मन्त्रीका लागि नयाँ निवास तयार हुँदै

लकडाउनमा पनि काम नरोकिने



मधुसूदन रायमाझी, काठमाडौं

सरकारले संघीय मन्त्रीहरुका लागि सुविधा सम्पन्न निवास निर्माणको काम धमाधम अगाडि बढाएको छ । पुलचोकमा रहेको हालको मन्त्रीनिवास साँघुरो भएकाले सरकारले ललितपुरकै भैंसैपाटीको आवास क्षेत्रभित्र सुविधासम्पन्न मन्त्रीनिवासको काम अगाडि बढाएको हो ।भैंसेपाटीस्थित सैबु आवास क्षेत्रका रहेको ९६ रोपनी १२ आना क्षेत्रफलमा गुरुयोजना बनाएरै अहिले धमाधम व्यवस्थितरूपमा मन्त्रीनिवास निर्माण भइरहेको छ । शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन समन्वय आयोजना कार्यालयले नेपालकै मौलिक कला संस्कृति झल्कने गरी मन्त्रीनिवासको निर्माण गरिरहेको छ ।

मन्त्रीनिवासमा हाल डाँछी इँटा राख्ने र रंगरोगनको काम भइरहेको छ । आयोजनाले २४ वटा मन्त्रीहरुको निवास, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको निवाससँगै उपसभामुखको निवास गरी मन्त्रीनिवास परिसरभित्र २७ वटा आधुनिक भवन निर्माण गरिरहेको छ ।सरकारले २०७५ मंसिर १२ गते भैंसेपाटीमा मन्त्रीनिवास निर्माण गर्ने निर्णय गरेअनुसार १३ असोज ०७६ बाट निर्माणको काम अगाडि बढाएको थियो । तोकिएकै समयसीमाभित्र भवन निर्माणको काम सम्पन्न गर्न विशेष भवन समन्वय आयोजना कार्यालयले निर्माण व्यवसायीलाई निर्देशनसमेत दिँदै आएको छ । भैंसेपाटीस्थित ९६ रोपनी १० आना जग्गामा निर्माणाधीन मन्त्रीहरुको निवास २०७८ कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाले काम अगाडि बढाएको छ । साढे दुई तला रहेको प्रत्येक भवनहरु नेपाली परम्परागत शैलीमा निर्माण भइरहेका छन् । आवासका लागि छुटयाएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी क्षेत्र भवनले ओगट्नेछ भने ३८ रोपनी ८ आना हरियाली क्षेत्रका लागि छुट्याइएको छ । २१ रोपनी क्षेत्र आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ भने ११ रोपनीमा हेल्थ क्लब बन्नेछ ।

परिसरभित्र एक सय सवारीसाधन अटाउने पार्किङस्थलसमेत निर्माण हुनेछ ।हाल मन्त्रीनिवासमा भवन निर्माणको तीव्र गतिमा अगाडि बढिरहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलीप शेखर श्रेष्ठ बताउनुहुन्छ । उहाँले लकडाउनको अवधिमा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै निर्माणका काम नरोकिएको बताउँदै जारी लकडाउनको अवधिमा पनि मन्त्रीनिवासको काम नरोकिने गरी व्यवस्था मिलाइएको बताउनुभयो ।आयोजनाले पहिलो चरणमा मन्त्रीहरुको निवास निर्माणको काम अगाडि बढाएको छ । साथै गुरुयोजनाअनुसार बाँकी रहेका कामलाई पनि एकसाथ अगाडि बढाउने तयारी आयोजनाले गरेको छ । तोकिएकै समयभित्र काम सम्पन्न गर्ने लक्ष्यको साथ काम गरिरहेको श्रेष्ठले बताउनुभयो ।पहिलो चरणमा २७ वटा भवन, कमाउन्ड, सडक ढल र भौतिक पूर्वाधार निर्माण गरिनेछ भने दोस्रो चरणमा हरियालीपार्क, सुरक्षाकर्मी बस्ने लगायतका संरचना निर्माण गरिनेछ ।

मन्त्रीनिवासको भुँइ तलामा लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा र भान्साका सामान राख्ने कोठा रहनेछ भने भने पहिलो तलामा मन्त्री सुत्ने मुख्य कोठा, बैठक कोठा, भान्सा र डाइनिङ हुनेछ । दोस्रो तलामा दुईवटा पाहुना कोठा रहनेछ । हालसम्म मन्त्रीनिवासको पचास प्रतिशत काम सम्पन्न भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रमोद कर्माचार्य बताउनुहुन्छ । १ अर्ब ४३ करोड लागतमा निर्माण भइरहेको मन्त्रीनिवास समयमै सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । मन्त्रीनिवासको २०७६ असोज १३ गते प्रधानमन्त्री केपीशर्मा ओलीले निवासको शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्