राजश्व सुधार कार्य योजना तर्जुमा



अमृत अर्याल, स्याङजा ।

वालिङ नगरपालिकामा राजश्व सुधार तथा कार्य योजना तर्जुमा सम्बन्धी छलफल एवं अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको सहयोगमा छलफल एवं अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाले राजश्वसम्बन्धी कार्य योजनाहरु बनाउँदा देखिएका कमी कमजोरी तथा त्रुटिहरुलाई सुधार गर्दै नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो । नगरपालिका करको दर नभई दायरा बढाउने गरी अगाडि बढ्ने बताउनुहुँदै उहाँले प्रगतिशील कर प्रणालीमा जोड दिईने धारणा राख्नुभयो । “नागरिकले तिरेको करको सही सदुपयोग गर्नुपर्छ भन्नेमा नगरपालिका सदैव सजग र सचेत छ” नगर प्रमुख खाँणले भन्नुभयो, “आँफूले तिरेको करलाई कुन कुन क्षेत्रमा प्रयोग गरियो भन्ने कुरा नागरिकले जान्न पाउने गरी पारदर्शिता देखाउन सकेमा अझै प्रभावकारी हुनेछ ।”

कार्यक्रममा उपप्रमुख एवं राजश्व परामर्श समिति संयोजक कल्पना तिवारीले वालिङ नगरपालिकामा प्रदेशमै पहिलोपटक यो छलफल तथा अन्तरक्रिया सञ्चालन गर्न पाउनु निक्कै महत्वपूर्ण र उपलब्धीमूलक रहेको बताउनुभयो । उहाँले कर प्रणालीलाई अझै ब्यवस्थित र गुणस्तरीय तरिकाले सञ्चालन गर्दै हाल भएका कमी कमजोरीहरुलाई सुधारसहित अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले करको संभावित क्षेत्र, करका क्षेत्रमा भएका असल अभ्यासहरुका बारेमा जानकारी लिनका लागि अन्तरक्रियाको आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्