मुटु उपचारमा आशाको केन्द्र गंगालाल



लक्ष्मण अधिकारी

निजी क्षेत्रको स्वास्थ्य सेवा महँगो र सरकारी स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको आम गुनासोबीच शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले तुलनात्मकरुपमा गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउँदै आफ्नो फरक पहिचान बनाउँदै छ । मुटुरोगको उपचारका लागि स्थापित यो अस्पतालले हाल मुलुकभरका अस्पतालहरुबाट यससम्बन्धी उपचारका लागि बिरामी सिफारिस भई आउने केन्द्रीय अस्पतालको भूमिका निर्वाह गरिरहेको छ । यसले गर्दा मुटुरोगको उपचारका लागि निजी क्षेत्रका महँगा अस्पतालको भर पर्नुपर्ने वा विदेश नै जानुपर्ने अवस्थालाई धेरै हदसम्म अन्त्य गरिदिएको छ । तीव्र शहरीकरण, खानपान र जीवनशैलीमा परिवर्तन तथा वातावरणीय प्रदूषणका कारण मुटुरोग बढ्दै गई हाल विश्वमै मानव मृत्युको प्रमुख कारण बनिरहेको सन्दर्भमा मुलुकमा रेफरल स्तरको एउटा मात्र सरकारी मुटु अस्पताल हुनु पर्याप्त मान्न सकिन्न तर मुटुरोगको उपचारमा अहिले यही अस्पताल नै प्रमुख आशाको केन्द्र बनेको देखिन्छ ।

२०५२ सालमा स्थापना भएको यो अस्पताल हाल २३९ शैय्या क्षमतामा सञ्चालन भइरहेको छ । आरम्भमा मुटुरोगसम्बन्धी सामान्य उपचारबाट सेवा शुरु गरेको गंगालालले हाल अत्याधुनिक औजार र दक्ष जनशक्तिसहित मुटुरोगसम्बन्धी विभिन्न किसिमको विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएकोले पनि यससम्बन्धी आम बिरामीहरुको पहिलो गन्तव्य गंगालाल हुने गरेको देखिन्छ ।

मुटुरोगको निदान र उपचारका लागि उच्चस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थापित यस अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी भन्नुहुन्छ, ‘संस्थाको उद्देश्य अनुरुपको सेवा उपलब्ध गराउँदै गंगालालले नेपालमा मुटुसम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने एक नम्बरको संस्थाका रुपमा आफूलाई स्थापित गरिसकेको छ । मुटुरोगसँग सम्बन्धित लगभग सबै किसिमका रोगहरुको निदानका लागि यस केन्द्रमा सम्भव छ ।

त्यस्तै मुटुरोगको अधिकांश उपचार सेवा पनि यहाँ सम्भव छ । केही नवीनतम् प्रविधि नीतिगत, कानुनी र व्यावहारिक कारणले गर्दा भित्र्याउन नसकिएको मात्र हो । जस्तो कि मुटुको एउटा भल्भ (Aortic valve) काम नलाग्ने भई कृत्रिम भल्भ फेर्नुपर्ने अवस्थामा अहिले अपरेसन नगरी फेर्न सकिने प्रविधि विश्वमा आइसकेको छ । तर महँगो भएकोले गरिबहरुले सेवा लिन सक्तैनन् भने धनीहरु विदेश गइदिन्छन् । अरु पक्षबाट हुनुपर्ने यस किसिमका कार्यहरु भइदिने हो भने हाल गंगालालमा मुटुको उपचारका सम्बन्धमा गर्न नसकिने केही नै छैन भन्दा पनि हुन्छ ।’ गंगालाल अस्पताल स्थापना भएको करिब २५ वर्ष पूरा भइसकेको छ । यस अवधिमा अस्पतालले १९ लाखभन्दा बढी विरामीलाई बहिरंग सेवा दिनुका साथै ८० हजारभन्दा बढी बिरामीको विभिन्न खालका क्याथ प्रोस्युडर्स (Cath Procedures) र २५ हजारभन्दा बढी विरामीको मुटुको शल्यक्रिया गरिसकेको छ ।

गंगालालले नेपालमा मुटुसम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने एक नम्बरको संस्थाका रुपमा आफूलाई स्थापित गरिसकेको छ ।

– डा. चन्द्रमणि अधिकार

मुटु प्रत्यारोपण गर्न सकिएला ?

डा. चन्द्रमणि भन्नुहुन्छ, ‘जनशक्तिको हिसाबले भन्ने हो भने गंगालाल हृदय केन्द्रमा मुटु प्रत्यारोपण गर्न असम्भव नै चाहिँ छैन तर कानुनी, आर्थिक तथा अन्य व्यावहारिक कारणले गर्दा मुटु प्रत्यारोपण शुरु गर्न विभिन्न जटिलताहरु छन् । पहिला त कानुन नै बन्नुपर्‍यो । स्वस्थ मानिसको एउटा मिर्गौला, त्यस्तै कलेजोको टुक्रा काटेर बिरामीलाई प्रत्यारोपण गर्न सहज छ । यस्तो अंग दिएर पनि अंगदाता स्वस्थ रहन सक्छन् । त्यसको तुलनामा मुटु दान तथा प्रत्यारोपण निकै जटिल र खर्चिलो छ । मिर्गौला, कलेजो प्रत्यारोपणजस्तै मुटु प्रत्यारोपणका लागि जीवित व्यक्तिले अंग दान गर्न सक्तैनन् । मुटु प्रत्यारोपणका लागि दुर्घटना आदि भई ब्रेन डेथ भएर मृत्यु घोषणा भइसकेको व्यक्तिको मुटु निकाल्ने गरिन्छ । यस्तो मुटु बिरामीका लागि प्रत्यारोपण गर्न मिल्ने हुनुपर्छ र मुटु दान गर्न पनि तयार हुनुपर्छ ।

मुटु प्रत्यारोपणका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न ठूलो खर्च लाग्छ । यस्तो पूर्वाधारबाट धेरै बिरामीलाई सेवा दिन सकिने अवस्था भयो भने मात्र लगानीको औचित्य हुन्छ । मुटु प्रत्यारोपणमा ठूलो खर्च लाग्ने भएकोले गरिब मानिसले उपचारै गर्न नसक्ने स्थिति हुन्छ भने धनी मानिस विदेश जाने स्थिति छ । मुटु प्रत्यारोपण गर्ने बिरामीले प्रत्यारोपणपछि लामो समयसम्म महँगो औषधि खानुपर्ने हुन्छ । सामान्य आर्थिक स्थितिको मानिसलाई यस्तो औषधि निरन्तर सेवन गर्न निकै कठिन हुन्छ ।

त्यसकारणले नेपालमा मुटु प्रत्यारोपणको सेवा सञ्चालन अहिले नै त्यति व्यावहारिक होलाजस्तो लाग्दैन । त्यसैले बरु आममानिसको चासो र सरोकारको सेवालाई बढी प्राथमिकता दिनु नै उचित हन्छ भन्ने लाग्छ ।’

झोलामा कृत्रिम मुटु बोकेर बाँचिरहेकी बेलायती महिला

कृत्रिम मुटुको सम्भावना ?

मुटु प्रत्यारोपण सेवा सञ्चालन गरिरहेका विकसित देशहरुमा पनि बिरामीले मुटु फेल हुँदै गई प्रत्यारोपण गर्नुपर्ने अवस्था आउनासाथ प्रत्यारोपण गरिहाल्ने अवसर भने पाउँदैनन् । पैसा तिर्न सक्नेले पनि मुटु दाताको अभाव वा मिल्ने किसिमको मुटु नपाउँदा कि त मृत्यु नै स्वीकार गर्न विवश हुन्छन्, कि त अस्थायी प्रयोजनका लागि कृत्रिम मुटु (LVAD) राख्नुपर्ने हुन्छ । यो सेवा मुटु प्रत्यारोपणभन्दा केही सहज र कम खर्चिलो त छ तर सस्तोचाहिँ होइन । यस्तो कृत्रिम मुटु शरीरबाहिर राख्ने गरिन्छ र यो कृत्रिम मुटुले केही वर्ष काम गर्छ । यसले गर्दा सक्षम बिरामीले मिल्ने किसिमको मुटु दिन इच्छुक दाताको खोजी गरी प्रत्यारोपण गर्ने अवसर पाउन सक्छन् । यस्तो कृत्रिम मुटु बिरामीले सधैँ आफूसँगै झोलामा बोकेर हिँड्ने गर्छन् ।

यस्तो किसिमको कृत्रिम मुटु (LVAD)राख्नचाहिँ नेपालमा सम्भावना कत्तिको छ त ? गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारी भन्नुहुन्छ, ‘कृत्रिम मुटु शरीरबाहिर राखेर मुटुको काम गराउने कार्य गर्न नसकिने होइन । यसको लागि मुख्य चुनौती भनेको आर्थिक व्ययभार नै हो । मानिसहरुको आर्थिक क्षमता सुदृढ भएको अवस्थामा यो सेवा सञ्चालन गर्न पनि सम्भव हुन्छ ।’

‘स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि भित्र्याउनका लागि एउटा प्रमुख समस्या भनेको नै आर्थिक हो । अहिले अरु किसिमका ठूलो अपरेसन गर्नुपर्दा खासगरी धनी मानिसहरु भारत नै जाने गरेको देखिन्छ । यसले गर्दा हामीले यहाँ नयाँ तथा महँगा प्रविधिमा आधारित सेवा सञ्चालन गर्न कठिन हुन्छ । हामीले यहीँ गर्न सकिन्छ भने पनि धनी मानिसहरु भारत गइदिन्छन् । अनि हाम्रो ठूलो लगानी खेर जान सक्छ । अहिले नै पनि यहीँ गर्न सकिने कतिपय उपचारका लागि धनी तथा माथिल्लो पदमा पुगिसकेकाहरु बाहिर गएको देखिन्छ ।

मुटुको प्वाल टाल्ने काम शुरुमा भारतबाट चिकित्सकहरु बोलाएर संयुक्तरुपमा गरिन्थ्यो, अहिले आफैंले गरिरहेका छौँ । शुरुका अवस्थामा केही बिरामीलाई पछि बोलाउँछौँ भनेर पर्खाइन्थ्यो तर उहाँहरु भारत गएर उपचार गर्नुहुन्थ्यो । अहिले हामी दैनिक यो अपरेसन गर्छौं र कुनै बिरामीलाई पर्खाउँदैनौँ । तर पनि केही बिरामीचाहिँ अहिले पनि भारत जाने गर्छन् ।’

विभिन्न कारणले केही अति महँगा सेवा तत्कालै सञ्चालन गर्न कठिनाइ भए पनि कानुनी र अन्य हिसाबले व्यावहारिक भएका सेवाहरुचाहिँ केन्द्रले थप्दै लगेको डा. अधिकारी बताउनुहुन्छ । उहाँका अनुसार सो केन्द्रले कार्डियाक एमआरआई मेसिनको सेवा निकट भविष्यमा सञ्चालन गर्ने तयारी छ, जुन हाल नेपालमा उपलब्ध छैन ।

साथै सो केन्द्रले ‘स्पोर्टस कार्डियोलोजी’ अर्थात् खेलाडीहरुको मुटुको स्थिति के छ भनेर पत्ता लगाउने छुट्टै नयाँ विधाको विकास गर्न पनि लागिरहेको जानकारी उहाँले दिनुभएको छ । उहाँका अनुसार यसका लागि एन्फासँग लिखित समझदारीसमेत भइसकेको छ । यो सेवा सञ्चालन भएपछि खेलाडीहरुको मुटुरोगको अवस्था थाहा पाउने स्थिति हुन्छ । कतिपय खेलाडीले खेल्नुअगाडि नै मुटुको अवस्था जाँचेको हुनुपर्ने व्यवस्था हुन्छ । गंगालालमा स्पोर्टस कोर्डियोलोजी शुरु भएपछि यो सुविधा सहजै उपलब्ध हुनेछ ।

मुटुरोगको उपचारका लागि निजी क्षेत्रका महँगा अस्पतालको भर पर्नुपर्ने वा विदेश नै जानुपर्ने अवस्थालाई धेरै हदसम्म अन्त्य गरिदिएको छ ।

महँगो उपचार र निःशुल्क सेवा

वास्तवमै मुटुको उपचार सेवा नेपालमा मात्र होइन विश्वमा नै महँगोमध्ये मानिन्छ । तर निजी क्षेत्रका अस्पताल र विदेशका सरकारी अस्पतालहरुको सेवाको तुलनामा गंगालाल हृदय केन्द्रको उपचार सेवा निकै सहुलियतपूर्ण रहेको केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणिको भनाइ छ । साथै अस्पतालले विभिन्न किसिमका निःशुल्क सेवासमेत उपलब्ध गराइरहेकोले मुटुरोगको उपचारमा सेवा शुल्क तिर्न नसकेका कारण बिरामीले अकालमै मनुपर्ने स्थिति नरहेको डा. अधिकारी बताउनुहुन्छ ।

डा. अधिकारीका अनुसार नेपाल सरकारको अनुदानबाट १५ वर्षमुनिका र ७५ वर्षमाथिका बिरामीको मुटुसम्बन्धी सम्पूर्ण उपचार अस्पताल भर्ना भइसकेपछि निःशुल्क गर्ने गरिएको छ । नागरिकताको प्रतिलिपिसहित निवेदन दिएको दिनदेखि बिरामीलाई निःशुल्क सेवा उपलब्ध गराउने गरिएको छ । मुटुको भल्भ साँघुरो भएर भल्भ खुलाउनुपर्ने अपरेसन पनि निःशुल्क छ । यो सेवा सबै उमेरका बिरामीहरुको लागि निःशुल्क छ । यो लगायत नेपाल सरकारले विपन्न वर्ग भनेर गाउँपालिकाको सिफारिसको आधारमा १ लाख रुपियाँ उपचारका लागि उपलब्ध गराउँछ । अस्पतालको आन्तरिक स्रोतबाट पनि प्रत्येक वर्ष गरिब बिरामीहरुलाई २ करोड रुपियाँ बराबरको उपचारमा छुट दिने गरेको छ । गतवर्षदेखि अस्पतालले सरकारको अनुदान रकमबाट गरिब तथा विपन्न वर्गका लागि प्राइमरी एन्जिओप्लास्टी (Primary Angioplasty) सेवा पनि न्यून शुल्क मात्र लिएर उपलब्ध गराउन थालेको डा. अधिकारी बताउनुहुन्छ ।

पुनस्र्थापना सेवा

शहीद गंगालाल हृदय केन्द्र स्थापना हुँदा बिरामीहरुको पुनस्र्थापना गर्ने र दक्ष जनशक्ति उत्पादन गर्नेसमेत उद्देश्य राखिएको थियो । मुटुरोगका बिरामीहरुको पुनस्र्थापना यस्तै खालका अन्य अस्पतालले दिनेभन्दा फरक खालको सेवा हो । यो सेवा कसरी सञ्चालन भइरहेको छ त ?

कार्यकारी निर्देशक डा. अधिकारी भन्नहुन्छ, ‘यो भनेको मुटुरोगीहरुलाई पुनः काममा फर्काउने सेवा हो । रोग लागेकालाई उपचार गरेर ठीक बनाउने मात्र होइन, काममा पुनः सक्रिय हुन सक्षम पनि बनाइदिनुपर्ने हुन्छ । यसमा हामीले सामान्य परामर्श दिने मात्र होइन कि एक–एक घण्टाका आठवटा कक्षा साप्ताहिकरुपमा नै सञ्चालन गरेर खानपिन, व्यायाम, औषधि सेवन र उपचारको बारेमा जानकारी दिने गरिएको छ । यसको लागि छुट्टै विभाग नै खडा गरिएको छ । करिब ३५ जनाको समूह बनाएर लिइने यो कक्षा कोरोना महामारी शुरु भएपछि भने निरन्तरता पाउन नसकेको डा. अधिकारी बताउनुहुन्छ ।

दक्ष जनशक्ति उत्पादनको सन्दर्भमा भने गंगालाल आफैँमा अध्ययन प्रतिष्ठान भई नसकेकोले हाल राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (NAMS) वीर अस्पतालसँग मिलेर डीएम कोर्स गर्ने गरिएको र हाल बन्दै गरेको छाता ऐनअन्तर्गत गंगालाललाई पनि समावेश गरियो भने यहाँ बिरामी पनि धेरै भएको, प्रविधि उपलब्ध भएको तथा पढाउनका लागि दक्ष जनशक्ति पनि भएकोले भविष्यमा गंगालाललाई एउटा राम्रो मुटुरोग प्रतिष्ठानका रुपमा विकास गर्न र दक्ष जनशक्ति उत्पादन गर्न सकिने सम्भावना रहेको डा. अधिकारीको भनाइ छ ।

अग्रपंक्तिमा गंगालाल

यस केन्द्रले प्वाल परेको मुटुको भल्भ टाल्ने काम एक दशकभन्दा बढी समयदेखि गरिरहेको छ । हाल आएरचाहिँ यो कार्य ठूलो संख्यामा भइरहेको अस्पताल व्यवस्थापनको भनाइ छ । यति धेरै संख्यामा यस्तो अपरेसन गर्ने थोरै दक्षिण एसियाका अस्पतालहरुको सूचीमा गंगालाल अग्रपंक्तिमा रहेको डा. अधिकारीको भनाइ छ ।

यस्तै मुटुको चाल गडबडीसम्बन्धी उपचार पनि ठूलो संख्यामा गर्ने दक्षिण एसियाका थोरै अस्पतालहरुमा गंगालाल अस्पतालसमेत रहेको उहाँको भनाइ छ ।

मुटुरोग विशेषज्ञसमेत रहनुभएका डा. अधिकारीका अनुसार मुटुको भल्भको अपरेसन ठूलो संख्यामा गर्ने विश्वकै थोरै स्वास्थ्य केन्द्रहरुमा गंगालाल हृदय केन्द्र पनि पर्छ । गंगालालमा वार्षिकरुपमा ५ सयदेखि ७ सयजना बिरामीको भल्भको अपरेसन गर्ने गरिएको छ । यो भनेको धेरै ठूलो संख्या हो । सन् २०२० मा चाहिँ कोरोनाका कारण संख्या हवात्तै घटेको छ । यस वर्ष २ सय ३० वटा मात्र अपरेसन हुन सकेको छ । कुल अपरेसन नै १७ सयभन्दा बढी गर्ने गरिएकोमा सन् २०२० मा ८ सयवटा मात्र भएको छ । अरु अपरेसनको संख्या घट्दा यो पनि स्वाभाविकरुपमा घटेको उहाँको भनाइ छ ।

केहीबाहेक कुर्नु नपर्ने

आम मुटुरोगीहरुको पहिलो गन्तव्य भएसँगै गंगालाल हृदय केन्द्रमा बिरामीहरुको चाप निकै देखिन्छ । यसले गर्दा कतिपय बिरामीले सेवाका लागि प्रतीक्षामा पनि बस्नुपर्ने स्थिति छ । तर केन्द्रका कार्यकारी निर्देशक डा. अधिकारी ‘मुटुको उपचारमा इमर्जेन्सी उपचार आवश्यक पर्नेलाई आवश्यकताअनुसार तत्काल उपचार गर्ने गरिएको र त्यस्ता बिरामीलाई समय दिएर फर्काउने नगरिएको’ बताउनुहुन्छ । उहाँका अनुसार दुई–चार महिना कुराउँदा पनि केही फरक नपर्ने, बिरामीको ज्यान खतरा नपर्ने किसिमका बिरामीलाई चाहिँ समय तोकेर पठाउने गरिएको छ ।

उहाँ भन्नुहुन्छ, ‘मुटुका कतिपय अपरेसनहरु लामो समय लगाएर गर्नुपर्ने, त्यसका लागि प्राविधिक तयारी गर्नुपर्ने हुन्छ । त्यस्ता थोरै केही अपरेसनका लागि केही महिना कुर्नुपर्ने स्थिति हुने भए पनि छोटो समयमा गर्न सकिने अपरेसनहरुका लागि पर्खाइँदैन । जस्तो– बाइपास सर्जरी एकजना सर्जनले दिनमा एउटा मात्र गर्न सक्ला । यो त ६ घण्टासम्म लाग्छ । एकजनाले दुईवटा यस्ता अपरेसन एकै दिन गर्न थालेमा परिणाम पनि राम्रो नआउन सक्छ । त्यसैले बरु पर्खाउन मिल्ने बिरामीलाई पर्खाउने गरिन्छ । यस्तो समस्यामा बाहेक अरुमा खासै पर्खिनुपर्दैन ।

बागमती प्रदेशमा सेवा विस्तार

गंगालाल हृदय केन्द्रले अहिले बागमती प्रदेश सरकारसँग मिलेर सो प्रदेशका १३ वटा जिल्ला अस्पतालहरुमा हृदयघात भएका बिरामीलाई प्राथमिक उपचार सेवा दिन लागेको छ । गंगालाल अस्पतालका अनुसार हृदयघात भएर आएका बिरामीहरुलाई प्राथमिक उपचार स्थानीय स्तरमै उपलब्ध गराउने हिसाबले कार्यक्रम २०७८ वैशाखदेखि लागू गरिँदै छ । त्यसका लागि अस्पतालले जिल्ला अस्पतालहरुमा तालिमको व्यवस्था गर्दै छ । हृदयघात भएर आएका बिरामीलाई जीवन बचाउन तुरुन्त गर्नुपर्ने प्राथमिक उपचार त्यहीँ नै उपलब्ध गराउने तथा प्राथमिक उपचार गरेपछि सो बिरामीलाई गंगालालमा ल्याएर थप उपचार गर्ने र सकेसम्म मुटुरोगका धेरै बिरामीलाई बचाउने उद्देश्यले यस किसिमको व्यवस्था गरिएको डा. अधिकारीले जानकारी दिनुभएको छ ।

त्यस्तै गरी सो हृदय केन्द्रले बूढानीलकण्ठ नगरपालिकाका ५ देखि १५ वर्षका करिब १२ हजार बालबालिकाको मुटुको बाथरोगको स्क्रिनिङ गर्ने कार्यक्रम पनि यही २०७८ वैशाखदेखि शुरु गर्न लागेको जानकारी दिएको छ ।

गतवर्षबाट शुरु भएको कोरोना महामारीको अवधिमा पनि गंगालाल हृदय केन्द्रले कोरोना लागेका मुटुरोगीहरुलाई समेत इमर्जेन्सी उपचार निरन्तर दिइरह्यो । साथै यस्ता बिरामीहरुको सम्बन्धमा अनुसन्धानसमेत गरेर गंगालालले सबैलाई काम लाग्ने दस्ताबेज तयार गरी अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित गरेको छ, जुन सराहनीय मान्न सकिन्छ ।

अन्त्यमा

मुटरोगको उपचारका लागि अस्पताल स्थापना हुनु र उपचार सेवा दिनु त आफ्नो  ठाउँमा छँदै छ, मुटुरोगको उपचार जटिल र महँगो पनि छ । तर मानिसले चाहेमा धेरै हदसम्म यो रोगबाट बच्न पनि सकिन्छ । त्यसकारण यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ । जोखिमयुक्त बानीव्यहोरा जस्तो– सुर्तीजन्य वस्तु र अस्वस्थ खानपान नगरेर, मोटोपन नियन्त्रण गरेर, मदिराको हानिकारक प्रयोग नगरेर र नियमित व्यायाम गरेर अधिकांश कार्डियो भास्कुलर डिजिजबाट बच्न सकिन्छ । साथै उच्च रक्तचाप भएका, मधुमेह भएका, कोलेस्ट्रोल उच्च भएका वा मुटुसम्बन्धी अन्य रोग लागेका बिरामीले बरोबर मुटुसम्बन्धी परीक्षण र उपचार गराएमा धेरै हदसम्म आयु लम्ब्याउन सकिन्छ । हामीले त्यसो किन नगर्ने ? 

प्रतिक्रिया दिनुहोस्