पर्सामा एकसाता निषेधाज्ञा



कृष्णउदास खनाल, वीरगन्ज । 

पर्सा जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ । मंगलबार बसेको जिल्ला स्तरीय कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले पर्सा जिल्लाभर पर्सी बिहीबार बिहान ४ बजेदेखि बैशाख २२ गते मध्यरात १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो ।

कोरोना संक्रमितको दर वीरगन्जमा तीब्र रुपमा फैलिएका कारण पनि एक हप्ता निषेधाज्ञा लगाउन सिफारिस गरिएको हो । यही सिफारिसका आधारमा अब प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सार्वजनिक सूचना जारी गरी निषेधाज्ञा जारी गर्नुहुनेछ । आजैको जिल्ला स्तरीय कोभिड संकट ब्यवस्थापन केन्द्रले बिभिन्न १० वटा समेत निर्णय गरेको छ ।

बिदेशबाट आएका नागरिकहरुहरुलाई प्रत्येक पालिकाहरुले आइसोलेशन वा होम आइसोलेशनमा कम्तीमा दशदिन राख्नुपर्ने,सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरु राख्नका लागि वीरगन्जको ठाकुरराम क्याम्पसलाई होण्डिङ्ग सेन्टर बनाउने र यसका लागि प्रदेश सरकार सहित संघसंस्थाहरुसँग सहयोगका लागि अनुरोध गर्ने,दुई सय बेडको अस्पताल निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने,वीरगन्जको नेशनल मेडिकल कलेजलाई सरकारले तोकेको मापदण्डमा रही कोरोना संक्रमतिको उपचार गर्न,गराउन लगाउने लगायतका निर्णय भएको छ ।

नारायणी अस्पतालमा कार्यरत डाक्टरहरु बिजयनन्दन कुमार चौरसिया,नबीन कुमार कुशवाहा,बिकास कुमार यादव,आनन्ध कुमार चौरसिया,सोयब अंसारी र प्रतीमा जैसवालको करार संझौता थप गराउने बिषयमा पनि बैठकले निर्णय गरेको छ । अस्पताल बिकास समितिको तर्फबाट कोरोनाका लागि उनीहरु खटिरहेका कारण उनीहरुको करार संझौता थप गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्