वास्तविक भूकम्प पीडित अझै पीडामा

विनाशकारी भूकम्पको ६ वर्ष



चिरञ्जीवी मास्के दोलखा 

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको त्रास बिस्तारै सबैको मानसपटलबाट हट्दै गइरहेको छ । तर, दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ७ घ्याङ पाखाभित्ता टोलका डिल्ली भुजेलजस्तै दोलखाका धेरैलाई ६ वर्षपछि पनि भूकम्पको पीडा उस्तै छ ।

भुजेलको घर भूकम्पले चर्किएर बस्न नहुने बनेको छ तर लाभग्राहीको सूचीमा नाम नआएपछि उनी त्यही घरलाई टालटुल गरेर बस्न बाध्य बनेका छन् । ‘आफ्नो खर्चले नयाँ घर बनाउने आर्थिक स्थिति छैन, लाभग्राहीको सूचीमा नाम नआएपछि सरकारको तर्फबाट पनि पैसा आएन । जाने ठाउँ कतै छैन, जति नै डर लागे पनि चर्किएको घरमा बस्न बाध्य छौं ।’ – दुःख पोख्दै भुजेल भन्नुहुन्छ । भूकम्पको सानातिना धक्कामात्र हैन, सडकमा मोटर गुड्दासमेत घर हल्लिने भएकोले निकै डर लाग्ने गरेको उहाँ बताउनुहुन्छ । वडानम्बर ३ घ्याङ माझगाउँका रवि लामाको पीडा पनि उस्तै छ । लाभग्राहीको सूचीमा नाम नआएपछि पुरानै घर टालटुल गरेर बसेका रविको परिवार भूकम्पको सानोतिनो झट्का र ठूलो वर्षात हुँदा नजिकैको टहरामा बस्ने गर्छन् ।

भूकम्पपछि करिब एक वर्षसम्म टहरामा बिताए पनि पुस माघमा भने चिसोका कारण बाध्य भएर भूकम्पले चर्किएकै घरमा बस्न थालेको रवि बताउनुहुन्छ । दोलखा मेलुङ गाउँपालिका वडानम्बर ३ को माझगाउँ, पाखाभित्ता, काँडे, तल्लो घ्याङ, भञ्ज्याङ लगायतका करिब एक सय ५० घर परिवारको नाम लाभग्राहीको सूचीमा परेको छैन । उनीहरूमध्ये अधिकांशले भूकम्पले चर्किएकै घरलाई टालटुल गरेर बसेका छन् ।पटकपटक पुनरावेदन गर्दा पनि लाभग्राहीको सूचीमा नाम नआएपछि घ्याङका केही भूकम्प पीडितले भने आफ्नै खर्चमा नयाँ घर बनाएका छन् । माझगाउँका नेत्रबहादुर तमाङले धेरै प्रयास गर्दासमेत लाभग्राहीको सूचीमा नाम नपरेपछि दुःखजिलो गरेर आफ्नै खर्चमा नयाँ घर बनाएका छन् । तर, अझै पनि आर्थिक समस्या भएका धेरैजना भूकम्पपीडित चर्किएकै घरमा बस्न बाध्य छन् ।

वडानम्बर ३ घ्याङका भूकम्पपीडित धेरैको घर पूर्णरूपमा नभत्किएको कारण लाभगाहीको सूचीमा नाम नआएको स्थानीयको गुनासो छ । भूकम्पलगत्तै प्राविधिक आएर चर्किएर बस्न नहुने घरको विभिन्न स्थानको फोटोसहितको विवरण लगेको भएपनि लाभग्राहीको सूचीमा नाम नपरेकोमा प्राविधिकहरूप्रति त्यहाँका भूकम्पपीडितहरू रुष्ट छन्।
वडानम्बर ३ का वडाअध्यक्ष एवं मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकर वास्तविक भूकम्पपीडितहरूको नाम लाभग्राहीको सूचीमा नपरेपछि वडाले पुनरावेदनको लागि सहयोग गरेको तर जतिसुकै प्रयत्न गर्दा पनि नाम नआएको बताउनुहुन्छ । भूकम्पपीडितहरूलाई भवन निर्माणमा सहयोग गर्ने कुरामा वडा या पालिकाको अधिकार नभएकोले पनि समस्या भएको वडाअध्यक्ष थोकरको गुनासो छ ।

मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ गाउँपालिकाको सबै वडामा गरी झण्डै तीन सय ५० जनाको नाम लाभग्राहीको सूचीमा नआएकोले उनीहरूमध्ये अधिकांश भूकम्पले चर्काएकै घरमा बस्न बाध्य बनेको बताउनु हुन्छ । गाउँपालिकाले वास्तविक भूकम्पपीडितको नाम लाभग्राहीको सूचीमा पार्न पटक–पटक प्रयास गरेको भएपनि सम्भव नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ । संघीय सरकारले वास्तविक भूकम्पपीडितको पहिचान गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएर अहिले देखिएको समस्या समाधानको लागि पहल गर्नुपर्नेमा उहाँको जोड छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) दोलखाका टिका जोशीका अनुसार दोलखामा लाभग्राहीको सूचीमा नपरेका आठ हजार पाँच सय ७४ जना भूकम्पपीडित रहेकोमा चार हजार तीन सय ४३ जनाले पुनरावेदन गरेको र त्यसमा पाँच सय भूकम्पपीडितको निर्णय आएको छ । निर्णय आएका पाँच सय जनामा १६ जनाको लाभग्राही सूचीमा नाम समावेश भएपनि बाँकीको भने कायम नभएको जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्