ललितपुर र चितवनले अंक बाँडे



नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौंमा जारी ‘खुकुरी नेपाल सुपर लिग’ (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा ललितपुर सिटी एफसी र चितवन एफसीले अंक बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले १–१ बराबरी खेलेका हुन् । खेलको ४९ औं मिनेटमा कमल श्रेष्ठले गोल गर्दै ललितपुरलाई १–० को अग्रतामा राखेका थिए । टिमले लगभग जित हात पार्ने तयारीमा थियो । तर, अन्तिम मिनेटमा चितवनले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल बराबरीमा टुङ्ग्याएको थियो । पहिलो हाफमा अन्जन विष्टले पेनाल्टी गोल गर्न नसक्नुले पनि ललितपुरले बराबरी नतिजा आत्मसात गर्न बाध्य भएको थियो ।

अमित तामाङले पेनाल्टी प्रहार गोलमा परिणत गरेका थिए । अमितले प्रहार गरेको बललाई ललितपुरका विनोद गुरुङले डिबक्समा ह्यान्ड गरेपछि चितवनले पेनाल्टी हान्ने मौका पाएको थियो । उक्त प्रतियोगितामा विनोद उदीयमान खेलाडी घोषित भएका थिए । उनले १० हजार नगद पुरस्कार पनि प्राप्त गरे । यस्तै चितवनका विशाल सुनार खेलका उत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार नगद पुरस्कार हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्