक्रमण भएको थियो । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्रेष्ठ हाल कोरोना संक्रमणमुक्त भइसकेका छन् । संक्रमणमुक्त भएपछि उनले आफ्नो फेसबुकमार्फत् एक भिडिओ सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यलगायत विषयमा विभिन्न जानकारी दिएका छन् । कोरोना संक्रमण निकै भयावह रुपमा फैलिएका कारण सबैलाई सुरक्षित रहन र स्वास्थ्य मापदण्ड पालना गर्न श्रेष्ठले आग्रह गरेका छन् ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी पनि कोरोना संक्रमित भएका छन् । उनलाई बैशाख १३ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि रायमाझीलाई छाउनीस्थित सैनिक अस्पतालमा राखिएको छ । गृह जिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा भाग लिएर फर्किएपछि रायमाझीको पीसीआर गरिएको थियो। अर्का खानेपानीमन्त्री मणि थापामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । थापालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनी सरकारी निवासमै होम आइसोलेसमा छन् । यस्तै नेपाली सेनाका पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाललाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वप्रधान सेनापति कटवाललाई झण्डै दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी सैनिक अस्पतालको आइसीयूमा कोरोनासँग लडिरहेका छन् ।

कोरोना संक्रमण हुनेमा अर्का छन् पूर्वसभामुख दमननाथ ढुंगाना । ढुंगाना आफैंले ट्वीटरमार्फत् कोरोना संक्रमित बनेको जानकारी दिएका हुन् । ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन् । हाल ढुंगाना भक्तपुस्थित आफ्नै निवासमा होम आइसोलेसनमा छन्। यस्तै एमाले नेता विष्णु रिजाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै शनिबार मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिले नर्भिक अस्पतालमा खनालको उपचार भैरहेको छ । कोरोना संक्रमणको चपेटामा कलाकार प्रकाश सपूत, केकी अधिकारी लगायत पनि परेका छन् । कोरोना संक्रमणको दर नेपालमा भयावह देखिएको छ ।

पछिल्लो २४ घण्टममा मात्र थप ५७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । यस्तै आज थप १९ जनाको मृत्यु भएको छ । कोरोनाबाट निकाने हुनेको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार २९८ पुगेको छ । यस्तै आजसम्म मुलुकभरका ७७ जिल्लामध्ये अहलिेसम्म पुर्ण र आंशिक गरेर २५ जिल्लामा निषेधाज्ञा जारी भएको छ । गृह मन्त्रालयका अनुसार यस अवधिमा २१ जिल्लामा पुर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्