एसियाली मूलका अमेरिकीको हत्या



वासिङ्टन डीसी, (एजेन्सी)

अमेरिकाको वासिङ्टन राज्यको बोथेल शहरमा प्रहरीले एकजना २५ वर्षीय युवकलाई एक एसियाली अमेरिकी पुरुषको ज्यानै जानेगरी छुरा प्रहार गरेको आरोपमा गिरफ्तार गरेको छ । कोमो न्युजका अनुसार आइतबार करिब बेलुकी ८ बजे प्रायशः व्यस्तै रहने वियर्डसीको ११२औं एभेन्यु स्थित एक भवनको मूलद्वारमा यो घटना घटेको हो ।

अपार्टमेन्ट कम्प्लेक्समा अर्का एक एसियाली अमेरिकी पुरुषसँग भेटेर बाहिर निस्कने क्रममा २९ वर्षीय पीडितलाई आक्रमणकारीले औंलो ठड्याएर अश्लिताको संकेत गर्दै आक्रमण गरेको बताएका छन् । आक्रमणकारीलाई, ‘तिमीलाई के भयो ?’ भनेर सोधिनासाथ पीडितको छातीमा उनले छुरा रोपेका थिए । उनले अर्का व्यक्तिमाथि पनि आक्रमण गर्न खोजेका थिए । तर, उनी भागेर ज्यान जोगाउन सफल भए ।
प्रहरी र चिकित्सकको टोलीले घटनास्थलमै पीडितलाई रगत दिएर बचाउने गरेको प्रयास असफल भएको थियो ।

नाम नखुलाइएका एकजना प्रत्यक्षदर्शीले एसियाली मूलका भएकै आधारमा तिनीहरूमाथि आक्रमण प्रयास भएको जस्तो आफूलाई लागेको प्रहरीलाई बयान दिएका छन् । तर, अन्य प्रत्यक्षदर्शीहरूले भने बिनाकारण नै आक्रमण भएको बताएका छन् । सोही अर्पाटमेन्टको तेश्रो तल्लामा लुकिरहेको अवस्थामा केहीबेरपछि नै पक्राउ परेका उनलाई हत्याको मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्