गर्मी याममा डेंगु ज्वरोको त्रास



डेंगु ज्वरो एक किसिमको भाइरसबाट सर्ने गर्दछ, जुन जीउमा सेतो टाटो भएको कालो अनि टाढाबाट हेर्दा झ्वाट्ट सेतो धर्कोजस्तो देखिने लामखुट्टेको टोकाइबाट सर्दछ । यिनीहरूको खुट्टामा पनि सेतो धर्को देखिन्छ । यो लामखुट्टेलाई ‘पहेँलो ज्वरो लामखुट्टे’ पनि भनिन्छ । किनभने यसले पहेँलो ज्वरो पनि निम्त्याउँछ । डेंगु ज्वरो साधारणतया गर्मी र वर्षातको मौसममा सर्दछ । यो प्रायजसो शहरबजारमा हुने गर्दछ । पानी जम्ने ठाउँहरूमा र ढल निकासको राम्रो व्यवस्था नभएको ठाउँमा यो ज्वरो लाग्ने गर्दछ । पहिलोपटक डेंगु ज्वरो लागेको मानिस आराम गरेर र अत्यधिक झोल पदार्थ खाएर निको हुने गर्दछ । तर दोस्रोपटक जब यो ज्वरो दोहरिन्छ, निकै खतरनाक हुन सक्छ । यसले मृत्युसमेत निम्त्याउन सक्छ ।

पहिलोपटक यो ज्वरो लागेको मानिसमा एक्कासी अत्यधिक ज्वरो आउन सक्छ । निकै जाडोसमेत लाग्ने गर्दछ । जीउहात निकै दुख्ने (डेंगु ज्वरोलाई कहिलेकाहीँ हाड तोर्ने ज्वरो पनि भनिन्छ), टाउको दुख्ने र घाँटी दुख्ने हुन्छ । मानिस धेरै कमजोर तथा बिरामी देखिन्छ । तीन–चार दिनपछि केही घण्टादेखि २ दिनसम्म मानिस साधारणतया राम्रो अनुभव गर्दछ ।त्यसपछि पुनः बिरामी १–२ दिन बढीसम्म लाग्छ । अक्सर हात र खुट्टामा घाउ हुन्छ । पछि पैतला, खुट्टा र शरीरभरि घाउ बढेर जान्छ तर अनुहारमा भने घाउ आउँदैन । बच्चा, स–साना उमेरका बालबालिका र बूढापाका वा यो रोगसँग लड्ने क्षमता नभएको व्यक्तिहरूमा पनि यो रोग धेरै हदसम्म लाग्छ । जस्तै– एचआईभी-एड्स लागेको व्यक्तिलाई यो रोग निकै प्रभावित गर्दछ । यसलाई हेमोराजिक डेंगु ज्वरो पनि भनिन्छ । यसलाई बेलैमा उपचार नगरेमा यसले छालामा रगत बग्न थाल्छ र पछि मान्छेको मृत्युसमेत गराउँछ ।

डेंगु ज्वरोलाई उपचारको लागि कुनै औषधि छैन । यसलाई रोक्न सक्ने कुनै खोपको विकास पनि भएको छैन । प्रायजसो डेंगु ज्वरोको उपचार घरमै गरिन्छ । लामो समयसम्म आराम गरेर र अत्यधिकरूपमा झोल पदार्थ पिलाएर उपचार गरिन्छ । महत्वपूर्ण कुरा हेमोराजिक डेंगु ज्वरोलाई मानिसको शरीरमा भएको तरल पदार्थ एवं रगत बदलेर चाँडै निको पार्न सकिन्छ । छालाबाट रगत निस्कने बेला, खान र पिउन कठिन भए, सुद्धिबुद्धि हराए (ज्वरो, दुर्बलता र छिन्छिन्मा उठ्ने कारणले) जस्ता लक्षणहरू देखा परेपछि तुरुन्त अस्पताल लग्नुपर्दछ । यस्ता बिरामी भएको बच्चा साना केटाकेटी वा वृद्ध वा अन्य कुनै खतरनाक स्वास्थ्य समस्या जस्तै– सुगरको बिरामी, मुटुसम्बन्धी रोगी वा एचआईभी÷एड्स लागेको भएमा ठीक तरिकाले सहयोग पु-याउनुपर्दछ ।

डेंगु ज्वरो निम्त्याउने लामखुट्टेले सफा जमेको पानीमा प्रजनन गर्दछ । मलेरिया सार्ने लामखुट्टेभन्दा फरक दिनको समयमा डेंगुको लामखुट्टेले टोक्छ । तसर्थ झुलले दिउँसोको समयमा बच्चा र बूढो जसले दिनमा सुत्ने गर्छन्, उनीहरूलाई मात्र सहयोग पु-याउँछ । डेंगुको लामखुट्टे प्रायः छाहारीमा, अँध्यारोमा जस्तै– टेबुलको तल, खाटको तल र कोठाको अँध्यारो कुनामा बस्दछ । तसर्थ डेंगु ज्वरोको रोकथाम गर्न लामखुट्टेको टोकाइबाट बँच्नुपर्दछ ।
– सुमन राई, मोरङ ।

प्रतिक्रिया दिनुहोस्