अनौठो विशेषता भएकी वज्रवाराही देवीको जात्रा



प्रेममान डंगोल

तान्त्रिक विशेषताले भरिएको देश नेपालमा अवस्थित विभिन्न देवी–देवताहरु तान्त्रिक विधानबाटै स्थापित भएको पाइन्छ । चापागाउँमा स्थापित वज्रवाराही देवीका पुजारी वासुदेव कर्माचार्यका अनुसार यो चापागाउँलाई पहिला चम्पापुर भनिन्थ्यो रे ! पहिला–पहिला चाँपका रुख धेरै नै भएकाले पनि यस ठाउँको नामै चम्पापुर रहन गएको हो भनिन्छ ।

पुजारी कर्माचार्यकै अनुसार भक्तपुरका राजा नरेन्द्रदेव मल्ल लडाइँबाट फर्केर आउँदा यही चापागाउँको बाटो हुँदै आएका थिए रे ! उनी यस गाउँमा आइपुग्दा रात परेछ र वरिपरि रहेका घरमा एउटा सिपाहीलाई बास माग्न पठाएछन् । सिपाहीले एउटा घरमा गई हेर्दा भुइँ तल्लामा सेतो कपडा ओढेर सुतिरहेको एउटा आकृति देखेछ । बोलाउँदा कोही पनि नबोलेकोले त्यस घरमा अरु कोही नभएको आभास पनि भयो । तब त्यो सिपाहीले डराउँदै राजासमक्ष आएर सबै कुरा बतायो । राजा पनि त्यहाँ के रहेछ भनी हेर्न गए । उनले पनि सिपाहीले देखेजस्तै एउटा आकृति देखे । त्यस आकृतिलाई ढाकेको कपडा उघारेर हेरे । राजा आश्चर्यमा परे । त्यहाँ त वराहरुपी वज्रवाराही देवी पो रहिछन् ।
राजाले वज्रवाराही देवीको दर्शन गरे र आफूलाई धन्य–धन्य सम्झेर देवीको आराधना गरे । राजाको आराधनाबाट प्रसन्न भई देवीले यस्तै मूर्ति बनाएर चैत्र पूर्णिमाका दिन जात्रा चलाउनू भन्ने आदेश दिई अलप भइन् ।

देवीको आदेशबमोजिम राजा नरेन्द्र देवले त्यही बेलादेखि वज्रवाराही देवीको उस्तै मूर्ति बनाई चैत्र पूर्णिमाका दिन खटजात्रा चलाएका हुन् भनिन्छ । यो जात्रा हालसम्म पनि हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यस दिन वज्रवाराही दवीको खटजात्रा गरेर चापागाउँवरिपरि परिक्रमा गराइन्छ । स्थानीय सबैले रमाउँदै जात्रा मनाउँछन् । स्थानीय जनताले श्रद्धाभक्तिपूर्वक मान्दै आइरहेकी वज्रवाराही देवीलाई यस जात्रामा विशेष पूजाआजा गरेर बोका, हाँस र कुखुरा बलि दिने गर्छन् । वज्रवाराही देवीको मन्दिरमा ज्यष्ठ कृष्ण दशमीका दिन भने विशेष पूजा गरी बलि दिने चलन छ । उक्त दिन होम गरेर दुई घण्टासम्म ढोका बन्द गरी तान्त्रिक पूजा गरिन्छ । त्यहाँ बलि दिएका विभिन्न सामग्रीहरुसहित पुजारीले मन्दिरवरिपरि भएका नौवटा चिता परिक्रमा गर्छन् । स्मरण रहोस्, वज्रवाराही देवीलाई परापूर्वकालमा मानिसकै बलि दिने चलन थियो रे ! पछि मानिसको बलि दिन छाडेको भनाइ छ ।देवीको पूजामा बलि दिँदा बोका नपर्सिएमा मन्दिरअगाडिको पाटीपछाडि लगेर पानी छर्किदिए बोका पर्सिन्छ भन्ने जनविश्वास रही आएको छ । हालसम्म पनि यो चलन चल्दै आइरहेको छ । देवीको मन्दिरमा चढाइएको जल खेतबारीमा छर्किदिएमा बाली सप्रिने जनविश्वास छ । पशु बिरामी भएमा यिनै देवीलाई दूध चढाउन ल्याएमा पशुको रोग निको हुने स्थानीयवासी बताउँछन् ।

यी देवीका विभिन्न विशेषता रही आएको पाइन्छ । यी देवीलाई बोका, हाँस र कुखुरा बलि दिँदा मन्दिरभित्र रहेको रगत केही घण्टापछि नदेखिने हुन्छ । यसो हुनुमा देवीकै शक्ति रहेको स्थानीयहरु बताउँछन् । घना जंगलसँगै रहेको यस मन्दिरको वरपर विभिन्न किसिमका जडीबुटी र वनस्पति प्रशस्त पाइन्छ । जंगलमा सुगा, सारौं, ढुकुरलगायत ३९ थरीका चराचुरुङ्गी बस्दै आएका छन् ।यस जंगलमा काग कहिल्यै बस्दैन, यो पनि आश्चर्यजनक छ । पहिला कुनै समयमा चापाउगाउँकै एक स्थानीय व्यक्तिले यहाँ काग किन बस्दैन भन्ने पत्ता लगाउनुप¥यो भन्दै एउटा काग समाएर ल्याई पिँजडामा राखेर मन्दिरको पाटीमा झुन्ड्याइदिएछ । त्यसपछि ऊचाहिँ लुकेर हेरी बसेछ । मध्यरातमा पिँजडाको काग निकाल्न कुनै मानिसको हात आएको देखेछ । सो हातले कागलाई झिकेर कता लग्यो कता, उसलाई केही थाहा भएनछ भन्ने किंवदन्ती रहेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार हालसम्म पनि यस जंगलमा काग बस्दैन । यो पनि देवीकै शक्ति हो भन्ने गरिएको छ ।यस वज्रवाराही मन्दिर परिसरको जंगलका काठ, पात, दाउरा कसैले प्रयोग गर्दैन । यदि कसैले जानी नजानी यहाँको रुख, पात, दाउरा आदि प्रयोग गरेमा बिरामी हुने कुरा स्थानीयहरु बताउँछन् । कसैले जंगलका पातहरु बटुलेर बाहिर कतै राख्न ल्याएमा पनि ती पातहरु पुनः जंगलमै पुग्ने बताइन्छ ।

तर त्यस गाउँमा कोही कसैको मृत्यु भई दाहसंस्कार गर्नुपर्दा त्यही जंगलको काठ प्रयोग गरिन्छ । यस जंगलमा पहिले सुपारीका रुख धेरै थिए रे ! तर संरक्षणको अभावमा हाल जंगल पनि पातलिँदै गएको र सुपारीको रुखको पनि कमी हुँदै गयो । यहाँको सुपारी घोटेर लगाएमा टाउको दुखेको निको हुने भएकोले भक्तजनहरुले सुपारी किनेर लैजाने गर्छन् ।वज्रवाराही देवीको मन्दिरमा गजुर छैन । त्यसैले यो मन्दिरलाई गजुरविनाको मन्दिर पनि भन्ने गरिन्छ । यो मन्दिरमा गजुर नहुनुमा पनि विशेष कारण रही आएको किंवदन्ती छ । पुजारी कर्माचार्यका अनुसार मन्दिर निर्माणका क्रममा गजुर राख्नुभन्दा अघिल्लो दिन तत्कालीन पुजारीलाई सपना भएछ । सपनामा देवीले भनिछन्, ‘कसैले बुलु गाउँको मान्छे मन्दिरअगाडिको चितामा लास जलाउन ल्याएमा मात्र गजुर राख्नू, त्यसो नगरे गजुर राख्ने मानिसको टाउको फुटेर मर्नेछ ।’

यसरी सपनामा देवीले भनेको कुरा त्यस पुजारीले सबैलाई जानकारी गराउँदा कसैले पनि गजुर राख्ने हिम्मत नगरेकोले हालसम्म विनागजुरको मन्दिर रहँदै आएको हो भनिन्छ ।राजा श्रीनिवास मल्लले नेपाल संवत् ७८६ चैत्रमा वज्रवाराहीको देवगृह स्थापना गरेका थिए । भक्तपुरका एक मल्ल राजा देवीको दर्शन गर्न आउँदा मन्दिरअगाडि रहेको चितामा दाह संस्कार भइरहेको र त्यहाँबाट दुर्गन्ध पनि आइरहेको देखेकाले ती राजाले उक्त मसानघाट पर सारिदिएका थिए भनिन्छ । हाल पनि मन्दिरवरिपरि ९ वटा मसानहरु छन् ।वज्रवाराही देवीका चार दिदी–बहिनी छन् भनिन्छ । सेती वाराही, धुम्वाराही र नीलवाराही वज्रवाराही देवीका बहिनीहरु हुन् भनिन्छ । यी बहिनी देवीहरुभन्दा वज्रवाराही देवी बढी शक्तिशाली छिन् भन्ने जनविश्वास रही आएको छ । देवीको मन्दिरभित्र नवदुर्गाको मूर्ति स्थापित गरिएको छ भने मन्दिरको अगाडि महिषको मूर्ति छ । मन्दिरको मूल द्वारको दायाँतर्फ गणेश र सिंहका मूर्ति छन् । वज्रवाराही देवीले सम्पूर्ण भक्तजन, नेपाल र नेपालीको रक्षा गर्दै आइरहेको कुरामा सबै विश्वस्त छन ।

प्रतिक्रिया दिनुहोस्