थपिँदै तीन मन्त्री र सात राज्यमन्त्री



नेपाल समाचारपत्र, हेटौंडा

वागमती प्रदेशमा रिक्त रहेको मन्त्रिपरिषद् बिस्तार गर्ने चटारो शुरू भएको छ । मौजुदा मन्त्रीसमेत रहेका मन्त्रालयहरूमा राज्यमन्त्रीका लागि आन्तरिकरूपमा कोठा व्यवस्थापन शुरू भएपछि यस्तो संकेत मिलेको हो ।प्रदेशमा रिक्त रहेका तीन मन्त्री र सात जना राज्यमन्त्री नियुक्त गर्ने गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । मन्त्रालयमा रहेको मन्त्रीको कार्यकक्षमा गोप्य कोठालाई हटाएर राज्यमन्त्रीका लागि कोठा, फर्निचर, कुर्सी र टेबुल व्यवस्थापन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा राज्यमन्त्रीलाई छुट्टै कोठा र फर्निचर व्यवस्थापन गर्न कर्मचारी लागेका छन् ।यही साता मन्त्रिपरिषद् बिस्तारका लागि मुख्यमन्त्रीले पार्टीको सम्बन्धित ठाउँमा छलफल गरिरहेको र आगामी शुक्रबारसम्म बिस्तार हुने सम्भावना रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।तीन मन्त्रीले राजीनामा दिएपछि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटै मन्त्रालय सम्हाल्दै आउनुभएको छ । तीनवटै मन्त्रालयले नयाँ मन्त्री पाउने भएका हुन् । प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिनुभएको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिनुभएको हो ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेकै माधव नेपाल पक्षीय सांसदहरूले नाम फिर्ता लिएपछि ढुक्क बनेको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको हो । पार्टीभित्र रहेर अन्तरसंघर्षको नीति लिनुभएका माधव पक्षीय एमाले सांसदहरू अब हुने मन्त्रिपरिषद् बिस्तार र संसदीय दलको पदाधिकारीमा भने सहभागी नहुने प्रायः निश्चित छ ।माधव पक्षका २२ सांसदले वागमती प्रदेशसभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् । एमालेका माधव पक्षका २२ सांसद र माओवादी केन्द्रका २३ सांसदसमेत ४५ सांसदले मुख्यमन्त्रीविरुद्ध पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराउनुभएको थियो । नेकपा माओवादीका सांसदहरूले भने अविश्वास प्रस्ताव फिर्ता लिनुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्