भेरी अस्पतालले मेडिकल टिम पठाइदिन ‘गुहार’



बाँके 

 भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजले चिकित्सकको टोली पठाइदिन स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ । थोरै जनशक्ति र त्यसमा पनि तीन दर्जन स्वास्थ्यकर्मीलाई कोरोना लागेपछि अस्पतालमा जनशक्तिको अभाव भएको छ । कतिपय चिकित्सकले सामान्य लक्षण देखिए पनि पीसीआर जाँच नगरी बिरामीको उपचार गरिरहेका छन् ।

बाँकेमा दैनिक ४ सय बढी संक्रमित थपिरहेका छन् । बिरामीलाई राख्ने ठाउँ छैन । एक सय ४२ बेड रहेको भेरी अस्पताल, नेपालगञ्जमा एक सय ८२ जना राखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा राख्न मिल्ने ठाउँसम्ममा बिरामी राखिएको बताउनुभयो । ‘अवस्था धेरै जटिल छ । गम्भीर बिरामीलाई बेड मिलाइदिन प-यो भनेर मलाई आजमात्रै दशओटा कल आइसक्यो, राख्ने ठाउँ छैन, के गर्नु ? अध्यक्ष धितालले भन्नुभयो, बिरामीको चाप बढ्दो छ । स्वास्थ्यकर्मीको अभाव छ ।प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लक्षण भएका र अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने कोरोनाका बिरामीको चाप बढिरहेकाले भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कार्यरत मौजुदा जनशक्तिबाट प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो परेकाले केही समयका लागि केन्द्रबाट चिकित्सकको टोली (मेडिकल टिम) उपलब्ध गराइदिन नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको बताउनुभयो ।

भेरीले तत्काल ५० जना बढी चिकित्सक र नर्स पठाइदिन आग्रह गरेको छ । अस्पताल विकास समितिले कोभिडसम्मका लागि करारमा स्वास्थ्यकर्मी राख्ने तयारी पनि गरेको छ । अध्यक्ष धितालले स्वास्थ्य मन्त्रालयले करारमा राख्न अनुमति दिइसकेकाले त्यसको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले नेपालगञ्जको भेरी र कोहलपुर मेडिकल कलेजमा बेड बिस्तार गरेर दुई–दुई सयको बनाउन तयारी गरेको छ । बेड बिस्तार गर्दा चाहिने अक्सिजनसहितको सुविधा, आइसोलेसन सेन्टर स्थापना, आवश्यक जनशक्ति व्यवस्थापनलगायतका लागि संघमा दश करोड र प्रदेश सरकारसँग ५ करोड रुपियाँ माग गरिएको छ । बाँकेका पालिकालाई पनि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकालाई तीन लाख, कोहलपुर नगरपालिकालाई दुई लाख र अरू ६ वटा पालिकालाई एक-एक लाख सहयोग गर्न अनुरोध गरिएको छ ।

यता, कोहलपुर नगरपालिकाले पनि आइतबार रातीदेखि लकडाउन गर्ने निर्णय गरेको छ । कोहलपुरमा पनि दैनिक संक्रमितको संख्या बढ्दो रहेको छ । कुनै पनि पालिकाले संक्रमितको संख्या दुई सय नाघेपछि व्यवस्थापनका लागि उचित कदम चाल्न सक्ने बताइएको छ । कोहलपुरमा बिरामीको संख्या दुई सय नाघिसकेको छ । बाँकेका आठवटा पालिकामध्ये नेपालगञ्जमा नौ गते रातीदेखि नै लकडाउन जारी रहेको छ ।यसैबीच, नेपालगञ्जको कोरोनाको भयावह अवस्थाको अध्ययन गर्न आइतबार स्वास्थ्य मन्त्रालयबाट एउटा टीम नेपालगञ्ज जाने भएको छ ।

प्रतिक्रिया दिनुहोस्