संक्रमण रोकथाममा प्रहरीको सक्रियता



काठमाडौं, (नेस)

कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा सञ्चालित ४ सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका छन् ।

कोभिड–१९ को संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रूपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरेको छ । अभियानको क्रममा पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ४७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । मास्क नलगाई हिँडडुल गर्ने ३० हजार ८ सय ८३ जनालाई होल्डिङ जोनमा राखी सम्झाई बुझाई छाडिएको छ ।तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार २ सय ७१ जनालाई संक्रामक रोग ऐन–२०२० बमोजिम जरिवाना गरिएको छ । साथै मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोधसमेत गरेको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारीसाधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्