अध्यक्षकप भलिबलमा एपीएफ च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल एपीएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्षकप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्यापियन बन्न सफल भएको छ ।शनिबार भएको उपाधि भिडन्तमा एपीएफले न्युडायमन्डलाई ३–० को सहज जित निकाल्दै स्तब्ध बनायो । विभागीय टिमले फाइनल खेल २५–१६, २५–२२ र २५–१४ ले जितेको थियो । उपाधि विजेता एपीएफले नगद ३ लाख उपविजेता न्युडायमन्डले नगद २ लाखसहित ट्रफी प्राप्त गरे ।

एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै स्पाइकमार्फत २४ अंक जोड्दा ब्लक र सर्भिसमा एक–एक अंक जोडेकी थिइन् । कुल २६ अंकको योगदान दिएकी सरस्वतीले आफ्नो गल्तीका कारण ५ अंक विपक्षी टिमन्युडायमन्डले प्राप्त गरेको थियो ।एपीएफकै रेश्मा भण्डारी र पूजा चौधरीले सात–सात अंकको योगदान दिएका थिए । बेस्ट प्रशिक्षक घोषित भएका एपीएफका महेश चौधरीले भने– ‘रिसिभ पुगेपछि हामी उत्कृष्ट खेल्छौं । खेलाडीहरूले रिसिभ र डिफेन्समा उत्कृष्ट खेलेपछि खेललाई हामीले आफ्नो नियन्त्रणमा राख्न सक्यौं ।न्युडायमण्डकी प्रतिभा मालीले उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई पराजयबाट बचाउन सकिनन् । प्रतिभाले स्पाइकमार्फत १८ अंक जोड्दा ब्लक र सर्भिसमा एक–एक अंक जोडेकी थिइन् । प्रतिभाले १० अंक नेगेटिभ दिइन् । न्युडायमन्डकी झरना श्रेष्ठ र बाल्मिका आचार्यले समान ६ अंकको योगदान दिएका थिए ।प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भएर नगद २० हजार प्राप्त गरिन् ।

सरस्वतीलाई हिमालय सीमापार वाणिज्य संघका अध्यक्षले सम्मानस्वरूप थप नगद ५० हजार प्रदान गरे । यस्तै प्रतियोगितामा न्युडायमन्डको खेलबाट प्रभावित भएर सृजनशील आमा समूहले नगद २५ हजार र रिवन ट्रान्सपोर्टले नगद २० हजार प्रशिक्षक कुमार राईलाई उपलब्ध गराएका थिए ।प्रतियोगिताको विधागत पुरस्कारतर्फ आर्मीकी शान्ति थारू बेस्ट स्पाइकर, आर्मीकै सुनिता खड्का बेस्ट ब्लकर, न्युडायमन्डकी प्रतिभा माली बेस्ट सर्भर, सलिना श्रेष्ठ बेस्ट डिफेन्स र एपीएफकी बिनिता बुढाथोकी बेस्ट सेटर घोषित भएका थिए । विधागततर्फ उत्कृष्ट हुने प्रत्येकले जनही नगद सात हजार प्राप्त गरे ।तेस्रो स्थानको उपाधि भिडन्तमा आर्मीले पुलिसलाई ३–० को सेटमा हरायो । रोमाञ्चक बनेको पहिलो सेटमा पुलिस २४–२३ को सेट अंकमा पुगे पनि जित दर्ता गर्न सकेन । आर्मीले लगातार ३ अंक जोड्दै २६–२४ ले जित्यो । पहिलो सेटबाट उत्साहित भएको आर्मीले दोस्रो र तेस्रो सेट क्रमशः २५–२१ र २५–२३ ले आफ्नो पक्षमा पार्दै तेस्रो स्थानको उपाधि हात पारेको थियो । आर्मीको जितमा उच्च प्रदर्शन गरेकी शान्ति थारू ‘प्लेयर अफ दि म्याच’ हुँदै २ हजार रुपियाँ हात पारिन् ।

आर्मीकी कप्तानसमेत रहेकी सेटर कृपा अधिकारीले स्पाइकरलाई सन्तुलितरूपमा खेलाएकी थिइन् । आर्मीले दोस्रो सेटमा १५–१२ को अग्रता लिएको अवस्थामा सुनिता खड्का घाइते भएर कोर्टबाट बाहिरिएकी थिइन् । सुनिताको स्थानमा कोर्टमा प्रवेश गरेकी मनिषा खाँडले टिमको सन्तुलन बिग्रिन दिइनन् ।तेस्रो सेटमा पुलिसले ११–६ को अग्रता लिएपछि आर्मीकी सुनिता पुनः कोर्टमा प्रवेश गरेकी थिइन् । आर्मीको जितमा शान्तिले स्पाइकमार्फत १८ र सर्बिसमार्फत १ अंकको योगदान दिएकी थिइन् । उनले ३ अंक आफ्नो गल्तीका कारण विपक्षलाई दिएकी थिइन् ।आर्मीकी साफिया पुनले पनि १९ अंकको योगदान दिएकी थिइन् । उनले स्पाइकमा १६ ब्लकमा १ र सर्भिसमा २ अंक हाँसिल गरेकी थिइन् । साफियाको नगेटिभ पोइन्टमार्फत पुलिसले ७ अंक प्राप्त गरेको थियो ।पुलिसकी युवा स्टार स्पाइकर उषा भण्डारीले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकिनन् । उषाले सर्वाधिक १४ र कप्तानसमेत रहेकी भेट्रान खेलाडी कोपिला उप्रेतीले ९ अंकको योगदान दिएकी थिइन् । प्रतियोगितामा आर्मीले नगद १ लाख र पुलिसले नगद ५० हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्