भागेको सुमोबाट ३४ किलो गाँजा बरामद



न्युज अफ नेपाल, हेटौंडा  ।

खोलाको बगरमा फेला पारिएको सुमोबाट प्रहरीले ६ वटा पोकामा लागुऔषध गाँजा ३४ किलो बरामद गरेको छ ।

सुमोचालक पर्साको बिन्दावासिनी गापा वडा–३ बस्ने वर्ष २९ का रवीन्द्र उपाध्यायलाई लागुऔषध गाँजा र सुमोसहित नियन्त्रणमा लिइएको हो । बुधबार दिउँसो करिब सवा १२ बजे उत्तरी मकवानपुरको पालुङबाट हेटौंडानजिक भैंसेतर्फ आउँदै गरेको ना। १ ज ४७३३ नम्बर सुमोमा गाँजा लुकाइछिपाइ ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरी सक्रिय भएको थियो ।

प्रहरी चौकी भैंसेबाट प्रहरी सहायक निरीक्षक प्रभु राउतकुर्मीको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले भीमफेदी गापा वडा–२ स्थित सडकखण्डमा गाडी चेक गर्ने क्रममा सुमो रोक्न खोज्दा सुमो तीव्रगतिमा भगाइएको थियो ।

सुमोको पिछा गर्ने क्रममा भीमफेदी गापा वडा–१ को सुन्दरीमाईस्थित राप्तीखोला बगरमा फेला पारी चेक गर्दा सुमोमा लुकाइ ल्याएको ३४ किलो गाँजा फेला परेको थियो । सुमोचालक उपाध्यायलाई लागुऔषध गाँजा र सुमोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्