दन्त उपचारमा गम्भीर हुनुपर्छ



-डा. अञ्जना महर्जन (दन्त विशेषज्ञ)

स्वास्थ्य सेवा विश्वमै महँगो भइरहेको छ । यस सन्दर्भमा दन्त स्वास्थ्य झनै महँगो सेवा मानिन्छ । यो सेवालाई आकस्मिक उपचारका रुपमा कमै लिइने गरिन्छ । दाँतको जटिल समस्या आएपछि मात्र परीक्षण गराउने प्रवृत्तिकै कारण धेरै मानिसको दाँत कीराले खाने, सिरिङ–सिरिङ गर्ने र दाँत नै फुकाल्नुपर्नेसम्मका जटिल समस्या आउने गर्छन् । 

मैले पिपुल्स डेन्टल कलेजबाट बीडीएस अध्ययन पूरा गरेर न्याम्स (वीर अस्पताल) बाट ५ वर्षअघि पोस्ट दन्त (कृत्रिम दाँत) का विषयमा मास्टर्स गरी पाटन अस्पतालमा दन्त चिकित्सक भएर काम गर्न थालेको १४ वर्ष भइसकेको छ । यस अवधिमा मैले दन्त उपचारको क्षेत्रमा विभिन्न किसिमका अनुभव हासिल गर्ने अवसर पाएको छु । 

दन्त उपचारमा आकस्मिक सेवा कम हुन्छ र भए पनि आकस्मिक ड्युटीमा खटिनुपर्ने चिकित्सकहरुकोमा मात्र हुन्छ । मैले विशेष गरी मानिसको दन्त सौन्दर्य (कृत्रिम दाँत हाल्ने) का क्षेत्रमा काम गर्दै आएको छु । कृत्रिम दाँत हाल्ने कार्य अरु सबै विभागको काम सकेपछि अन्तिममा पर्छ । त्यसैले मेरो विभागमा आकस्मिक बिरामीका समस्याका बारेमा काम गर्नुपर्ने हुन्न । 

दन्त सेवाको उपचारको महँगाइको दाँजोमा अध्ययनका लागि भने एमबीबीएसभन्दा सस्तो पर्छ । दन्त उपचारमा खरिद गर्ने सबै सामग्री महँगो हुने भएकै कारण सेवा महँगो भएको हो । यति मात्र नभई दन्त उपचारसम्बन्धी सामान पनि महँगो पर्छ । अरु रोगको जस्तो दाँत दुखेको औषधि खाएर निको हुँदैन । दन्त उपचार विश्वसनीय एवं गुणस्तरीय बनाउनका लागि उपकरणहरु विदेशबाट ल्याउनुपर्छ र सेवा महँगो पर्न जान्छ ।  नेपालमा हालसम्म उपचारका क्रममा प्रयोग भएका उपकरणहरु जर्मन, कोरिया, बेलायत, अमेरिकाका छन् । अन्य उपचारमा जस्तो दन्त सेवाको उपकरण भारतबाट आउँदैन । भारतले पनि अन्तैबाटै मगाउँछ । नेपाल र भारत दुवै देशमा दन्त सेवाका उपकरण चीनबाट थोरै मात्रामा आउँछ । 

दाँतको उपचार गर्ने समय 

दाँतको सरसफाइ तथा उपचार कहिलेदेखि गर्ने होला भन्ने अधिकांश मानिसको जिज्ञासा हुन सक्छ । दाँतको सरसफाइ दाँत उम्रेदेखि नै गर्नुपर्छ । यतिसम्म कि बच्चालाई दूध खुवाइसकेपछि दाँत नआउँदै पनि मलमलको कपडा मनतातो पानीमा भिजाएर पुछिदिनुपर्छ । यसले गर्दा नयाँ दाँत आउने बेलामा राम्रो हुन्छ । बच्चाहरुको एउटा मात्र दाँत उमे्रको छ भने पनि दिनमा दुईपटक ब्रस गरिदिनुपर्छ । बच्चा ५ वर्ष नहुँदासम्म ब्रस गर्दा बच्चाको लागि पाइने छुट्टै टुथपेस्टबाट मात्र गर्नुपर्छ । त्यसपछि नर्मल टुथपेस्टले दिनमा २ पटक माझ्नुपर्छ । ६ महिनामा एकपटक जँचाउने गर्नुपर्छ । यसो गर्दा दाँतको उपचार सस्तो पर्छ । 

बच्चालाई फकाउने बहानामा मिठाई तथा चकलेट दिने गर्नाले सानैदेखि बच्चाको दाँतमा कीरा लाग्ने हुन्छ । कतिपय बच्चाहरुको दाँत नै नउम्रने, उमे्रको दाँतमा पनि कीरा लागेर चाँडै दाँत झर्ने या दुखेर फुकाल्नुपर्ने जस्ता समस्या हुन्छन् । बच्चाको एउटा दाँतमा कीरा लाग्यो भने बिस्तारै अरु दाँतमा पनि सर्छ । साथै दाँतको आयु घट्दै जान्छ र दाँत दुख्ने समस्या दीर्घकालीनरुपमा निम्तिन्छ । त्यसैले हरेक अभिभावकले बच्चालाई चकलेट दिएर फकाउने गर्नुहुँदैन । चकलेट तथा गुलियो खानेकुरा खाइसकेपछि तत्कालै ब्रस गर्न लगाउनुपर्छ । त्यस्तै बिहान–बेलुका खाना खाइसकेपछि दाँत माझ्न सिकाउनुपर्छ र समय–समयमा बच्चाको दाँत 

परीक्षण गराउनुपर्छ । 

कतिपय अवस्थामा चकलेट खानासाथै ब्रस गर्ने सहजता नहुन पनि सक्छ । यस्तो अवस्थामा चकलेट, मिठाई खाइसक्नेबित्तिकै सफा पानी मुखमा राखेर सफा हातको औंलाले गिजासमेत हल्का माझेर दाँतमा टाँसिएको गुलियो पदार्थलाई अनिवार्यरुपमा सफा गर्नुपर्छ । चकलेट खाएर मुख कुल्ला गर्नु भनेको मानिस शौचालय गएर अनिवार्य फ्लस गर्नुजस्तै हो । कुल्ला गर्नु भनेको खाएर मुखभरि बसेको खानेकुरा सफा अर्थात् फ्लस गर्नु नै हो । 

के साँच्चै कीराले दाँत खान्छ त ?

धेरै मानिसले दाँत कीराले खायो भनेको हामीले सुन्ने गरेका छौं । के हो त दाँत कीराले खाने भनेको ? दाँतमा माइक्रोस्कोप कीरा हुन्छ । त्यही कीराले खाने हो । हामीले खाएको खाना दाँतको चेपमा बसेर माइक्रो अर्गानिजम बढ्छ । त्यसले बिस्तारै दाँतको इनामेल खाँदै जान्छ । कीराले खाने भनेको त्यही हो । हामीले दाँतमा लागेको कीरा खुल्ला आँखाले देख्न सक्दैनौं ।

दाँत दुखेर झारफुक गर्ने, कीरा झार्ने भन्ने सम्भावना हुँदैन । तर त्यस्ता व्यक्तिहरुले आफैंले मासुमा पर्ने कीरा राखेर मानिसलाई साइकोलोजिकल ट्रिट्मेन्ट गरेको सुनिन्छ । कीरा नै निकालेको देखेपछि मान्छेले विश्वास गर्छन् र दुखाइ कम भएको महसुस गर्छन् । दाँत कीराले खाने भनेको दाँतको पालिस कीराले निकालेपछि एसिड निकाल्छ र त्यो एसिडले दाँत प्वाल पर्ने हो । माइक्रो अर्गानिजमले दाँत खाने होइन । त्यसले पालिस र इनामेललाई पगाल्दै जाने हो । जेसुकै खाना खाए पनि मुख कुल्ला गर्ने र दाँतमा खाना अड्किएमा धागोले फ्लस गरेर निकाल्नु नै दाँत स्वस्थ राख्ने प्रमुख उपाय हो ।

मानिसको कहिलेकाहीँ दाँत खिइने, हड्डी खिइने, दाँत फट्टिने जस्ता समस्या पनि हुने गर्दछ । दाँत खिइने प्रक्रिया धेरै प्रकारको हुन्छ । कडा ब्रसले धेरै ब्रस गर्दा पनि दाँत खिइन्छ । त्यसैले नरम ब्रसले बिस्तारै एकपटकमा २ मिनेट जति ब्रस गर्नुपर्छ । ब्रस गर्दा भाँडा माझेझैँ गर्नुहुन्न । अर्को उपचार एसेडिक अमिलो जुस, कागती, निबुवाजस्ता चिज खाँदा पनि दाँत खिइन सक्छ । मानिसलाई ग्यास्टिक भएर मुखमा अमिलो पानी आउँदा पनि दाँत बाहिरबाट खिइन सक्छ । अर्को दाँतको टोकाइ नमिलेको मान्छेहरुको पनि दाँत खिइने हुन्छ । यस्तो दाँत चिकित्सकको सल्लाह लिएर मिलाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा सबैतिरबाट आरसिटी गर्नुपर्ने हुन्छ ।

जनचेतनाको आवश्यकता 

दाँतमा जति धेरै फोहोर भयो त्यति नै दाँतलाई गिजा र हड्डीले छोड्दै जान्छ । त्यसपछि गिजा तल सरेर दाँत बाहिर देखिन थाल्छ । शुरुदेखि नै दाँतको हेरचाह गर्ने, ६ महिनामा चिकित्सकको सल्लाह लिएर सफा गर्ने गरेमा यस्तो समस्या आउँदैन । एकपटक सरेपछि गिंजा पहिलाको अवस्थामा राख्न सकिन्न । त्यस्तै बेला–बेलामा तातो या चिसो पानी, आइसक्रिम, अमिलो खाँदा दाँत सिरिङ्ङ भयो भने यो दाँतको समस्या हो भनेर बुझ्नुपर्छ । कहिलेकाहीँ गिजा सर्दा, दाँतमा फोहोर बढ्दा, दाँत कीराले खाँदा पनि दाँत सिरिङ्ङ गर्छ । यस्तो अवस्थामा तत्कालै दन्त चिकित्सककोमा देखाउनुपर्छ । 

दाँतको समस्या मानिस नै पिच्छे फरक–फरक खालको आउन सक्छ । कसैको अगाडिको दाँत बाहिर आएको हुन्छ । दाँत आफैं फुक्लिन्छ । यो सबै फोहोरको कारणले हुन्छ । यस्तो अवस्थामा गिजासँगसँगै हड्डीले पनि छोड्छ र दाँत कुरुप भएर बाहिर आउनुका साथै झर्न थाल्छ । यसको रोकथामका लागि ६ महिनादेखि १ वर्षमा दाँत परीक्षण गराउनु राम्रो हुन्छ । दाँतलाई पनि अन्य उपचारलाई जस्तै समय–समयमा चिकित्सकलाई देखाइ उपचार गर्नुपर्छ । 

दन्त स्वास्थ्य सेवा धेरै विस्तार नभएको हाम्रो जस्तो मुलुकमा सरकारले गाउँघर क्लिनिक सञ्चालन गर्नुपर्छ । अध्यापन गराउनेहरु एवं विद्यार्थीलाई गाउँ–गाउँमा जनचेतनामूलक कार्य गर्न समय–समयमा खटाउनुपर्छ । हेल्थ पोस्टमा दन्त परीक्षणको व्यवस्था गर्नुपर्छ । जिल्ला अस्पतालमा दन्त चिकित्सकको दरबन्दी नै राखेर उपचार सेवा दिनुपर्छ । धेरै दन्त चिकित्सक बेरोजगार छन् । पढेका दन्त चिकित्सकले पनि काम पाउने र जनताले पनि सेवा पाउने विषयमा सरकारको ध्यान पुग्नु जरुरी छ ।

डेन्टलमा पब्लिक हेल्थ पढेकालाई एकदेखि दुई महिना पोस्टिङ गरेर पनि दाँतसम्बन्धी जनचेतना र उपचार गर्न सकिन्छ । साथै शहरी क्षेत्रमा विनालाइसेन्स चिकित्सकविनै व्यापारका लागि खोलिएका क्लिनिकमा गएर उपचार गराउनु स्वास्थ्यकै लागि चुनौती हो । पैसा कमाउन बसेकाहरुले पढेका हुँदैनन्, कमाउन मात्र जानेका हुन्छन् ।

त्यसैले नेपाल मेडिकल काउन्सिलबाट सर्टिफिकेट पाएको व्यक्तिबाट नै दाँतको उपचार गराउनुपर्छ । नबुझी उपचार गराउँदा दाँतसम्बन्धी विभिन्न स्वास्थ्य समस्या आउन सक्छ । दाँत बिग्रनुका साथै पछि चार–पाँच गुना बढी खर्च लाग्न सक्ने गरी समस्या आउन सक्छ । यस्ता विषयमा बिरामी आफैं सचेत हुनुका साथै सरकारले पनि अनुगमन गर्नुपर्छ ।  कोभिड–१९ को महामारी चलिरहेको अवस्थामा पनि नेपाल डेन्टल एसोसिएसनले प्रोटोकल बनाई त्यसकै पालना गर्दै उपचार गर्दै आएको छ । यो राम्रो पक्ष हो । 

प्रस्तुति : भगवती तिमल्सिना 

प्रतिक्रिया दिनुहोस्