कोभिड नियन्त्रणका लागि एक करोडको कोष स्थापना, निशेधाज्ञाको तयारी

धुलिखेलमा अक्सिजन र एम्बुलेन्स नि:शुल्क



मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिड नियन्त्रणका लागि धुलिखेल नगरपालिकाले १ करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले नगरबासिहरुका लागि संक्रमित भएको अवस्थामा होम आईसोलेसनमा बसी अक्सिजन प्रयोग गर्नु पर्ने अवस्थामा त्यसको ब्यवस्थापन तथा अस्पताल पुग्नु पर्ने भएमा निशुल्क एम्बुलेन्सको ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

धुलिखेल नगरपालिकामा ५० भन्दा धेरै संक्रमित भएको र संक्रमितहरुको उपचारका लागि नगरपालिकाले उक्त निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो । त्यसका अलावा धुलिखेल नगरपालिका, धुलिखेल भित्र रहेका स्वास्थ्य संस्था र नगरपालिका आफैले आईसोलेसनको ब्यवस्थापन गरी नगरबासिहरुको उपचारमा ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

‘आवश्यक परे संक्रमित ब्यक्तिहरुको थप उपचारका लागि नगरपालिकाले आवश्यक ब्यवस्थापन गर्ने र उक्त क्षेत्रमा निशेधाज्ञा, शिल तथा अन्य उपायका बारेमा तयारी अवस्थामा रहने गरी निर्णय गरेका छौं’– नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘नगरबासिहरुलाई सचेत र सजग रहन भिडभाड हुने क्षेत्रमा नजान, अन्यत्र हिडडुल गर्दा सुरक्षाका उपाय अपनाउन र विवाह, व्रतवन्ध तथा सामाजिक संस्कारमा न्युनतम मापदण्ड पालना गरी २५ जना भन्दा धेरै उपस्थित नहुन अनुरोध गरेका छौं ।’ नगरपालिकाले नगरबासिहरुको हितका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्ने गराउने र आवश्यक पुर्व तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो ।

बुधबार राति धुलिखेल ५ स्थायी घर भएका ८२ बर्षिय जेष्ठ नागरिकको उपचारको क्रममा धुलिखेल अस्पतालमा कोरोनाका कारण निधन भएको थियो । उक्त शवलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलको शव ब्यवस्थापन टोलीले विहिबार विहान आर्यघाट पुर्‍याएर फर्किएको छ । पनौती १० खोपासी घर भई काठमाडौमा उपचारार्थ निधन भएकी ५२ बर्षिया महिलाको पनि विहिबार नै राजधानीमा अन्यष्टीका लागि लगिएको छ । कालीजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले सरकारले तोकेको मापदण्ड पुरा गरी शव ब्यवस्थापनमा सेनाको टोली खटिएको जानकारी दिनु भयो ।

निशेधाज्ञाको तयारी

जिल्ला संकट ब्यवस्थापन केन्द्र काभ्रेको बैठकले स्थानीय सरकारसँगको समन्वयमा आवश्यक स्थानमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । ‘शुक्रबार दिउसो जिल्लाका स्थानीय सरकारका प्रमुखहरुलाई बैठकमा बोलाईएको छ, उक्त बैठक पछि निशेधाज्ञाका बारेमा निर्णय हुनेछ’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘जिल्लाका सबै स्थानमा भन्दा पनि आवश्यक क्षेत्र र स्थानमा निशेधाज्ञाको निर्णय गरिनेछ ।’

बैठकमा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले तत्काल जिल्लाका सम्भावित क्षेत्रहरु बनेपा, धुलिखेल, पनौती तथा आसपासका शहरी क्षेत्र, यातायात लगायतमा निशेधाज्ञा लगाउनु पर्ने बताउनु भयो । ‘स्थानीय तहले विगतमा जस्तो कोभिड नियन्त्रणमा चासो र सक्रियता देखाएका छैनन’–डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘सरकार र जिल्ला संकट ब्यवस्थापन केन्द्रले पटक पटक बैठकबाट आईसोलेसन सेन्टर बनाउन निर्देशन दिएको छ तर स्थानीय तहले मानेकै छैनन ।’ स्थानीय तहकै अटेरीका कारण दैनिक हुने भोज बढिरहेको छ । भोजमै सहभागिहरुलाई संक्रमण फैलिएको छ । एकजनाको निधन पनि भएको छ ।

धुलिखेल अस्पतालका डा. सुमन ताम्राकारले अस्पतालले १ सय बेड कोभिड १९ का विरामीहरुलाई तयारी अवस्थामा राखिएको बताउनु भयो । ४ वटा भेन्टिलेटर र २१ वटा एचडिओ सहितको तयारी भएको उहाँले बताउनु भयो । शिर मेमोरियल अस्पताल बनेपाकी डा. एन्जिला बस्नेतले शिर मेमोरियल अस्पतालमा २० शैया तयारी अवस्थामा राखिएको बताउनु भयो ।

अस्पतालमा आवश्यक पर्ने औषधी र उपकरणहरुको अभाव रहेको बताउनु भयो । कोभिड १९ को भयावह अवस्था सिर्जना भएकाले अक्सिजन लगायतका सामाग्रीको ब्यवस्थापनका लागि डा. एन्जिलाले अनुरोध गर्नु भयो । कोभिडकै महामारीका बीच राष्ट्रिय परिचयपत्र, जनगणनाका कार्यक्रम जारी छन् । केहि स्थानीय पालिकाहरुमा विद्यालय सञ्चालन भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्