पानी रिचार्जको व्यवस्था गर्न माग



यमलाल भुसाल, बुटवल ।

तिलोत्तमाका नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले खानेपानीको सेवा विस्तारमा नगरपालिकाको तर्फबाट सधैं सहयोग रहने बताउनु भयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको करहिया–मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चौथो साधारण सभामा शुक्रबार वोल्दै उहाँले खानेपानी संस्थाहरुले सरसफाईको कामलाई समेत प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

खानेपानी उपभोक्ता तथा सरसफाई संस्था महासंघका रुपन्देही अध्यक्ष ध्रुव धितालले खानेपानी मुहानदेखि मुखसम्म स्वच्छ हुनुपर्ने बताउँदै यस क्षेत्रका खानेपानी संस्थाहरुले वितरण गर्ने पानी गुणस्तरीय रहेको बताउनुभयो । उहाँले पानीका स्रोतको उचित संरक्षण हुनुपर्ने बताउँदै पानी रिचार्जको वातावरण मिलाइनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञ गैरेले नेतृत्व सम्हालेको अढाई वर्षमा देखिनेगरी प्रगतिका धेरै काम अघि बढाइएको बताउँदै नगर विकास कोषलाई एक करोड ९८ लाख ३३ हजार ३५४ रुपैंयाँ तिरेर संस्था ऋणमुक्त भएको जानकारी दिनुभयो ।

सेवा क्षेत्र विस्तारको क्रममा वडा नं. १० र १२ मा १०५ किलोमिटर पाइपलाइन विस्तार गर्ने र ओभरहेड ट्याङ्की निर्माण गर्ने कार्य अघि बढेको बताउँदै अध्यक्ष गैरेले यसबीचमा तिलोत्तमा नगरपालिकाको सहयोगमा संस्थाको सुविधासम्पन्न हल निर्माण, कार्यालय व्यवस्थापन लगायतका पूर्वाधार निर्माणका काम सम्पन्न भएको बताउनुभयो ।

संस्थाले नगर विकास कोषबाट ऋण लिएर खानेपानी योजना निर्माण गरेकोमा कोषबाट उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित भएको जानकारी दिँदै उहाँले हाल झण्डै दुई हजार खानेपानी उपभोक्ता रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्