कोलकाताको चार हारपछि पहिलो जित



नयाँ दिल्ली, (एजेन्सी) 

कोलकाता नाइट राइडर्सले जारी आईपीएल २०२१ मा लगातार चार हारपछि पहिलो जित दर्ता गरेको छ । जारी सिजनको आईपीएलअन्तर्गत २१ औं खेलमा कोलकाताले पन्जाब किंग्सलाई ५ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ९ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । यसको जवाफमा कोलकाताले ५ विकेटको नोक्सानीमा १६.४ ओभरमा १ सय २६ रन बनाएर जित दर्ता गरेको थियो ।

पन्जाबको ब्याटिङ ‘फ्लप सो’ जस्तै चलेको थियो । मयंक अग्रवालले सर्वाधिक ३१ रन जोडे भने क्रिस जोर्डनले ३० रन बनाएका थिए । जोर्डनले १८ बलमा विस्फोटक ब्याटिङ गर्दै टिमको स्कोर सय कटाएका थिए । पन्जाबका कप्तान लोकेश राहुल र निकोलास पुरण नचल्नु नै टिमले बलियो स्कोर बनाउन असफल भएको थियो । दुवैले १९–१९ रनको योगदान दिएका थिए । यस्तै फर्ममा रहेका दीपक हुड्डा १ रनमै पभेलियन फर्के भने क्रिस गेल ३ रन बनाएर आउट हुनपुगेका थिए ।कोलकाताको तर्फबाट प्रसिद्ध कृष्णाले सर्वाधिक ३ विकेट लिएका थिए । उनले दीपक, शाहरूख र जोर्डनको विकेट लिएका थिए । त्यस्तै स्पिनर सुनील नारान र फास्टबलर पेट कमिन्सले २÷२ विकेट हात पारेका थिए । शिवम् माभी र वरुण चक्रवर्तीले एक–एक विकेट हासिल गरेका थिए ।

कोलकातालाई जित दिलाउन कप्तान आयन मोर्गान र राहुल त्रिपाठीले शानदार ब्याटिङ गरेका थिए । मोगार्नले ४० बलको सामना गर्दै नटआउट भएर ४७ रन जोडे । यस्तै राहुलले ३२ बलमा ४१ रन जोडेका थिए । कोलकाताको शुरूवात राम्रो भएको थिएन । नीतिश राणा बिना खातामा पभेलियन फर्केका थिए । उनलाई मोइसेस हेनरिक्सले आउट गरेका थिए । यसपछि मोहम्मद शामीले शुभमन गिल (९ रन) को विकेट लिएर कोलकातालाई दोस्रो झट्का दिएका थिए ।८ रन जोडेपछि कोलकाताले तेस्रो विकेट गुमाएको थियो । अर्शदीप सिंहले सुनील नारानलाई शून्यमै आउट गरेका थिए । यसपछि मोर्गान र राहुलले ब्याटिङ सम्हालेर जिततिर अग्रसर गराए । दुवैले चौथो विकेटका लागि ४८ बलमा ६६ रनको साझेदारी गरेका थिए । ८३ रनसम्म पु¥याउँदा राहुलको विकेट पतन भएको थियो । उनलाई दीपकले आउट गरेका थिए ।

९८ रनमा पुग्दा आन्द्रे रसेल पनि १० रन जोडेर आउट भएका थिए । अन्ततः मोर्गान र दिनेश कार्तिकले थप विकेट पतन हुन नदिई कोलकातालाई जित दिलाएका थिए । दुवैले पन्जाबको खेलमा फर्कने आशालाई लत्याइदिएका थिए । दिनेश १२ रन नटआउट रहेका थिए । पन्जाबका बलरमा हेनरिक्स, शामी, अर्शदीप र दीपकले एक–एक विकेट लिएका थिए । उक्त कम स्कोरको खेलमा अर्शदीप र दीपक निकै महँगो बलर सावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्