जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त पदाधिकारीको पदस्थापन



प्रताप बानियाँ, म्याग्दी ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका नवनियुक्त पदाधिकारीहरुको शनिबार सदरमुकाम बेनीमा पदस्थापन भएको छ । खेलकुद विकास समितिको आयोजनामा कार्यालयमा एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको प्रमुख आतिथ्यमा पदस्थापन गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख केसीले नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र वितरण गरेर पदभारग्रहणसहित पदस्थापन गराएका थिए । गएको फागुन ९ गते सम्पन्न गण्डकी प्रदेश सरकारको मन्त्रीस्तरीय वैठकबाट जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दिनेश केसी, उपाध्यक्षमा विसन राना, सचिवमा तारामान रोका र कोषाध्यक्षमा कविता रोकालाई मनोनित गर्ने निर्णय भएको थियो ।

यसैगरी खेलकुद विकास समितिको सदस्यहरुमा बाबुराम चोखाल, आशमाया रोका, सिर्जना पाईजा, सदिस चोखाल, कुमार किसान, साजन फगामी, श्याम रोका, नरमाया पुन र मनबहादुर सार्की मनोनित भएका छन् । नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र वितरण गर्दै जिसस प्रमुख केसीले खेल पूर्वाधारको विकास निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले सदरमुकाम बेनीमा रहेको बहुउद्देश्यीय खेलमैदानको स्तरोन्नतिको कामलाई तीव्रता दिएर समयमा ने सुविधासम्पन्न खेलकुद मैदान निर्माणतर्फ लाग्नुपर्ने बताएका छन् ।

पदभारग्रहण गर्दै नवनियुक्त अध्यक्ष दिनेश केसीले विगतमा गरिएका राम्रा कामहरुको अनुसरण गरी निरन्तरता दिने बताए । उनले बेनीमा निर्माणाधीन खेलकुद मैदानलाई पूर्णता दिने, चुत्रेनीमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाउन पहल गर्ने, विद्यालय खेलकुदलाई जोड दिइने र खेलकुद विकास समितिका गतिविधिलाई पारदर्शी रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्