संक्रमित नर्स नै बिरामीको उपचारमा



कुमार श्रेष्ठ, बाँके

भेरी अस्पताल, नेपालगन्जको कोरोना वार्डकी स्टाफ नर्स कमला नेपाली आफैं कोरोना संक्रमित हुनुहुन्छ । संक्रमणका बाबजुद स्टाफ नर्स कमला अरू संक्रमितको सेवामा खटिरहनुभएको छ । कोरोना संक्रमितलाई पोसिलो खानेकुरा खाँदै आइसोलेसनमा बस्न चिकित्सकहरु नै सल्लाह दिन्छन् । तर, स्टाफ नर्स कमलालाई त्यस्तो फुर्सद छैन ।

स्टाफ नर्स कमला भन्नुहुन्छ– ‘छाती दुख्छ । केहीबेर बेडमा आराम गर्छु । फेरि बिरामीको उपचारमा खटिन्छु ।’ कोरोना बिरामीको मृत्यु भएको देख्दा स्टाफ नर्स नेपालीको मन चसक्क हुन्छ । भन्नुहुन्छ– ‘योङ मान्छेको पनि मृत्यु भइरहेको छ । मलाई त्यो देख्दा रुन मन लाग्छ । के गर्नु, देखिने गरी रुनु भएन ।’भेरी अस्पतालमा जनशक्तिको कमी हुँदा संक्रमित स्वास्थ्यकर्मी पनि उपचारमा खटिनुपरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले चिकित्सक र नर्ससहित ७३ जना संक्रमित भएको जानकारी दिनुभयो ।

अस्पतालका अनुसार वैशाख १ गतेयता नर्सिङ कर्मचारी ३३ जना, चिकित्सक ८ जना, प्यारामेडिक्स (एचए÷अहेव) ८ जना, प्रशासन सम्बद्ध २ जना संक्रमित भएका छन् ।मेसु डा. थापाले स्वास्थ्यकर्मी आफैं संक्रमित भएर पनि अरु बिरामीको उपचारमा खटिएको बताउनुभयो । मेसु डा. थापाले भन्नुभयो– ‘विकल्प नै नभएपछि संक्रमित नर्सलाई नै बिरामीको उपचारमा खटाउनुपरेको छ ।’भेरीमा कोरोना बिरामीका लागि १ सय ४२ बेड छुट्याइएको थियो । त्यसलाई बढाइएको छ । अहिले त्यहाँ २ सय १२ जना बिरामी छन् । बेड बढ्दै जाने, स्वास्थ्यकर्मी नबढ्ने र भएका पनि संक्रमित भएपछि समस्या भएको छ । ५ जना स्टाफ नर्सले सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ ।वैशाख १३ गते भेरीले जनशक्ति करारमा नियुक्ति गर्ने अधिकार पाएको छ । अस्पतालले ६० जना कर्मचारी आह्वान गरेको छ । अस्पतालले एनेस्थेसियोलोजिस्ट तीन जना, मेडिकल अधिकृत १० जना, नर्सिङ अधिकृत दुई जना, ल्याब टेक्निसियन ५ जना र स्टाफ नर्स ४० जना करारमा माग गरेको छ ।

अस्पताल विकास समितिका सदस्य धनीराम वलीले तीन दिनभित्रै कर्मचारी नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाएको बताउनुभयोे । उहाँले भन्नुभयो– ‘बिहीबारसम्ममा कति निवेदन आउँछ, हेर्छौं र नियुक्ति प्रक्रिया अघि बढाउँछौं ।’
मृतक संख्या सय नाघ्योबाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ । गत वर्ष जेठ ३ गते नरैनापुरका २५ वर्षीय अनिश अन्सारीको मृत्युदेखि बुधबार मृत्यु भएका नेपालगन्ज उपमहानगरपालिका–१३ का ६१ वर्षीय पुरुषको मृत्युसम्म आइपुग्दा १ सय १ पुगेको हो ।बाँकेमा गत वर्ष वैशाख १९ गते नेपालगन्ज–५ का ६० वर्षीय व्यक्तिलाई पहिलोपटक कोरोना पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म जिल्लामा ८ हजार बढी संक्रमित भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले गए रातिदेखि बुधबार अपराह्न सवा ५ बजेसम्ममा चार जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार

नेपालगन्ज उपमहानगरपालिकाले ५० बेडको अक्सिजन सुविधासहितको आइसोलेसन केन्द्र तयार पारेको छ । नेपालगन्जको रामलीला मैदानस्थित तालिम केन्द्रमा उपमहानगरपालिकाले अक्सिजन सुविधासहितको आइसोलेसन केन्द्र तयार पारेको हो । नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख उमा थापा मगरले बिहीबारदेखि नै कोभिडका बिरामीको उपचार शुरु गरिने बताउनुभयो ।

भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन केन्द्र सञ्चालन गर्न लागेको कार्यवाहक नगरप्रमुख थापा मगरले जानकारी दिनुभयो ।कार्यवाहक नगरप्रमुख उमा थापा मगर, वडा नम्बर २ का वडाध्यक्ष सुनीलसिंह हमाल, भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापा र डा. बद्री चापागार्इंले बुधबार आइसोलेसन केन्द्रको निरीक्षण गरेका छन् । भेरीका मेसु डा. थापाले आइसोलेसन केन्द्र सुविधा सम्पन्न रहेकाले सञ्चालन आउनेबित्तिकै भेरी अस्पतालको चाप कम हुने बताउनुभयो ।नेपालगन्ज उपमहानगरपालिकाले सामान्य बिरामीका लागि ह्वाइट हाउसमा समेत आइसोलेसन केन्द्र सञ्चालन गरिरहेको छ । यसैबीच भेरी अस्पताल, नेपालगन्जमा बुधबार २ सय ३३ जना संक्रमित थपिएका छन् ।

अस्पतालले वैशाख १३ गते लिएको स्वाबको रिपोर्ट बुधबार सार्वजनिक गरेको हो । अस्पतालका अनुसार २ सय ८८ जनाको पीसीआर जाँच गर्दा २ सय ३३ जनामा संक्रमित भएका छन् । यो तथ्यांकबाट पोजिटिभ रेट ८०.९ प्रतिशत हुन आउँछ । २ सय ३३ जनामा १ सय ३९ पुरुष र ९४ जना महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्