वीरगन्जमा निःशुल्क अक्सिजन बैंक



कृष्णउदास खनाल, वीरगन्ज

कोभिड–१९ का कारण अप्ठेरोमा परेका नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन बैंक स्थापना भएको छ । वीरगन्ज महानगरपालिका र सम्पूर्ण लायन्स क्लब अफ वीरगन्ज, जितपुर सिमरा, कलैया र गन्जभवानीपसरको साझेदारीमा वीरगन्जमा बुधबारबाट निःशुल्क अक्सिजन वितरण गरिन थालिएको हो ।

वीरगन्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा बसोबास गर्ने नागरिकको जीवन रक्षाका लागि निःशुल्करूपमा अक्सिजन वितरण गरिएको नगर प्रमुख विजयकुमार सरावगीले बताउनुभयो । संक्रमित भई होम आइसोलेसनमा उपचार गराइरहेका नागरिकको जीवन रक्षाका बैंक स्थापना गरिएको लायन्स क्लब अफ वीरगन्जका संयोजक अनुप अग्रवालले बताउनुभयो । बिरामीका लागि आवश्यक पर्ने औषधि, अक्सिजन र त्यसमा लाग्ने कीटसमेत निःशुल्करूपमा वीरगन्ज महानगरपालिका कार्यालयमा स्थापना गरिएको अक्सिजन बैकबाट वितरण गरिएको उहाँले बताउनुभयो ।

अक्सिजन प्रयोगपछि पुनः वीरगन्ज महानगरपालिकाको अक्सिजन बंैकमा खाली सिलिन्डर फिर्ता गर्नुपर्ने सर्त राखेर बिरामीका लागि अक्सिजन वितरण गरिने लायन्स क्लबका पूर्वकाउन्सिलर चेयरम्यान रमेश अग्रवालले जानकारी दिनुभयो ।वीरगन्ज महानगरपालिकालाई रिफिलिङको चार्ज मात्रै लिने गरी वीरगन्ज हेल्थ केयर हस्पिटलले १ सय ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्