कोभिड नियन्त्रण ‘कर्मकाण्डी’ : बालबालिका र जेष्ठ नागरिक प्रभावित



मोतीराम तिमल्सिना, काभ्रे ।

ब्याण्ड बाजागाजा सहितका पार्टी प्यालेस, खचाखच बस, खुल्ल्ला विद्यालय, बजार तथा सडकमा विना माक्स सहितका नागरिकहरुको जमघट, लगातार सरकारी कार्यालय तथा गैससहरुका कार्यक्रममा प्रशासनिक कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिताले कोभिड नियन्त्रणमा ‘कर्मकाण्डी’ तयारी देखिएको छ । कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले गरेका निर्णयहरु जिल्लामा कुनै निकायले पनि कार्यान्वयन गरेका छैनन ।

स्वयं संकट ब्यवस्थापन केन्द्रका सदस्यहरु पनि निर्णयको उल्लंघन गर्दै भोजभतेर तथा कार्यक्रमहरुमा सहभागि भईरहेका छन् । ‘भिडभाड नगर्ने निर्णय भएको छ तर सोमबार देखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको छ’– संकट ब्यवस्थापन केन्द्रका एक सदस्यले भन्नुभयो–‘जिल्ला संकट ब्यवस्थापन केन्द्र यस्ता विषयमा मौन छ ।’

पाटी प्यालेसहरुमा ब्याण्ड बाजा सहित भोज भईरहेको छ प्रशासन मौन छ । बसमा यात्रु खचाखच छन् । पाटीप्यालेस भरिभराउ छन् । बनेपा र धुलिखेलमा विद्यालय बन्द गरे पनि केहि विद्यालय अटेर गरेका छन् तर शहरी क्षेत्र पनौती, पाँचखाल, नमोबुद्धमा संक्रमण बढिरहे पनि रोकथामका लागि कुनै कदम चालिएको छैन । स्थानीय सरकारहरु अघिल्लो वर्षमा जस्तो सक्रिय भएका छन् । सरकारले आईसोलेसन र क्वारेन्टाईनलाई पुनः संचालनमा ल्याउन निर्देशन दिए पनि तत्कालै खुल्ने सम्भावना नभएको जनप्रतिनिधिहरुले बताएका छन् ।

पुर्व तयारीमा आलटाल

कोभिड नियन्त्रण, रोकथाम र उपचार सम्वन्धी पुर्व तयारीको बैठक राखी छलफल भए पनि आलटाल गरिएको छ । अस्पतालहरुमा उपचारका लागि बेडहरु तयारी भए पनि उपचार सशुल्क वा निशुल्क हुने टुङ्गो नलागेको धुलिखेल अस्पतालका डा. सुमनराज ताम्राकारले बताउनु भयो । धुलिखेल अस्पतालले १ सय शैयाको बेडहरु कोभिडका विरामीहरुलाई तयारी अवस्थामा राखिएको डा. ताम्राकारले बताउनु भयो । अहिले अन्य रोग लागेर उपचारमा आएका विरामीहरुमा देखिएको कोभिडको उपचार भईरहेको छ । अस्पतालले बैशाख १५ गते देखि गरिवहरुका लागि निशुल्क र अन्यका लागि ५ सय रुपैयामा कोभिड परिक्षण गर्ने भएको छ ।

१३ वटा स्थानीय तह मध्ये केहि पालिकाहरुले सामाग्री खरिद गरे पनि अस्थायी अस्पताल संचालन गरेका छैनन । संघीय सरकारले १० लाखका दरले डाक्टर, नर्स सहितको सुविधा दिएर अस्पताल संचालन गर्न भने पनि कोभिड १९ का लागि उक्त अस्पतालहरु संचालनमा आउन सकेका छैनन ।

संक्रमित बढेका बढ्यै

जिल्लामा पछिल्लो समय दैनिक २० भन्दा धेरै संक्रमितहरु थपिएका छन् । १ वर्षे, ४ बर्षे, १४ वर्षे बालबालिकाहरु देखि ८३ वर्षका जेष्ठ नागरिकहरु संक्रमित भएका छन् । संक्रमितहरु समुहमा रहेका कारण समुदायमा फैलिरहेको विश्लेषण गरिएको छ । काभ्रेमा सक्रिय संक्रमितहरुको संख्या केहि दिन देखि बढिरहेको छ । सर्वसाधारणले प्रशासनको कर्मकाण्डी तयारीका कारण सर्वसाधारण चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्