जलेर मरे ३२ खसी बाख्रा



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडाबाट करिब १५ किमी पर मकवानपुरगढी–१ स्थित पिङडाँडामा रहेको बाख्रा फर्ममा आगलागी हुँदा ३२ वटा खसीबाख्रा जलेर मरेका छन् । बहुद्धेश्यीय कृषिमिश्रित बाख्रा फर्ममा शुक्रबार राति करिब १० बजे आगलागी हुँदा खोरमा रहेका खसीबाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । आगो करिब डेढ घण्टापछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।

राति एक्कासी बाख्रा फर्ममा आगलागी हुँदा फर्म सञ्चालक सोही घरमा बसोबास गर्दै आएका कारण घरमा रहेको नगद ३ लाख ३७ हजार रुपियाँ, दाना २२ बोरा, दुई तोला सुन, ६ तोला चाँदीसहित घरायसी मालसमान जलेर नष्ट भएको फर्म सञ्चालक बिमला गौतमको भनाइ रहेको प्रहरीले बताएको छ । आगलागीबाट करिब १५ लाख क्षति भएको पीडित पक्षले दाबी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्