साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भुजेलको उद्धार



काठमाडौँ ।

परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुग्नुभएको थियो मोरङका वेदबहादुर भुजेल । आफूले साउदीमा भनेको जस्तो काम नपाएपछि उहाँ बेखर्ची मात्र होइन गैरकानुनीरुपमा बस्न बाध्य हुनुभयो ।

आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्यो । साथीभाइको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम शुरु गरेका भूजेल कामकै क्रममा ठूलो दुर्घटनामा पर्नुभयो ।

उहाँ स्थानीय अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना हुनुभयो । त्यस अवधिमध्ये तीन महिनासम्म त भूजेल कोमामा पुग्नुभएको थियो । परदेशमा बेखर्ची रहेका भूजेलेलाई अस्पतालले रु दुई करोड ५० लाख ९८ लाख ९२३ हजार रिहाद०को बिल थमाइदियो । खानबस्नसमेत समस्यामा परेका भूजेल अस्पतालको बिल देखेर छाँगाबाट खसेजस्तै हुनुभयो ।

बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उहाँविरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दाका कारण भूजेलले साउदी अरब छाड्न नपाउने स्थिति भयो । विभिन्न माध्यमबाट उहाँ नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घको सम्पर्कमा आउनुभयो । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भूजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो ।

नेपाली दूतावासको विशेष पहलकदमीपछि अस्पतालले भूजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिइदियो । भूजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिकरुपमा निकै कमजोर रहेका भूजेलको सहयोगका लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली सङ्घलाई आग्रह गर्यो र उहाँको नेपालसम्मको उद्धारको जिम्मेवारी सङ्घले लिएको सङ्घका प्रेस संयोजक चिरन शर्माले बताउनुभयो ।

सङ्घको कोभिड–१९ राहत तथा उद्दार कार्यक्रमअन्तर्गत उहाँलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाडौँमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो । उहाँको सहयोगार्थ सङ्घले आफ्ना स्वयंसेवक परिचालनसमेत गरेको थियो । विराटनगरबाट घरसम्म जानका लागि गाडीसमेतको व्यवस्था सङ्घले मिलाएको थियो । गैरआवासीय नेपाली सङ्घले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालको उद्धार र पुनःस्थापना कार्यक्रमअन्तर्गत भूजेलको सम्पूर्ण खर्च व्यहोरेर उहाँलाई परिवार समक्ष बुझाएको हो । भूजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ ।

वैदेशिक रोजगारीका लागि रु एक लाख चर्को ब्याजमा क्रण लिएका भूजेलको ऋण अहिले ब्याजसहित रु तीन लाख ५० हजार भन्दाबढी नाघिसकेको छ । परिवारसँगको भेटपछि प्रसन्न रहेका भूजेल अब के गर्ने भनेर चिन्तित हुनुहुन्छ । साउदी अबरस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उहाँको उपचार खर्च मिनाहा गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली सङ्घलगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

सङ्घका उपाध्यक्ष एवम् वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्र परेका नेपाली श्रमिकलाई राहत तथा उद्दारको काम जारी रहेको बताउनुभयो । उहाँले सङ्घको यस कार्यक्रमअन्तर्गत सेप्टेम्वर २०२० देखि हालसम्म ’कोभिड–१९’का कारणले समस्यामा परेका १७ हजारभन्दा बढी नेपाली श्रमिकलाई राहत तथा उद्दारसम्बन्धि सहयोग पु¥याएको जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्