नेपालको गार्हस्थ उत्पादन दुई प्रतिशतले ऋणात्मक



नेपाल समाचारपत्र

काठमाडौं । एशियाली विकास बैंकले कोभिड–१९ का कारण गतवर्ष सन् २०२० मा नेपालको गार्हस्थ उत्पादन १ दशमलव ९ प्रतिशतले ऋणात्मक भएको देखाएको छ ।बैंकले बुधबार सम्पूर्ण एशियाली मुलुकको आर्थिक अवस्थाको विश्लेषण गर्दै आगामी वर्ष भने कोभिडका बाबजुद परिस्थितिमा सुधार आउने प्रक्षेपण गरेको छ । ‘२०२१ मा नेपालको गार्हस्थ उत्पादन ३ दशमलव १ हुने र २०२२ मा यसमा अझै सुधार आएर ५ दशमलव १ पुग्नेछ ।’

कोभिडका बाबजुद एशियाको समष्टीगत कुल गार्हस्थ उत्पादन २०२१ मा ७ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण गर्ने बैंकले पछिल्लो समयमा कोरोनाबाट मुक्त भएपछि ती क्षेत्रमा तीव्र गतिले उत्पादनका कार्यहरू बढ्ने अनुमान गर्दै ऋणात्मक अवस्था धनात्मकमा मात्र जाने होइन त्यसले फड्को पनि मार्ने अनुमान गरेको छ ।बैंकले एशियाको कुल ग्रार्हस्थ उत्पादन २०२० मा शून्य दशमलव २ मा सीमित भएको जनाएको छ । एशियाको औसत उत्पादन आगामी २०२२ मा ५दशमलव ३ हुँदा नेपालको ५दशमलव १ हुनु स्वाभाविक मान्नुपर्ने अर्थशास्त्रीहरूको भनाइ छ, तर कोरोना खोपले प्रभावकारीरूपमा काम गर्ने र आगामी दिनमा गतवर्षको क्षतिपूर्ति हुनेगरी आर्थिक गतिविधि बढ्ने अनुमानका आधारमा गरिएको प्रक्षेपणमा ढुक्क हुने अवस्था भने छैन ।

एशियाको कुल गार्हस्थ उत्पादनमा पछिल्ला वर्षहरूमा औद्योगिक फड्को मारेका हङकङ, चीन, उत्तर कोरिया, सिंगापुर र ताइपेयीको योगदान अधिक छ । कोरोना महामारीका बेलामा पनि उनीहरूको गार्हस्थ उत्पादन ऋणात्मक त गएन नै नेपालजस्ता अल्पविकसित मुलुकको दाँजोमा निकै धनात्मक रह्यो ।एशियाली बैंकका प्रमुख अर्थशास्त्री यासुकुजी सावाडा भन्नुहुन्छ, ‘कोभिडको चुनौतीका बाबजुद एशियाले आर्थिक वृद्धि गरेकै छ, तर आगामी दिन कसरी जान्छ भन्ने कुरा विश्वमा कोरोनाले कस्तो रूप लिन्छ भन्नेमा निर्भर गर्दछ ।’यसबीच, नेपालको मुद्रास्फीति यस वर्ष ६ दशमलव २ प्रतिशत रहेको, गत २०१९ मा ४ दशमलव ६ र यस २०२१ मा ५ प्रतिशत रहने पनि बैंकको प्रक्षेपण छ । यस्तै प्रकारको अवस्था दक्षिण एशियाली मुलुकहरू भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका आदिको पनि छ ।

प्रतिक्रिया दिनुहोस्