रुपन्देहीमा बैशाख १६ देखि निषेधाज्ञा गर्ने प्रशासनको निर्णय



यमलाल भुसाल, बुटवल ।

संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञालगाउने निर्णय गरेको छ । रुपन्देही प्रशासनले बैशाख १६ गते देखि जिल्लामा निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनु भयो । दैनिक संक्रमित दर र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले निषेधाज्ञा लगाउन परेको जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान  तामाङले मंगलबार स्थानीय तहका प्रमुखहरु, व्यवसायी र सञ्चारकर्मीहरुसँगको छलफलपछि निषेधाज्ञा लगाउने निर्णय गरिएको बताउनु भयो ।

पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने गरी संघ सरकारले अधिकार दिएको छ । संघ सरकारले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउन भनेको छ।

काठमाडौंमा वैशाख १६ देखि निषेधाज्ञा लगाउने निर्णय भएकाले १६ गतेसम्म रुपन्देही आउने र अन्य जिल्लामा जानका लागि रुपन्देही आउनेहरुलाई अन्य जिल्ला प्रवेश दिएर निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

बेलहिया नाकामा आउनेहरुमध्ये दैनिक ७–१० जनासम्ममा एन्टिजेन पोजेटिभ देखिएको छ। तीमध्ये अधिकांशलाई घरमा गएर क्वारेन्टिन बस्न, आइसोलेशन जान र सुरक्षित रहन सुझाव दिएर पठाइन्छ।

केही होल्डिङ सेन्टरमै बस्ने भनेर भाग्ने गरेका छन्। सीमामा कडाईका साथ नियमन गर्न र सरकारले तोकेका सबै मापदण्डको पालना गर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो । उहाँले सीमा नाकाको चेकजाँचलाई अरु प्रभावकारी बनाउने बताउनु भयो ।

रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ । सोमबार २ सय ६३ जना थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको हो । जसमध्ये सबैभन्दा धेरै बुटवलमा छन्। रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्