वायु प्रदूषणबाट बच्न आयुर्वेद



– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

बेला–बेलामा राजधानी काठमाडौं र देशका अन्य स्थानहरुमा पनि वायु प्रदूषण ह्वात्तै बढेर समस्या सिर्जना हुने गरेको छ । गत चैत्र महिनामा दुई हप्ताभन्दा बढी समय बाक्लो तुँवालोले ढाक्दा सूर्यको किरणसमेत राम्ररी छिर्न सकेको थिएन । धूलो र धुवाँका कारण वायु प्रदूषण भई मानिसहरुमा रुघाखोकी लाग्ने, घाँटी दुख्ने, आँखा–छाला चिलाउने जस्ता समस्या देखिएका थिए । 

विशेषज्ञहरुका अनुसार त्यस किसिमको प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा संक्रमण हुन सक्छ । आँखा रातो हुने, चिलाउने, आँसु आइरहने हुन सक्छ । साथै क्रमशः छाती, नाक, घाँटी, मुटु र मस्तिष्क पनि यसबाट प्रभावित हुन सक्छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरुले बेला–बेलामा सावधान हुन आग्रह गर्ने गरेका छन् । यस किसिमको प्रदूषणले श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरुलाई त समस्या आउँछ नै, साथै स्वस्थ व्यक्तिलाई पनि हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी, टाउको दुख्ने तथा छाती भारी हुनेजस्ता समस्या देखिन सक्छ । 

बाफ जब नाक, घाँटी एवं फोक्सोमा प्रवेश गर्दछ त्यहाँका कोषीय अवरोधहरुलाई सहजै खुलाउँछ र विकारहरुलाई व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ ।

यस्तो अवस्थामा घरबाहिर ननिस्कनु (झ्याल–ढोका बन्द राखी घरभित्रै बस्नु), आँखा एवं अनुहार चिसो पानीले पटक–पटक धुनु, आँखा नमिच्नु, व्यायाम नगर्नु, चश्मा र मास्क अनिवार्य लगाउनु, अनावश्यक सवारीसाधन नचलाउनु, फोहोर नचलाउनु, धूलो–धुवाँ उत्पन्न हुने खालका निमार्ण कार्य नगर्नु आवश्यक छ । त्यस अतिरिक्त स्वास्थ्य रक्षार्थ वा रोग–प्रतिरोधात्मक क्षमता बढाउनका लागि जीवनशैलीमा केही विशेष कुराहरु जोड्नु पनि आवश्यक हुन्छ । यसका लागि आयुर्वेदीय केही विधिहरु प्रयोग गर्दा उत्तम हुन्छ । यो विधि प्रभावकारी रहेको वैज्ञानिक तथ्यहरुले प्रमाणित गरिसकेका छन् । 

त्रिफलाको प्रयोग: त्रिफला आयुर्वेदीय रसायन औषधि हो । यसले वायु प्रदूषणका कारण मानव शरीरमा आउन सक्ने असन्तुलन, वात, पित्त एवं कफ दोषहरुलाई स्वाभाविकरुपमा एकसाथ सन्तुलन गर्दछ । आँखासम्बन्धी समस्यामा पनि लाभ दिन्छ । कब्जियत खुलाउँछ, रोग–प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ । राति सुत्ने बेलामा १ चिया चम्चा त्रिफला चूर्ण मनतातो पानी वा महसँग खाँदा लाभ मिल्छ । 

बाफ लिनु: तातो पानीको बाफमा कुनै पनि अवरोधलाई खुलाउने शक्ति अधिक हुन्छ । बाफ जब नाक, घाँटी एवं फोक्सोमा प्रवेश गर्दछ त्यहाँका कोषीय अवरोधहरुलाई सहजै खुलाउँछ र विकारहरुलाई व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ । दैनिक दुईपटक कम्तीमा पाँच मिनेटका लागि सादा पानी वा २ थोपा सन्चो राखी च्यादरले टाउको छोपेर तातो पानीको बाफ लिनुपर्छ । 

मालिस गर्नु: वायु प्रदूषणका बेला शरीर सुख्खा एवं खस्रो बनेको हुन्छ । त्यस्तो बेला छालालाई तेल (तोरी वा तिलीको) ले मालिस गर्न जरुरी हुन्छ । मालिसले शरीरको माथिल्लो सतहमा रक्तसञ्चार बढाएर मस्तिष्कमा शान्ति एवं आनन्ददायी जैव रसायन उत्पादन हुने हुन्छ । यसले गर्दा चिन्ता र तनाव पनि भाग्छ ।

बेसारको प्रयोग: बेसारमा एन्टिबायोटिक, एन्टी–इन्फ्लामेट्री, एन्टी–अक्सिडेन्ट गुण हुन्छ । बेसारमा हुने करक्युमिन नामको जैव रसायनले सो गुण देखाउनुको साथै शरीरको रोग–प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । १ चिया चम्चा बेसार बिहान खालि पेटमा मनतातो पानी वा घिउ वा महसँग सेवन गर्न सकिन्छ । राति सुत्ने बेलामा १ चम्चा बेसार तातो दूधमा राखेर खानु लाभदायक मानिन्छ । बेसारमा घाउलाई छिटो सन्चो बनाउने क्षमता हुन्छ । छालालाई सुन्दर बनाउने साथै मूत्रप्रणालीमा आउने समस्याहरु पनि बेसार लाभकारी हुन्छ ।

पिप्पलीको प्रयोग: आयुर्वेदमा पिप्पलीलाई श्रेष्ठ द्रव्यहरुमध्येकै मानिन्छ, जसले फोक्सोको सफाइ गर्दछ र श्वासप्रश्वासलाई सहज गराउँछ । पिप्पली फोक्सो संक्रमणलाई सन्चो गराउने औषधि नै हो । स–साना बाबुनानीलाई यसको सेवन गराउनुहुँदैन । एक चम्चाको १/८ भाग अदुवाको धूलो, १/४ भाग बेसार र १/८ भाग पिप्पली मिसाएर महसँग खानुपर्छ ।

घिउको प्रयोग: वायु प्रदूषणले नाक र नासिक विषाणु हावाको प्रत्यक्ष सम्पर्कमा आउँछ र त्यहाँ संवेदनशील कोषहरुलाई विषाक्त बनाई रोगको शुरुवात गराउँछ । दुवै नाकको प्वालमा २ थोपा शुद्ध घिउ बिहानको नित्यकर्मपछि र राति सुत्ने बेलामा राख्न सके त्यसले विषाणु एवं विजातीय पदार्थहरुलाई छेक्छ वा टिप्छ र सुरक्षा प्रदान गर्दछ ।

तुलसीको प्रयोग: तुलसी प्रायः सबैले देखेको र चिनेको बहुउपयोगी एवं बहुगुणकारी औषधीय वनस्पति हो । यस वनस्पतिमा वायुको प्रदूषण शोषण गर्ने क्षमता हुन्छ । यसको काँढा वा जुस बनाएर पनि प्रतिदिन १० देखि १५ मिलिलिटर खालि पेटमा पिउनु लाभदायक हुन्छ । 

नीमको प्रयोग: वायु प्रदूषणका बेला शरीरको विभिन्न अङ्ग–प्रत्यङ्गको सम्पर्कमा आएका विषाणु तत्वहरुको सफाइ गर्न उमालिएको नीम–पानीले कपाल, छाला र नाकको सफाइ गर्नुपर्दछ । नीमको ५–६ वटा पात कम्तीमा हप्ताको दुईपटकसम्म चपाएर खान सक्दा त्यसले रगतको पनि सफाइ गर्दछ । 

अनार खानु: अनार अति नै पौष्टिक फल हो । यसमा आइरनको मात्रा अधिक हुन्छ । प्रतिदिन एउटा अनारको सेवनले शरीरमा रगतको मात्रा बढाउने, रगतलाई शुद्ध बनाउने, हृदयलाई बलियो बनाउनुको साथै अत्यधिक ऊर्जासमेत प्रदान गर्दछ । तर अनारको अधिक सेवनले कब्जियत हुने समस्यालाई भने ध्यान पुर्‍याउनुपर्ने हुन्छ । 

आयुर्वेदका अनुसार वसन्त ऋतुको समयमा शरीरमा कफदोषको वृद्धि एवं प्रकोप भएको हुन्छ । यस ऋतुमा गरिष्ठ, चिसो, चिल्लो, गुलियो, अमिलो र नुनिलो वस्तुहरुको सेवन नगर्न भनिएको छ । कफवद्र्धक हुने हुनाले यस मौसममा माछा, मासु, अण्डा, दुध वा दुग्धजन्य खाद्यपदार्थ र बेकरी (मैदायुक्त भएकोले) सेवन गर्नुहुन्न । दिउँसो सुत्दा कफ बढ्ने भएकोले यस ऋतुमा दिउँसो नसुत्न निर्देश गरिएको छ । त्यस्तै वातवद्र्धक र कफहरण गर्ने गुण हुने भएकोले चिया, कफी हानिकारक मानिए पनि सन्तुलितरुपमा भने यस मौसममा सेवन गर्न सकिन्छ । यस बेला प्राणीको बल मध्यम स्तरको मात्र हुन्छ । अतः त्यसै अनुसार सचेत भई खानपान गर्नुपर्दछ । 

प्रतिक्रिया दिनुहोस्