पुष्करलाल श्रेष्ठ नभइदिएका भए …



कपिल काफ्ले, काठमाडौं  ।

सँगै बसी सँगै हाँसी बित्यो जिन्दगानी
यहींसम्म रहेछ हाम्रो मिलनको कहानी
निधारमा लेखिएको कसले मेट्न सक्छ ?
तिमीसँग फेरि भेटै हुन्न, कसले भन्न सक्छ ?
त्यही भेटको आशैआशमा सास चलिराछ !
आँखाबाट झरिरहने आँशु थामिएला कहिले ?
सक्दासम्म चोखो प्रीत लगाइरहन्छु मैले
यही प्रीतमै बाँचेकी छु,फेरि भेट्छौ कैैले ?

यो मार्मिक गीतको अन्त्यमा लेखिएको छ– ‘दुःखी राजु ।’ राजु अरू कोही नभएर राजेश्वरी श्रेष्ठ हुनुहुन्छ । २०७६ सालको वैशाख ४ गते जीवनसाथी पुष्करलाल श्रेष्ठलाई असामयिकरूपमा बिदा गर्न विवश उहाँलाई यति भावना प्रकट गर्न पनि सिंगै दुई वर्ष लाग्यो । आज उहाँको तिथिअनुसार दोस्रो वार्षिक श्राद्ध । कामना परिवारका सदस्य जो अगाडि आए पनि भक्कानिएर रुने उहाँ स्वयं प्रसिद्ध गायिका भए पनि ‘सिंगिङ थेरापी’ ले पनि उहाँको मनमा सिर्जना भएको ज्वारभाटा शान्त हुनै सकेन । अझै सकेको छैन । त्यसो त पुष्करलाल श्रेष्ठको असामयिक एवं दुःखद निधनले कामना न्यूज पब्लिकेसन्स प्रालिमा आबद्ध सदस्यहरु नै आजसम्म शान्त हुन सकेका छैनन् । अशान्त मनकै कारण शुक्रबार यस पंक्तिकारले शुक्रबार सामाजिक सञ्जालमा यस्तो स्ट्याटस लेख्यो–

पुष्करलाल श्रेष्ठ नभइदिएका भए …

नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलगायत कामना परिवारका सबै प्रकाशनका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठको दोस्रो वार्षिक तिथिको पूर्वसन्ध्यामा म सम्झिरहेको छु, उहाँ नभइदिएको भए के हुँदैनथ्यो …
. नेपाली पत्रकारिताले आज जुन व्यावसायिक उचाइ प्राप्त गरेको छ, त्यसमा सहयोग पुग्दैनथ्यो ।

. ग्राफिक डिजाइन र फोटोग्राफीलाई नेपाली पत्रकारिताको एक अभिन्न अंग बनाउने काममा ढिलाइ हुन सक्थ्यो

.कामना प्रकाशन परिवार बन्दैनथ्यो, यसबाट हजारौं पत्रकार तथा कर्मचारीले रोजगारी पाउँदैनथे ।

. कामना प्रकाशन परिवारमा रहेर काम गरेको अनुभवले आज हजारौं पत्रकारलाई रोजगारी दिलाएको छ, त्यो सम्भव हुँदैनथ्यो ।

. राजनीतिक दल वा दलविहीनताको राजनीतिमा नलागी व्यावसायिक दृष्टिले मात्र नेपाली पत्रकारितालाई उचाइ दिन सकिन्छ भन्ने प्रयोग सिद्ध गर्ने एक सञ्चार उद्यमी मुलुकले पाउँदैनथ्यो ।

यस स्ट्याटसमा अनेकौं कमेन्ट प्राप्त भएका छन् । पंक्तिकारले फेसबुक साथीहरुलाई ‘पुष्करलाल श्रेष्ठ नभएको भए नेपाली पत्रकारितामा के असर पथ्र्यो’ भन्ने कोणमै टिप्पणी गरिदिन अनुरोध गरेका कारण, उहाँलाई नेपाली पत्रकारितासँग जोडेर नै साथीहरुका टिप्पणी प्राप्त भएका छन् । वरिष्ठ पत्रकार तीर्थ कोइराला लेख्नुहुन्छ– ‘मिलनसार सहयोगी र संवेदनशील मित्रलाई उहाँ सम्बद्घ विशालबजारको पसलमा कामना पत्रिकाका सन्दर्भमा भेट भयो । म पनि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजना हुने गाईजात्रामा दुईपटक कला देखाएर फुर्तिलो भएको थिएँ । अशोक (अशोकमान सिं) जी र उहाँ हुनुहुन्थ्यो । सम्पर्कमा रहने र सँगै काम गर्ने पनि भन्यौं । तर, पत्रिकामा सँगै काम भने कहिल्यै गरिएन । नेपाल प्रेस इन्स्टिच्युटमा भने सहकार्य गरियो । सधैं सम्झनामा हुनुहुन्छ पुष्करजी ।’

सामाजिक सञ्जालको कुरा मात्र होइन, पंक्तिकारले नेपाली पत्रकारितामा लामो योगदान दिएका केही वरिष्ठ पत्रकारको भनाइ पनि संकलन गरेको छ । जस्तो, ध्रुवहरि अधिकारी भन्नुहुन्छ– ‘कामना पत्रिका नै पछि गएर कामना प्रकाशनमा परिणत भएको हो तापनि पुष्करजीको रुचि मनोरञ्जनमा सीमित थिएन । यसको प्रमाण नेपाल समाचारपत्र अखबार नै छ जसले नेपाली पत्रकारितामा उल्लेख्य योगदान गरेको छ, गर्दै छ । पुष्करजीको पुस्तक ‘कलम’ पढेमा उहाँको लगनशीलतासँग सहजै परिचित हुन सकिन्छ ।’वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी पुष्करलाल श्रेष्ठको योगदानलाई ऐतिहासिक परिवेशका साथ विश्लेषण गर्नुहुन्छ– ‘उहाँले कुन कालखण्डमा पत्रकारिताको शुरुआत गर्नुभयो, त्यसलाई नियाल्नुपर्छ । आजको जस्तो प्रेस–प्रविधिको विकास नभएका बेला हातमा कालो दलेर, लिडका अक्षर जोडेर प्रेसको काम गर्नुपथ्र्यो, बजारबाट उठाएर न्युजप्रिन्ट छापाखानामा लाने र छापाखानाबाट बजारमा पत्रिका पु¥याउने कार्य गर्दा फोहोरबाट निस्केको कुनै मजदुरजस्तो हुनुपथ्र्यो । एकातिर सिर्जनात्मक काम गर्ने, कलम चलाउने अर्कातिर हात–जिउ फोहोर पारेर काम गर्नुपर्ने । पारिवारिक पृष्ठभूमि हेर्दा पुष्करलालजीलाई यस प्रकारको दुःख बेसाउन कुनै आवश्यक थिएन ।’ मिडिया विश्लेषक रेग्मीका विचारमा ४० को दशकमा पुष्करलालले पत्रकारिता शुरु गर्दा राजनीतिक व्यक्तिहरु न त सहनशील थिए न त ग्रहणशील ।

‘चलचित्र पत्रकारिता आवश्यक थियो, किनभने समाजको प्रतिबिम्ब चलचित्रमा आउँथ्यो, राजनीतिभन्दा पृथक सफ्ट सेक्टरमा पत्रकारिता भएकै थिएन, पुष्करजीले समाजको आवश्यकता बुझेर जानी–जानी भारी बोकेकै हो । तर, उहाँले यति छिटै यस्तो उचाइ बनाउनुभयो कि, मलाई कलाकारहरु भन्थे– ‘पुष्करजीलाई चिन्नुहुन्छ कि, मेरो अन्तर्वार्ता गर्न भनिदिनुस् न !’ केही वर्ष पुष्करलाल श्रेष्ठसँग कामना परिवारका सदस्य बनेर काम गर्नुभएका प्राध्यापक रेग्मी भन्नुहुन्छ– ‘उहाँ नभइदिएको भए के हुन्थ्यो भन्ने जो कुरा छ, नेपाली पत्रकारिता र मिडिया व्यवसायको अध्ययन गर्ने कसैले पुष्करलाललाई छोडेर अघि बढ्नै सक्दैन । पहिला नै हकरलाई बुक गराएर महानगर बेच्ने मिडिया व्यवसायी उहाँ नै हो । अव्यक्त भिजनका साथ उहाँले कामना मासिकबाट पत्रकारिता यात्रा शुरु गरेर दैनिक अखबार नेपाल समाचारपत्रसम्म पुग्नुभयो र नेपाली पत्रकारितालाई व्यावसायिक बनाउन योगदान दिनुभयो ।’

वरिष्ठ पत्रकार बबिता बस्नेतको भनाइ छ– ‘नेपाली पत्रकारितालाई पुष्करजीले आफ्नै मौलिकता दिनुभएको छ । सानो पुँजीले पनि मिडिया क्षेत्रमा राम्रो भूमिका खेल्न सक्छ, पत्रकारितालाई व्यावसायिक ढंगले अघि बढाउन सकिन्छ भन्ने उदाहरण हो पुष्करजी ।’ अधिकारकर्मीका रूपमा पनि सुपरिचित बस्नेत भन्नुहुन्छ– ‘हामीले अरूले स्थापना गरेको मिडियामा गएर पत्रकारिता सिक्दै अघि बढ्यो, तर उहाँले जग नै आफैंले हाल्नुभयो, त्यसलाई अघि बढाउनुभयो, व्यावसायिक मूल्य–मान्यताको प्रवद्र्धन गर्नुभयो । मिडियाका विद्यार्थीले उहाँँबाट सिक्नुपर्ने धेरै कुरा छन् । समाजसेवी ध्रुव बस्नेत पुष्करलाललाई ‘असल देशभक्त र राजनीतिक विचलनका कटु आलोचक’ मान्नुहुन्छ, वरिष्ठ पत्रकार सुशील गौतम लेख्नुहुन्छ– ‘पुष्करलाल नभइदिएका भए नेपाली पत्रकारिताले थुप्रै कुरा गुमाउने थियो । किनभने उहाँ पत्रकारहरुको भीडबाट चारित्रिक रूपले नै पृथक र मौलिक हुनुहुन्थ्यो ।’अर्का वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकी जो लामो समय नेपाल समाचारपत्रको परिवार हुनुहुन्थ्यो । उहाँ लेख्नुहुन्छ– ‘मलाई उदयपुरबाट बोलाएर एक आर्थिक पत्रकारका रूपमा स्थापित गर्नुमा उहाँको योगदान छ । संवाददाताहरूको खुबी चिनेर त्यसअनुरूप भूमिका दिने, उत्साहित गर्ने उहाँका विशेषतता थियो ।’

यस्तै, अनुराग अनन्त, पुष्करलाल श्रेष्ठलाई ‘नेपाली पत्रकारिताका एक पाठशाला’ बताउनुहुन्छ भने वैद्यनाथ यादव नेपाली पत्रकारिता जगत्का एक स्तम्भ जसले नेपाली पत्रकारिताको विकास र समृद्धिका लागि जीवन उत्सर्ग गरे भनेर लेख्नुहुन्छ– ‘नयाँ पुस्ताका सञ्चारकर्मीका मार्गदर्शक र आदर्श र दर्शनका प्रतीक ।’ प्रसिद्ध लेखक तथा मिडिया विश्लेषक नरेन्द्रजंग पिटर लेख्नुहुन्छ– ‘मिसनबाट प्रोफेसनमा आउँदा धेरै कुरा सिक्या छु पुष्करजीबाट । मैले पनि नेपालगन्जबाट नेपाल समाचारपत्रमा काम गर्दा खुला रहेर भूमिगत भूमिका निर्वाह गर्ने अवसर पाएँ ।’ पिटर त्यस बेला माओवादीको राजनीति गर्नुहुन्थ्यो । केही वरिष्ठ सञ्चारकर्मीहरु पुष्करलाल श्रेष्ठका सदा प्रशंसक रहँदै आउनुभएको छ । खास गरी उहाँले नेपाली पत्रकारितामा पैसा, परिश्रम र जीवन अर्पण गरेर अर्जुनदृष्टिका साथ समर्पित भएकोमा उहाँहरुको प्रशंसा हुने गथ्र्यो । त्यसमा एक विद्वान हुनुहुन्छ– प्रा. पी खरेल । पत्रकारिताका दर्जनौं पुस्तकका लेखक खरेल पुष्करलालकै कृति ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ मा लेख्नुहुन्छ– ‘सामाजिक गतिविधिमा सधैं सक्रिय उहाँलाई सबैभन्दा सशक्त, सचेत तथा व्यावसायिक प्रकाशक–प्रधान सम्पादकका रूपमा मैले लिएको छु । उहाँका बाइलाइनसहित बराबर प्रकाशित भइरहने विचारोत्तेजक र द्विविधारहित, तार्किक तथा सरल लेखहरुको अभाव विश्लेषक र आम पाठकलाई खड्किरहनेछ ।’

यसै गरी, पूर्वप्रधानसेनापति रुक्माड्गद कटवाल भन्नुहुन्छ– ‘पुष्करलाल श्रेष्ठलाई राजनीतिक आग्रहले कुनै तत्वले ज्यानको धम्की दिनुका साथै पत्रकारिता गर्न र प्रेस चलाउन नै नदिएपछि सपरिवार मेरो आवास (प्रधनासेनापतिको क्वाटर) मा आउनुभएपछि मैले आफ्नै परिसरमा पालमा टाँगेर राख्ने, जीवन रक्षा गर्ने तत्परता देखाएको थिएँ । तर,उहाँले म मात्रै बाँचेर के गर्नु कामना प्रकाशनको ठूलो परिवार संकटमा छ भनेर फर्किनुभएको थियो ।अन्त्यमा, यस पंक्तिकारको अनुरोध स्वीकार गरेर पुष्करलाल श्रेष्ठप्रति सटिक टिप्पणी गरिदिने नेपाली पत्रकारिताका गुरु, नेपाल प्रेस इन्स्टिच्युटका संस्थापकमध्ये एक भारतदत्त कोइरालाको भनाइ पढौं : पुष्करजीसँग रहेको मेरो मित्रतालाई मैले सधैं उच्च मूल्यांकन गरेको छु । उहाँ सधैं दयालु, भद्र र सहयोगी हुनुहुन्थ्यो । उहाँको असामयिक निधन भएकोमा म दुःखी छु ।

प्रतिक्रिया दिनुहोस्