सिन्धुलीमा प्रहरीले रोक्यो बाल विवाह, बिहेको मण्डपबाटै दुलाह-दुलही नियन्त्रण



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमा प्रहरीले बाल विवाह रोकेको छ। दुलहीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी पाएपछि प्रहरीले विवाह रोकेको हो । उमेर नपुगेकी कमलामाई नगरपालिका–२ चियावारीकी दुलही र मकवानपुर जिल्लाको बकैयाँ गाउपालिका –७ का दुलहा बिच शुक्रवार हुन लागेको विवाह प्रहरीले रोकेको हो ।

दुलाहाको विवाह गर्ने उमेर पुगे पनि दुलहीको उमेर नपुगेको पाइएपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्द थपलियाले बताउनुभयो । प्रहरीले बाल विवाह रोकेपछि दुलहा पक्ष दुलही नलिई घर फर्किएको छ । प्रहरी उपरिक्षक थपलिका अनुसार दुलहाको उमेर २५ बर्ष र दुलहीको उमेर १८ बर्ष ६ महिना पुगेको थियो । किशोरीको उमेर नपुग्दै विवाह हुन लागेको जानकारी आएपछि विवाह स्थलमा पुगेर बुझ्दा बाल विवाह हुन लागेको पाइएपछि रोक्नु परेको उहाँले बताउनुभयो ।

‘बाल विवाह हुँदैछ भन्ने जानकारी आएपछि प्रहरी पठायौँ। सोधपुछ गर्दा केटीको उमेर नपुगेको देखिएपछि विवाह रोकिएको हो,’ उहाँले भन्नुभयो । प्रहरीले दुलहीको घरबाट दुलहा,दुलही सहित दुवै पक्षका अभिभावकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याईएको उहाँले बताउनुभयो । कार्यालयमा ल्याएर बाल विवाहको मुद्धामा मुद्धा दर्ता गर्न लाग्दा दुलाह, दुलही पक्षले आफुहरुलाई बाल विवाह गर्न पाईन्न र दुलहीको उमेर पुगेपछि मात्रै विवाह गर्छौ भनेर दुवै पक्षले कागज परेपछि दुलाह, दुलहीलाई छोडिएको उहाँले बताउनुभयो ।

‘दुवै पक्षले केटीको उमेर नपुगी विवाह गर्दैनौ भनेर सहमती गरेपछि दुलहा र दुलही दुवैलाई अभिभावकको जिम्मा लगाएर पठाएका छौं । दुलाह विवाह रोकेर घर फर्केका छन् । दुलहीलाई अभिभावकले घर लगेका छन्’ उहाँले भन्नुभयो । दुलहा आउने वित्तिकै सुचना आएकाले तत्काल प्रहरी गएपछि विवाहको कार्य पुरा नहुदै विवाह रोकिएको उहााले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्