कोरोना महामारीमा सहज बन्दै कन्सुलर सेवा



सरस्वती कर्माचार्य, काठमाडौं ।

कोरोना महामारीका कारण कतिपय सरकारी सेवाहरू लिन असहज बन्दै गएको बेलामा कन्सुलर सेवा भने थप सहज बन्दै छ । प्रायःजसो सरकारी सेवा लिनका लागि या त घण्टौं कुर्नुपर्ने या कर्मचारीलाई कोरोना संक्रमण भएको छ भनेर पन्छाउने गरिएकोमा कन्सुलर विभागले भने इमेलबाटै धेरै काम सक्ने मेलो गरिरहेको छ । यसैबीच कन्सुलर विभागले सोमबार कन्सुलर सेवाग्राहीका लागि एउटा जरुरी सूचना जारी ग-यो ।

सूचनामा अत्यावश्यक कामका लागि इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर मात्र विभाग आउन, वैदेशिक रोजगार प्रयोजनका लागि गर्नुपर्ने प्रमाणीकरणका लागि पनि सम्बन्धित वैदेशिक रोजगार व्यवसायीहरूमार्फत नै आउन भनिएको छ । झ्वाट्ट हेर्दा कन्सुलर विभागले दैनिक कार्य रोकेर आपत्कालीन सेवा मात्र दिएको हो कि भन्ने भान पर्छ । तर, नआत्तिनुस्, तपाईंको काम रोकिँदैन । कन्सुलर विभागले कन्सुलरसम्बन्धी कुनै पनि काम बन्द गरेको छैन, केवल भौतिक उपस्थितिलाई मात्र निरुत्साहित गरेको हो ।

विभागका निर्देशक धनबहादुर वलीले फोन नम्बर वा इमेलबाट सम्पर्क गरेर विभागबाट प्रदान गरिने कुनै पनि सेवा प्रक्रियाअनुसार विनाढिलासुस्ती प्राप्त गर्न सकिने जानकारी दिनुभएको छ । उहाँले कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको र भीडका कारण विभागमा कार्यरत धेरै कर्मचारी पनि संक्रमित भएको जिकिर गर्दै थप सजगता अपनाउन आवश्यक परेकाले यस्तो सूचना जारी गरिएको बताउनुभयोे ।

विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा सेवा सहजरुपमा प्रवाह गर्न विभागले यसअघि गत वैशाख १२ गतेदेखि एकपटकमा २५ सेवाग्राहीलाई संकेत नम्बरसहितको फारम वितरण गरी त्यसैअनुसार प्रमाणीकरणका निम्ति अनुमति दिने व्यवस्था मिलाएको थियो । तर अझै पनि विभागमा दैनिक १५ देखि १६ सयसम्मको भीड लाग्ने गरेको छ । विभागमा लाग्ने भीडको ९० प्रतिशत वैदेशिक रोजगारीमा जानेहरूको नै हुने गरेको छ ।

यो भीडलाई कम गर्न वैदेशिक रोजगार प्रयोजनार्थ गर्नुपर्ने प्रमाणीकरणका लागि सम्बन्धित व्यक्ति आउन नपर्ने गरी वैदेशिक रोजगार व्यवसायीमार्फत नै प्रमाणीकरण गर्ने व्यवस्था मिलाइएको छ । यसका लागि विभागले गत शुक्रबार नै वैदेशिक रोजगार व्यवसायी संघसँग समझदारी गरिसकेको छ । जसअनुसार प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि रोजगारमा जाने व्यक्तिसँग थप शुल्क नलिइकनै वैदेशिक रोजगार व्यवसायीहरू आफैंले विभागमा ल्याएर प्रमाणीकरण गराएर सम्बन्धित व्यक्तिलाई बुझाउनेछन् ।

यसले गर्दा एकातर्फ सेवाग्राहीलाई अनावश्यक रुपमा विभाग धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ भने अर्कोतिर व्यवसायी आफैंले प्रहरी रिपोर्ट ल्याउँदा एकै जनाबाट थुप्रै व्यक्तिको काम हुने हुँदा विभाग परिसरमा भीड घटाउन सहयोग पुग्नेछ । त्यस्तै विदेशमा अलपत्र परेका वा घाइते भएका, विदेशमा हराएकाका खोजतलास वा विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति मागको सवालमा पनि आफन्तले विभागमा नधाइकनै अनलाइनबाटै निवेदन दिने व्यवस्था मिलाइएको छ । त्यसै गरी अध्ययनको सिलसिलामा वा औषधोपचारका लागि विदेश जानुपरेमा पनि आवश्यक कागजातहरू इमेलमार्फतै विभाग पठाएउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्