कथा : कोरोना र शिक्षा



लुना घिमिरे (काफ्ले) ।

धेरै समयदेखि निरास देखिएकी रमिताको अनुहारमा एक महिना जति भएको थियो खुसी छाउन थालेको। रमिताको अनुहारमा बल्ल विद्यालय गएर पढ्न पाएकोमा खुशीको झल्किन थालेको थियो ।

कक्षा चलिरहेको थियो,सबै जना पढिरहेका थिए।अचानक कक्षामा सूचना आयो, भोलि बाट स्कुल अनिश्चितकालिन बन्द भनेर।“सबै विद्यार्थीले खुसी हुँदै ताली बजाए, तर रमिता भने एक्कासि बेहोस भइन्।सबै जना अत्तालिए, डराए उनलाई उठाएर अस्पताल लग्यौं।केही समयपछि उनको होस आयो।होसमा आएपछि उनी त झन् डराउन थालिन्।किन डराएकी रमिता? नडराई भन के भयो? उनी त झन न्चिच्याउन पो थालिन् –अब फेरि लक डाउन…लक डाउन…. नाइ भन्दै रुन थालिन्।आजसम्म नरोएकी रमिताकाे आंखामा अंँसु देखेर म छक्क परे।उनको आंसुले नै भनिरहेको थियो उनी निकै ठूलो समस्यामा छिन्।

बिस्तारै उनलाई सम्झाउदै भने–रमिता तिम्रो मनको कुरा भन, यसरी डराउने गरी के भएको छ तिमीलाई ? उनी भन्न थालिन अह, म्याम्म भन्न सक्दिन यो कुरा । निक्कै कर गरेपछि मात्रै उनले भन्न थालिन, म्याम, गत सालको लक डाउनमा मेरो बाबाले विदेशबाट पैसा पठाउन सक्नु भएको थिएन।ममिको पनि व्यापार बन्द भयो।लक डाउन भएको केही दिनपछि स्कुलबाट फोन आयो,भोलिबाट अनलाइन कक्षाहुन्छ भनेर।अनलाइन कक्षा लिन मसग मोबाइल, ल्यापटप थिएन।सबै साथीहरूले पढ्न थाले।ममिको मोबाइल सादा थियो,त्यसबाट कक्षा लिन मिलेन।मैले ममिसँग झगडा गरे पटक पटक स्कुलबाट फोन आइरहेको थियो।

मैले ल्यापटप जसरी भए पनि चाहिन्छ भनेर ममिलाई घुर्कि लगाएर खाना पनि खान छोडिदिए।एक दिन मलाई मामिले ल्यापटप ल्याइ दिनुभयो। म खुसी हुंदै पढ्न थाले तर ममि भने खुसी हुन सक्नु भएन।ल्यापटप ल्याएको दिन देखि उहाको आखामा आसु आइरहन्थ्यो, मैले देखेर कैयौं पटक सोधे पनि केही होइन भन्नुहुन्थ्यो ।एक दिन राति मलाई एक्कासि ज्वरो आयो। म ममि भन्दै चिच्याउदै उठें।कोठामा ममि लाई देखिन र म रोए कराए अनि मामु लाई खोज्दै घरपेटीकोमा गए।त्यहा ममि घरपेटी अंकलसंग एउटै पलङमा सुतिरहनु भएको थियो ।मलाई देखेर हतार हतार उठेर आउन खोज्नुभयो तर मलाई अंकलले ढोकाबाट निकाल्दै मेरो पैसा लिएर नतिरी भाग्न खोज्छेस भन्दै मामुलाई तानेर चुक्कुल लागाउनु भयो।म त्यो रात कति रोए,म बिरामी पर्दा पनि मामुले छोडेको देखेर।मलाई मामुदेखि घृणा लागेर आयो।मैंले बाबालाई फोन गरेर सबै कुरा सुनाए।

त्यस दिनबाट म मामुसंग बोल्न छोडे।मामुले भन्नुभयो,“छोरी तिमी म संग नबोले न बोल,छोरी तिमीलाई नै ल्यापटप किन्नको लागि पैसा लिएको थिए यस्तो काम गर्न बाध्य भए छोरी,मेरो लागि तिम्रो खुसी भन्दा ठुलो अरू देखिन।“छोरी,तिमीले पढ्नु पर्छ भन्दै मामु रूनुभयो।मामुको कुरा सुनेर मलाई ल्यापटप देखि पनि रिस उठ्यो र यहि किन्नका लागि मामुलेआफ्नो शरिर नै बेच्नु पर्यो भनेर मैले ल्यापटप नै फुटाइदिए।त्यस पछि मैले पढ्न पनि छोडी दिए।लक डाउन खुलेपछि बाबा नेपाल आउनुभयो।मैले मामुको कुनै गल्ती छैन भने तर बाबाले विश्वास गर्नु भएन र मामुलाई डिभोर्स दिनुभयो। बल्लबल्ल स्कुल लागेर म जसोतसो पढ्न थालेकी थिए।

पहिले त मलाई स्कुलमा छात्रवृत्ति दिएको थियो र पढ्दै थिए अब स्कुल लाग्यो पढ्न पाइन्छ भनेर म कति खुसी थिए म्याम्, अब म कसरी पढ्नु ? मेरो मामुलाई त्यस घरबाट कसरी निकाल्नु ? म संगफेरि ल्यापटप किन्ने पैसा छैन म्याम।बिन्ती छ मलाई स्कुलमै पढ्ने व्यवस्था मिलाईदिनुहोस म्याम।के हो यो कोरोना? अनि किन स्कुल मात्रै बन्द गरेको? के स्कुलमा मात्र कोराना लाग्छ र? कसैले पनि कोरोना कस्तो रोग हो,भन्दा उत्तर दिनुहुन्न म्याम।हामी जस्तालाई वर्वाद बनाउनलाई मात्र आएको रहेछ यो रोग त ।

उनको कुरा सुनेर मेरो मुखबाट कुनै शब्द निस्कन सकेन विचरा १२ वर्षकी बालिका जसले खेल्ने , खाने रमाउने यो उमेरमा कति पीडा लुकाएर बसेकी रहिछिन्।यत्तिकैमा उनकी मामु आइपुग्नुभो उनलाई मामुसंग पठाएर म पनि फर्के।भोलिबाट अनलाइन कक्षा पढाउने भन्ने, सरकारबाट निर्देशन आएको छ । छ तर रमिता जस्ता बालबालिकाहरूको लागि कसरी पढाउने भन्ने विषयमा कहिले आउनेछ निर्देशन? कोरोना संक्रमितको दैनिक तथ्यांक अपडेट गरे जस्तै रमिता जस्ता बालबालिकाको पनि तथ्याङ्क कहिले होला सरकार ??

प्रतिक्रिया दिनुहोस्