अस्ताए शिक्षाका ज्योती



नेपाल समाचारपत्र, काठमाडौं ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ । उहाँ चैत ३० गते सोमबार एक्कासि घरको भ¥याङमा लडेर बेहोस हुनुभएको थियो । उपचारका लागि तत्कालै मनमोहन अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएकाले नर्भिक अस्पताल थापाथलीमा लगिएको थियो । टाउकामा चोट लागी उहाँको १३ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा शनिबार बिहान ८ः१० बजे अस्पतालमै निधन भएको हो ।

राजवंशीको निधनले देशले शिक्षा क्षेत्रको एक धरोहर गुमाएको छ । संस्थागत तथा सामुदायिक दुवै थरी विद्यालयको सुधार नभएसम्म देशमा शिक्षा क्षेत्रको सुधार हुन सक्दैन भन्ने उहाँको मूल मान्यता थियो । नेपाली कांग्रेसका नेता प्रकाशमान श्रेष्ठ, गगन थापा तथा नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठलगायतले आर्यघाटमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए । नेता नारायणकाजीले सामाजिक सञ्जाल फेसबुकमा संविधानसभाका सदस्य, नेपाली शैक्षिक जगत्का एक प्रभावशाली व्यक्तित्व, सिद्धार्थ वनस्थलीका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको निधनबाट आफू अत्यन्त दुःखी भएको जनाउनुभएको छ ।

राजवंशीलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा आफन्तजन, शिक्षक, कर्मचारी, पूर्वविद्यार्थी, विभिन्न संघस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले राजवंशीको पार्थिव शरीरमा विद्यालयको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । उहाँको पुत्रद्वय रुपक राजवंशी तथा दीपक राजवंशीले संयुक्तरुपमा दागबत्ती दिनुभएको थियो ।

संविधानसभाको ज्येष्ठ सदस्यको हैसियतले उहाँले सभामुखको भूमिका पनि निर्वाह गर्नुभएको थियो । नेपाः राष्ट्रिय पार्टीका सांसद उहाँ पछिल्लो समय राजनीतिभन्दा पनि साहित्यमा सक्रिय रुपमा लागिपर्नुभएको थियो । साहित्यकारको कुनै गुरु नै हुँदैन भन्ने मान्यता राख्ने राजवंशीका ३२ वटा कृति प्रकाशित भइसकेका छन् भने केही प्रकाशोन्मुख पनि छन् । नेपाली, अंग्रेजी, नेवारी गरी तीन भाषामा उहाँको कलम चलेको देखिन्छ । राणहरुको अन्याय अत्याचारविरुद्ध आवाज उठाउँदा उहाँ विद्यार्थी जीवनमै जेल पर्नुभएको थियो । उहाँ नेपालको शैक्षिक इतिहासमा राष्ट्रलाई अमूल्य योगदान दिने कर्मशील योद्धा हुनुहुन्थ्यो । उहाँको परिवारमा श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्