अवस्था झन् जटिल, अब जिल्लाभरि नै लकडाउन



कुमार श्रेष्ठ, बाँके ।

बाँके जिल्लाको अवस्था झन् जटिल बन्दै गएको छ । संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । आइतबार साँझसम्ममा ७ जनाको मृत्यु भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले वैशाख महिनामा मात्रै कोरोनाबाट ३४ जनाको मृत्यु भएको बताउनुभयो । पछिल्ला दिनमा मृतकको संख्या बढ्दो रहेको छ ।

वलीले अक्सिजन र बेड नपाएर बिरामीको मृत्यु भइरहेको बताउनुभयो । ‘मलाई नै बेड मिलाइदिनुप-यो भनेर फोन आउँछ । भेरी र मेडिकल कलेजका बेड भरिएका छन्’, उहाँले भन्नुभयो– ‘अक्सिजन र बेड नपाएर धमाधम बिरामी मरिरहेका छन् ।’१ सय ४२ बेडको भेरीमा अहिले २ सय जना राखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले कोचाकोच गरेर बेड राखिएको बताउनुभयो । भेरी र मेडिकल कलेज कोहलपुरमा बेड संख्या बढाएर दुई÷दुई सय बनाउने तयारी भइरहेको छ ।स्थिति भयावह बन्दै गर्दा संक्रमितहरु अत्तालिन थालेको पाइएको छ । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका कोहलपुरका एक जनाले आत्महत्या गरेका छन् । स्थितिलाई नियन्त्रण गर्न स्थानीयले नेपालगन्ज उपमहानगरपालिकामा मात्रै लगाएको लकडाउन सोमबार रातिदेखि जिल्लाभर नै गर्ने निर्णय गरेको छ । जिल्लामा संक्रमण बढ्दै गइरहेपछि स्थानीय तहले नै लकडाउन गरिदिन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका छन् । ‘पहिला लकडाउन गर्दा स्थानीय तहले विरोध गर्थे, अहिले आफैंले छिटो लकडाउन गरिदिन प¥यो भनिरहेका छन्’, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भन्नुभयो– ‘बढ्दो संक्रमणको चेन ब्रेक गर्न १३ गते रातिदेखि २० गते रातिसम्म जिल्लाभर लकडाउन गरिएको छ ।’

भारतमा समेत कोरोनाको महामारी फैलिएपछि नेपालीहरु घर फर्किरहेका छन् । भारतबाट आउने नेपालीले कोरोना बोकेर फर्किरहेका छन् । भारतबाट ल्याइने संक्रमणलाई रोक्न नेपालगन्ज नाकामा होल्डिङ सेन्टर बनाइएको छ । त्यही नै कोरोना जाँच गर्ने र पोजिटिभ देखिएकालाई आइसोलेसन सेन्टरमा लैजाने र नेगेटिभ रिपोर्ट आएकालाई गाडीमा सम्बन्धित जिल्ला पठाउने गरिएको छ ।

संक्रमितद्वारा आत्महत्या

बाँकेमा कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।कोहलपुर नगरपालिका–९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ । खत्रीलाई वैशाख ३ गते कोरोना पोजेटिभ भएको थियो ।खत्रीको अवस्थामा सामान्य थियो । अवस्था सामान्य भएकाले उनी होम आइसोलेसनमा बसेका थिए । कोरोना संक्रमित भएकाले घरकै एउटा कोठामा बसेका खत्रीले शनिबार राती पौने ७ बजे झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

सात जनाको मृत्यु

बाँकेका दुई ठूला अस्पतालमा चौबीस घण्टामा सात जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले भेरी अस्पताल र कोहलपुर अस्पतालमा जिल्लाका र जिल्लाबाहिरका गरी सात जनाको मृत्यु भएको जानकारी दिनुभयो ।मेडिकल कलेजमा कोहलपुर नगरपालिका–१० निवासी ३६ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगन्जको भेरीमा खजुरा गाउँपालिका–३ का ४७ वर्षीया महिलाको मृत्यु भएको छ । भेरीमा नै नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । कोहलपुरमा ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । आइतबार नै बिहान ९.१५ बजे भेरीमा कोहलपुरका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा बर्दियाका ५६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।बाँकेमा अहिलेसम्मका जिल्लाका ८५ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाका १ सय ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्