बन्दमा नागरिक



आज मुलुकका १४ जिल्लामा बन्दाबन्दी छ । बन्दाबन्दीको पीडा सामान्यतः जेलमा परेको अवस्थाजस्तै हो आम नागरिकका लागि । दैनिक ज्यालादारीमा बाँच्नुपर्ने नागरिकका लागि त यो अवस्था अभिशाप नै सावित हुन्छ । तर पनि बन्दाबन्दी अनिवार्यजस्तै भएको थियो । कोरोनाको दोस्रो लहर पैmलिंदै गएको देखिएपछि र त्यसका लागि सरकार गैरजिम्मेवार र आम नागरिक लापरबाह भएपछि बन्दको विकल्प थिएन ।

छिमेकी भारतमा पछिल्लो २४ घण्टामा करिब ४ लाख कोरोना संक्रमित थपिएका र करिब ५ हजारको मृत्यु भएको डरलाग्दो समाचारले नेपाली त्रसित हुनु स्वाभाविकै थियो । संक्रमण र मृत्युको पछिल्लो आँकडा हेर्दा नेपाल पनि भारतको नियतितर्फ धकेलिँदै गएको प्रस्ट देखिन्छ । आजसम्म ३ लाखभन्दा बढी संक्रमित र ३ हजारभन्दा बढी मृत्युको आँकडा रहेको नेपालमा पछिल्लो लहर शुरु भएपछि एकैदिन ३५ जनाको मृत्यु भएको पाइएको छ । यस्तो अवस्था आउनुमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकार सर्वाधिक दोषी देखिन्छ । प्रधानमन्त्री ओली स्वयंले कोभिडको पहिलो लहर चलिरहँदा दजनौं टेलिभिजन अन्तर्वार्तामा मास्क नलगाई बोलेका छन्, पचासौं भेला र सभाहरु गरेका छन् र दोस्रो लहरले छिमेकी भारतमा हजारौंको ज्यान लिइरहँदा ठूलो जनसमुदाय भेला पारेर राम–सीताका मूर्तिको शोभायात्रा निकालेका छन् र तयार नै नभएको धरहरा उद्घाटन गरेका छन् । बालुवाटारमा होस् वा प्रधानमन्त्री कार्यालयमा सामाजिक दूरी कायम गरेर भेला गर्नुपर्छ भन्ने सोच उनमा कत्ति पनि देखिँदैन । अभिभावक मानिने सरकारबाट यस प्रकारको लापरबाही भएपछि जनताले मास्क लगाउन अल्छी गरे भनेर दोष दिनुको के अर्थ ? यसअघि मुलुकमा राजनीतिक विखण्डनको मेला नै लाग्यो । तत्कालीन नेकपाका तीन घटक गाउँ–गाउँसम्म पुगेर एकले अर्कालाई गाली गर्न ठूल्ठूला सभा गर्दै हिँडे ।

त्यसैले कोरोना फैलाउने र नेपालीलाई अकाल मृत्युको मुखमा धकेल्ने कार्यको दोष सर्वाधिकरूपमा सरकार र एमाले तथा माओवादी केन्द्रका नेताहरुले लिनुपर्छ । सरकार अझै पनि संक्रमणको स्रोत बनेको भारतसँगको सिमाना व्यवस्थित गर्न सकिरहेको छैन भने आकाशमार्गबाट पनि भारतीय संक्रमितहरु नेपाल भित्रिरहेका छन् । नेपाल प्रवेश गरेका भारतीयहरु क्वारेन्टिनमै मरेको समाचार बाहिर आइरहेको छ । यस प्रकारको गम्भीर परिवेशमा राजधानी उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइएको छ, त्यहाँ बसोबास गर्दै आएका नागरिक रातारात गाउँ फर्केका छन् । यसरी संक्रमितहरु देशव्यापी भएका छन् । तर, सरकारसँग परीक्षण, राहत र व्यवस्थापनका लागि कुनै योजना छैन । योजना छ त केबल सरकारमा कसरी टिक्ने र विरोधी दललाई कसरी लज्जित बनाउने भन्ने खेलको ।यस अवस्थामा सरकार र राजनीतिक दलहरु कोरोनाको दोस्रो लहर शून्यतिर नलागेसम्म राजनीतिक विभाजन, आरोप–प्रत्यारोपका विषयहरु नउठाऊन्, संयुक्त संयन्त्र बनाई गाउँ–गाउँसम्म पुगेर कोरोना महामारीविरुद्ध एकीकृत ढंगले अभियान चलाउन् । दैनिक ज्याला–मजदुरीमा बाँच्ने नागरिकलाई आर्थिक अवस्था राम्रो हुनेहरुले सहयोग गरौं । महामारीविरुद्ध समानुभूतिपूर्ण बन्दै एक–आपसमा सहयोग बढाऔं । मानव सेवा नै परम धर्म हो भन्ने मनन गरौं !

प्रतिक्रिया दिनुहोस्