संक्रमणको भुमरीमा राष्ट्रपति ‘रनिङ्ग शिल्ड, छनौट भएका विद्यार्थी संक्रमित



मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्लामा दैनिक संक्रमित ब्यक्तिहरु थपिदा जिल्ला खेलकुद विकास समिति भने रनिङ्ग शिल्डको चटारोमा छ । सोमबार मात्रै जिल्लामा बालबालिकाहरु सहित ३४ संक्रमित थपिएका छन् । १३ वटा पालिका रहेको जिल्लामा ७ वटा पालिकाबाट मात्रै खेलाडीहरु सहभागि भएका छन् । जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन नगर स्तरीय प्रतियोगितामा भाग लिई छनौट भएका नमोबुद्ध नगरपालिकाका एक विद्यार्थी संक्रमति भएसँगै नमोबुद्ध नगरपालिकाले प्रतियोगितामा भाग लिएन ।

प्रतियोगिता नै आयोजना नगरेको पाँचखाल नगरपालिक र बेथान्चोक गाउँपालिकाले आफुखुशी खेलाडी छनौट गरी सहभागि गराएको छ । सोमबार देखि जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु गरिएको छ । प्रशासनको मौखिक सहमतिमा झण्डै २ सय खेलाडी र दर्शक सहभागि गराउँदै प्रतियोगिता पनौतीमा शुभारम्भ भएको छ । प्रतियोगिताको संघीय सासद गंगाबहादुर दोङ्गले उद्घाटन गर्नु भएको छ । जिल्ला अध्यक्ष मानविर लामाले सुरक्षा उपाय अपनाउँदै प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । ‘हामीले प्रशासनलाई मौखिक जानकारी गराएर प्रतियोगिता आयोजना गरेका हौं, पाँचखाल र बेथान्चोकमा प्रतियोगिता नभए पनि खेलाडी सिफारिस गरेर पठाएका छन्, अन्य पालिकाबाट खेलाडीहरु सहभागि भए’–अध्यक्ष मानविर लामाले भन्नुभयो–‘भोली सकिन्छ, सामाजिक दुरी कायम राख्ने प्रयास गरेका छौं ।’

प्रतियोगिता सम्पन्न भएका नमोबुद्ध नगरपालिकाले बालबालिकाहरुमा संक्रमण फैलन सक्ने आशंकाले विद्यार्थीहरु प्रतियोगितामा सहभागि गराएन । नमोबुद्धमा छनौट भएका खेलाडीमा संक्रमण देखिए पछि भाग नलिएको जानकारी गराएको कार्यालय प्रमुख अभिकेशर कट्टेलले जानकारी दिनु भयो । खानिखोला, महाभारत र तेमाल गाउँपालिकामा पनि प्रतियोगिता सम्पन्न भई खेलाडी छनौट भईसकेको भए पनि प्रतियोगितामा भाग लिएनन् । बनेपा, धुलिखेल नगरपालिका र बेथान्चोक गाउँपालिकाले कोभिडकै कारण प्रतियोगिता संचालन गरेनन् ।

पाँचखालले पनि पछि आयोजना गर्ने तयारी गरेको भए पनि जिल्ला स्तारीय प्रतियोगितामा नगर स्तरीय प्रतियोगिता नै संचालन नगरी खेलाडीको नाम सिफारिस गरेर पठाएको छ । पनौती, मण्डनदेउपुर नगरपालिका, रोशी, भुम्लु, चौरीदेउराली गाउँपालिकाका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका छन् । भलिबल तर्फ महिला र पुरुष, एथलेटिक्स र त्यस अन्र्तगतका विभिन्न खेलहरु, कपर्दी, कराँते र ताईक्वान्दो प्रतियोगितामा ६ वटा पालिकाका विद्यार्थीहरुले भाग लिईरहेका छन् ।

संक्रमण फैलिएका कारण जिल्लाका सबै क्षेत्रमा जमघट रोक्ने निर्णय भए पनि त्यहि निर्णयको खिलाफमा प्रतियोगिता आयोजना गरिएको हो । २० वर्ष भन्दा कम उमेरका ब्यक्तिहरुमा संक्रमण दर बढिरहेको भए पनि जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रले पनि प्रतियोगिता रोक्न चाहेन । सोमबार पनि पार्टी प्यालेसमा भोज संचालन भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्